जिल्ला आयुर्वेदिक औषधालयको निर्माण सुरु

पिपलटार, नुवाकोट जिल्लाको विदुर नगरपालिका-५ पिपलटारमा १५ शय्याको जिल्ला आयुर्वेदिक औषधालयको निर्माण सुरु भएको छ । देवीघाटमा रहेको आयुर्वेदिक औषधालय भूकम्पका कारण पूर्ण क्षति भएपछि भाडाको घरबाट सञ्चालन हुँदै आएको थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत नौ करोड ५० लाख रुपैयाँको लागतमा सुविधासम्पन्न भवनको निर्माण सुरु भएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइमार्फत कार्यान्वयनमा गएको आयुर्वेदिक औषधालयको भवन एक वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्नेछ । आयुर्वेदिक अस्पतालको निर्माण शुभारम्भ गर्दै बागमती प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डेले पछिल्लो समय नागरिक आयुर्वेदिक सेवातर्फ आकर्षित भएको बताए । कोरोना सङ्क्रमणको भयावह अवस्थामा आयुर्वेदिक अस्पतालले उत्कृष्ट सेवा प्रवाह गरेको बताउँदै त्यसको परिणामको रूपमