खुला विद्यालयबाट ८० जना एसएलसी/एसइई उत्तीर्ण

विदुर, नुवाकोटको उत्कृष्ट शिक्षण सिकाइका लागि परिचत त्रिभुवन त्रिशूली नमुना माध्यमिक विद्यालयले विभिन्न शैक्षिक गतिविधिमा सहभागी भई जिल्लामा शैक्षिक गन्तव्यको उत्कृष्ट थलोको रूपमा आफूलाई परिचित गराउँदै आएको छ । यसै सन्दर्भमा कक्षा ८ उत्तीर्ण भई कम्तीमा पनि दुई वर्ष विद्यालय छाडेका र १६ वर्ष पार भएको विद्यार्थीका लागि खुला विद्यालयबाट अध्ययन कार्यलाई सुचारु गर्न अवसर दिएपछि १० वर्षमा ८० जनाले एसएलसी र एसइई उत्तीर्ण गरेका छन् ।

      विद्यार्थीको शिक्षा प्राप्त गर्ने तीव्र अभिलाषालाई पूर्ण रूपमा साथ दिई अनौपचारिक शिक्षण सिकाइको माध्यमबाट भए पनि, आफ्नो योग्यता र क्षमतालाई बढाई विभिन्न अवसरको ढोका खोल्नका लागि यस विद्यालयले सञ्चालन गर्ने कार्यक्रम फलदायी भइरहेको छ । कक्षा ८ उत्तीर्ण भई विद्यालय छोडेर बसेका विद्यार्थीलाई उच्च शिक्षा प्राप्त गर्ने अवसरबाट वञ्चित नहुनको लागि शैक्षिक सत्र ०६८÷६९ देखि नेपालमा खुला विद्यालयको अवधारणाअनुरूप खुला विद्यालय सञ्चालनमा रहेको छ । सोही शैक्षिक सत्रदेखि हालसम्म यस विद्यालयबाट ८० जनाभन्दा बढी विद्यार्थीले एसइई परीक्षामा सहभागी भई शिक्षा प्राप्त गर्ने अवसरको लाभ लिइसकेको तथा शैक्षिक सत्रसँग विद्यालयको अन्य कार्यक्रममा समेत सहभागी गराइने विद्यालयका प्रधानाध्यापक महेन्द्र रावतले बताए । यसै सन्दर्भमा, शैक्षिक सत्र ०७७/७८ मा १६ जना, ०७६/७७ मा १० जना सहभागी भई एसइई परीक्षा उत्तीर्ण हुन सफल भएका छन् । शुल्क, रजिस्ट्रेसन नेपाल सरकारले तोकेकोबाहेक अन्य शुल्क नलाग्ने, पठन कार्यका लागि, स्वअध्ययन सामग्री तथा सन्दर्भ सामग्री विद्यालयले नै उपलब्ध गराउने गरेको छ । त्यसको साथै साझा प्रकाशनद्वारा प्रकाशित पुस्तक, सन्दर्भ सामग्रीले सिकाइ थप सहज बनाएको छ ।

      सरकारले प्राइभेट एसएलसी बन्द गराएर शैक्षिक सत्र ०६८/६९ बाट खुला विद्यालयको अवधारणा ल्याएको थियो । यस कार्यक्रममा सहभागी हुने विद्यार्थीले नियमित विद्यालयमा गएर अध्ययन गर्नुपर्दैन, तर नियमित अरू विद्यार्थीसँगै परीक्षामा सहभागी हुनुपर्ने, एक वर्षमा सातपटक सम्पर्क कक्षामा सहभागी हुनुपर्ने र दुईपटक परीक्षामा सहभागी हुनुपर्ने, सम्पर्क कक्षाको आधारमा परीक्षा हुने र एकपटक सम्पर्क कक्षामा नियमित पाँच दिन विद्यालयमा उपस्थित हुनुपर्ने जानकारी सहायक प्रधानाध्यापक राजेन्द्र दवाडीले दिए । एसइई उत्तीर्ण नभएका कारणले जागिरमा पद्धोन्नति तथा अन्य उच्च शिक्षाको अवसरका ढोका खोल्न र शिक्षा प्राप्त गर्ने तीव्र अभिलाषालाई पूर्ण रूपमा सफल बनाई, नेपाल सरकारद्वारा सञ्चालित खुला विद्यालयको कार्यक्रम कोसेढुङ्गा साबित भएको छ । प्रचार-प्रसारलाई व्यापक र अझ प्रभावकारी ढङ्गबाट यस कार्यक्रम सञ्चालन गर्ने सके अवसरको लाभ लिन सेना, प्रहरीमा कार्यरत कर्मचारी र सवारीचालक, कार्यालय सहयोगीका लागि यो महत्वपूर्ण अवसर बनेको छ ।