महालय, अपरपक्ष, सोह्र श्राद्धको महत्व

  • वासुदेव नेपाल

भाद्र पदापरपक्ष आश्विन कृष्ण पितृपक्षमा गरिने सोहश्राद्ध असोज ५ गते मंगलबारबाट सुरु हुँदैछ । यस विषयमा शास्त्रीय महत्वबारे भएको व्यवस्थाबारे जानकारी गराउन लागेको छु । श्रद्धया विश्वासेन पितृन्नुद्देश्य अन्नजल फल मूलादिकं श्रद्धया कृतं सम्पादितम् दियते यस्मात् तच्श्राद्धम् । आफ्ना मृत पितृगणका तृप्तिको उद्देश्यले श्रद्धापूर्वक गरिने कर्मविशेषलाई श्राद्ध भनिन्छ । पिता पिता महश्चैव तथैव प्रपितामहः । त्रयो ह्यश्रुमुखा ह्यते पितरः परिकीर्तिताः ।। भनेर ब्रह्म पुराणमा भनिएको छ । पराशरको मतअनुसार देशे काले च पात्रे च विधिना हविषा च यत् । तिलैर्दर्भैश्च मन्त्रैश्च श्राद्धं स्याच्छ्द्धया युतम्। । देश काल तथा पात्रमा हविष्यादी विधिद्वारा जुन कर्म तिल, जां, कुश आदिले वैदिक मन्त्रसहित श्रद्धापूर्वक गरिन्छ, त्यसलाई श्राद्ध भनिन्छ । वेदादिशास्त्रमा वसु, रुद्र र आदित्य तीन देवतालाई क्रमशः पितृ, पितामह र प्रपितामहका प्रतिनिधि मानिएको छ । तिस्र एव देवताः अनुसार तीन देवताभित्र विश्वदेवा पनि पर्दछन् । पितृपोषक वसु, रुद्र, आदित्य तीन देवताका कारण पितृको तीन सङ्ख्या, विवाहमा पनि गोत्रोच्चारण क्रममा पितृ, पितामह, प्रपितामह तीनवटाको ग्रहण हुन्छ । सरकारी कारोबार, राजीनामा, तमसुक आदि व्यवहारमा पनि तीन पुस्ताको नाम उल्लेख गरिन्छ । कारण बाबुछोराको नाम समान प¥यो भने बाजेको नामबाट वास्तविक व्यक्तिको सही परिचय हुन सकोस् । यस्तै ब्रह्माण्डमा रहेका अनेक लोकका प्राणीको समूहमा पितृलोक गएका प्राणीको वास्तविकता पत्ता लगाउन नाम गोत्रसहित तीन पुस्ताको वर्णन गरिएको हो । हामी अल्पज्ञ प्राणीले श्रद्धापूर्वक गरिएको श्राद्ध कर्ममा नाम गोत्रसहित सङ्कल्प गरी अर्पण गरेको श्राद्धको कव्य सर्वज्ञ परमात्मा वा नित्य पितर वसु, रुद्र र आदित्यद्वारा पितृलाई प्राप्त भएर अक्षय तृप्तिकारक हुन्छ । तीन पुस्ताभन्दा माथिका पितृ देवकोटीमा देवलोकमा हुन्छन् । अतः श्राद्धमा उनीहरूलाई आह्वान गर्न हुँदैन भन्ने छ । त्रयाणामुदकं कार्यं त्रिषु पिण्डः प्रवर्तते । चतुर्थः सम्प्रदातैषां पञ्चमो नापि विद्यते ।। मनुस्मृृतिः । पिता पितामह र प्रपितामह तीन पुस्ताको श्राद्ध तर्पण र पिण्ड हुन्छ । चौथो श्राद्धकर्ता हुन्छ, पाँचौँको सम्भावना हुँदैन भन्ने मनुको कथनअनुसार श्राद्ध कर्म तीन पुस्तासम्म नै हुन्छ ।

        श्राद्धमा महालय श्राद्ध प्रसिद्ध छ । महालय श्राद्ध आश्विन कृष्ण पक्षको प्रतिपदादेखि औँसीसम्म १५ दिनको हुन्छ । तिथि वृद्धि हुँदा १६ दिन र तिथि घटेमा १४ दिनको महालय हुन्छ । यस समयमा पितृगण आफ्ना छोरा, नाति आदिले श्राद्ध तर्पण पिण्ड दानादी गर्लान् भनेर घरको ढोकासम्म आएर प्रतीक्षा गर्दछन्, त्यसैले महालय भनिन्छ । यो पक्ष पितृको विशेष पर्व हो । शास्त्रमा ९६ प्रकारका श्राद्धको वर्णन पाइन्छ, यम स्मृतिमा विशेष गरेर पाँच प्रकारका श्राद्धको उल्लेख छ । नित्यं नैमित्तिकं काम्यं वृद्धि श्राद्धमथापरम् । पार्वणं चेति विज्ञेयं श्राद्धं पञ्चविधं बुधैः ।। नित्य, नैमित्तिक, काम्य, वृद्धि र पार्वण गरी पाँच प्रकार उल्लेख छ । सोह्र श्राद्धको पक्षमा पिताको तिथिमा गरिन्छ, नभए पितामहको तिथिमा गरिन्छ, त्यसमा नमिले प्रपितामहको तिथिमा गरिन्छ, त्यो पनि नमिले औँसीमा गरिन्छ, यदि सोह्रश्राद्धको कुनै पनि तिथिमा नमिलेपछि अवरुद्ध श्राद्ध कात्तिक कृष्ण पक्षको गाईतिहारे औँसीमा द्विपार्वण विधिले गरिने गरिन्छ । यतिबेलासम्म पनि श्राद्ध हुन नसके पितृ निराश भएर छोरा, नातिलाई श्राप दिएर आफ्नो लोकतर्फ जाछन् भनिएको छ । सके प्रत्येक महिनाको औँसीमा पार्वण विधिले श्राद्ध गर्नुपर्छ । नसके कम्तीमा वर्षमा एकपटक आश्विन महिनाका पितृ पक्षमा अवश्य नै श्राद्ध गर्नुपर्दछ । पितृपक्षसँग पितृको विशेष सम्बन्ध रहन्छ । अतः शास्त्रमा पितृ पक्षमा गरिने श्राद्धको विशेष महिमा लेखिएको छ । पुत्रानायुस्तथा ४ रोग्यमैश्वर्यंमतुलं तथा । प्राप्नोती पञ्चमे कृत्वा श्राद्धं कामांश्च पुष्कलान्। । पितृ पक्षमा श्राद्ध गर्नाले पुत्र, आयु, आरोग्य, अतुल ऐश्वर्य र अभिलाषित वस्तु प्राप्त हुन्छन् भन्ने उल्लेख छ । आफ्ना मृत पितृ, पिता महादी पितृलाई श्राद्धद्वारा सन्तुष्ट तृप्त पार्ने व्यक्ति पितृ ऋणबाट मुक्त भएर ब्रह्मलोक जान्छ भनिएको छ । पितृन् पिता महाश्चैव द्विजः श्राद्धेन तर्पयेत् । आनृण्यं स्यात् पितृणाञ्च ब्रह्मलोकं च गच्छती ।। पुत्र, भाइ, नाति अथवा दौहित्र छोरीको छोरा श्राद्धानुष्ठानमा यदि संलग्न रहन्छन् भने अवश्मेव परमंगति प्राप्त गर्दछन् । आफ्नो वैभव सामर्थअनुसार विधिपूर्वक श्राद्ध गर्नेले ब्रह्मादेखि तृणपर्यन्त समस्त प्राणीलाई तृप्त गर्दछ । अतः छोराका लागि श्राद्ध कर्मजस्तो ठूलो कार्य अर्को छैन, जस्तोसुकै अवस्थामा रहे पनि श्राद्ध कर्म गर्नुपर्छ, श्राद्ध गर्न छोड्नुहुँदैन । छोडेको खण्डमा ठूलो प्रत्यवाय लाग्छ भन्ने शास्त्रको निर्देश छ । अब श्राद्धको विधिको उल्लेख गरिन्छ । महालय श्राद्ध गर्दा हामी माध्यन्दिनीय वाजसनेयी शुक्लयजुर्वेदशा खाध्यायी कात्यायन श्राद्धकल्प सूत्रनुसारीले श्राद्ध गर्दा पिता, पितामह, प्रपितामह यी तीन पुस्तालाई तीन पिण्ड, मातामह, प्रमातामह, वृद्धप्रमातामह तीन पुस्तालाई तीन पिण्ड गरी जम्मा ६ पिण्ड दिनुपर्दछ, यसलाई द्विपार्वण भन्दछन् । अरूलाई दिनुपर्दैन यिनै ६ पितृलाई दिएको पिण्डपानालीले नै सबै पितृ तृप्त हुन्छन् भन्ने अपरपक्ष श्राद्धका विधानले ६ पिण्ड वार्षिक रूपमा दिनुपर्छ । कसैको पिताको मृत्युु पूर्णिमामा वा अमावश्यमा भएको छ भने पौर्णमासी मृतस्या चार पि महालयः पौर्णमास्यां न कार्यः, अपरपक्षात्वा चार भावेन तस्यां महालया चार प्राप्तेः, तेन चतुर्दशी मृतस्य पौर्णमासी मृतस्य वा महालयो द्वादश्यमावास्यादितिथिषु कार्यः भनिएको छ, धर्मसिन्धु पृ. ६४ मा । वस्तुतः यो अपरपक्षश्राद्ध वैदिक सनातन धर्मानुयायीका लागि अमावश्या श्राद्धको अनुकल्प भएकाले पूर्णिमामा मर्नेको मर्नेको पनि अमावश्यामा गर्नु समुचित देखिन्छ । पितृ पक्षमा, अमावश्यामा र पूर्णिमामा मर्नेको आमाको भए एकोद्धिष्ट विधिले पिताको भए पार्वण विधिले श्राद्ध गर्नुपर्छ भन्ने वचन छ । पौर्णमास्याममावास्यां तथा कन्यागते रवौ । एकोद्दिष्टं तु मातुः स्यात् पितुरेव हि पार्वणम्। । ब्रह्मोक्त याज्ञवल्क्यसंहिता ३-३२–३३ । कसैको शस्त्रादी हतियारद्वारा मृत्युु हुनेको दुर्मरण चतुर्दशीबाहेक अरू तिथिमा मृत्युु भएकाको त्यस्ता पितृको विशेष तृप्तिका र उद्धारका लागि अपरपक्ष श्राद्ध चतुर्दशीमा एकोद्धिष्ठ रूपमा गर्नुपर्छ र पिता महादीका पितृका लागि पिता महका तिथिमा पार्वण विधिले श्राद्ध गर्नुपर्नेछ । यदि पिताको अरू पक्षका चतुर्दशीमा मृत्यु सुमरण भएको छ भने सोह्र श्राद्धको चतुर्दशीमा पार्वण विधिले श्राद्ध गर्नुपर्छ ।

        आद्र्रामलकमात्राँस् तु पिण्डान् कुर्वीत पार्वणे । एकोद्धिष्टे विल्बमात्रं पिण्डमेकं तु निर्वपेत । पारस्कर गृह्यसूत्र पृ ४८० । पार्वण श्राद्धमा ठूला मधेसे अमलाजत्रा, एकद्धिष्टमा बेलजत्रो, भनिएको छ । ब्राह्मण विश्वदेवतर्फ दुई पितृ र मातामहतर्फ दुई गरी चार ब्राह्मण राख्नुपर्छ । सक्नेले १० वटा राख्ने विधान पनि छ । सामान्यतया १६ घडीसम्म भएको तिथिमा मध्याह्न कालमा एकोद्धिष्ट श्राद्ध र महालय श्राद्ध २२ घडीसम्म अपराह्न कालमा गर्नुपर्छ, अगाडि र पछाडि गर्नुहुँदैन । विशेषगरी श्राद्धमा सात कुराको शुद्धि अनिवार्य छ भन्ने शास्त्रमा उल्लेख छ । शरीर द्रव्यदारा भूमनोमन्त्र द्विजन्मनाम् । शुद्धिः सप्तसु विज्ञेया श्राद्धकाले विशेषतः ।। स्कन्दपुराण श्राद्ध गर्ने भूमि, कर्ताको शरीर, श्राद्ध गर्नेको मन, कर्ताकी पत्नी, प्रयोग गर्ने द्रव्य, श्राद्धमा प्रयुक्त हुने मन्त्र र भोजन र वरण गर्ने ब्राह्मण यति कुराको विशेष विचार राख्नुुपर्छ । तीन पुस्तासम्म राम्रोसँग नचिनेको व्यक्तिलाई पुरोहित लगाउन र नचिनेका मानिसकहाँ यजमानी गर्न हुँदैन भन्ने छ शास्त्रमा । अक्षय्यासनयोः षष्ठी द्वितिया ४४वाहने तथा । अन्नदाने चतुर्थीस्यात् शेष सम्बोधन स्मृतम्। । पितरो वाक्यमिच्छन्ति भावमिच्छन्ती देवताः। पितृकर्ममा आह्वान गर्दा द्वितीया विभक्ति, अक्षयोदक र आसनदानमा षष्ठी र अन्नदानमा चतुर्थी विभक्ति अन्यत्र सम्बोधन विभक्तिको प्रयोग गर्नुपर्दछ । देवता भावबाट प्रसन्न हुन्छन् भने पितृ व्याकरणबाट शुद्ध संस्कृत वचन प्रयोग गर्दा खुसी हुन्छन् । छुट्टिएका दाजुभाइले पितामाताको श्राद्ध छुट्टाछुट्टै गर्नुपर्छ । श्राद्धका दिनमा श्राद्धकर्ताले रिसाउन  हुँदैन, हतपत गर्न हुँदैन, धैर्यसित गर्नुपर्छ । दाँत माझ्न  हुँदैन, तातोपानीले सामान्यतया नुहाउनुहुँदैन, दुईपटक भोजन गर्न र झुटो बोल्न, टाढाको बाटो हिँड्नु हुँदैन, अपराह्न खानदान लिन हुँदैन । मागेर ल्याएको पनि प्रयोग गर्न, मैथुन गर्न, तेल घस्न हुँदैन । दन्त धावन ताम्बुलं स्नेह स्नानम भोजनम् । रत्यौषधं परान्नं च श्राद्धकृत् सप्त वर्जयेत । स्मृति सन्दर्भः पृ २५०५ । श्राद्धका दिनमा हलो, ठेको, ढिकी, जाँतो, नाङ्लो चलाउन  हुँदैन । वेद पढाउन हुँदैन । श्राद्धमा पाक गर्ने व्यक्ति विवाहिता धर्मपत्नीबाट गराउनु उत्तम मानिन्छ । व्रतानामुपवासानां श्राद्धादिनां च संयमे । न करोती क्षौर कर्म सो ४ सूचीः सर्वकर्मसु ।। श्राद्धको एक छाकीका दिनमा कपाल खौरनु, दारी, जुँगा र नङ काट्नुपर्छ, स्नान गरी शुद्ध वस्त्र धारण गर्नुपर्छ, एक छाक हविष्यवस्तु मात्र र अपराह्न कालमा घ्यू भात खानुपर्छ, खाटमा सुत्न, स्त्री प्रसङ्ग गर्न, बिटुलो हुन, पसिना निकाल्न र परिश्रम गर्न, रात्रिमा भोजन गर्न, खेतबारी खन्न, भारी बोक्न, तेल घस्न र खान निषेध छ । अनि ब्राह्मण निमन्त्रणा गर्नुपर्छ । यसरी शुद्ध भएर मात्र श्राद्ध गर्नुपर्ने शास्त्रमा उल्लेख छ । अनि मात्र पितृ तृप्त हुन्छन् नत्रभने सबै राक्षसको भागमा जान्छ, पितृले पाउँदैनन् । यस्तो व्यवस्था शास्त्रमा हँुदाहुँदै पनि शास्त्रको राम्ररी अध्ययन मनन नगरी भद्रगोल तरिकाले हल्लै–हल्लामा दगुर्न  हुँदैन । यसबाट अभीष्टसिद्ध  हुँदैन, अनिष्ट मात्र हुन्छ भन्ने कुरा पण्डित गुरुपुरोहित र यजमानले बुझ्न अत्यावश्यक छ ।

(लेखक : वासुदेव नेपाल अवकाशप्राप्त नेपाली सेनाको मूल पण्डित
मानार्थ उपसेनानी हुन्, उनले साहित्य, धर्मशास्त्र, पूर्वमीमांसा तीन
विषयमा आचार्य स्नातकोत्तरसम्मको शिक्षा हासिल गरेका छन् ।)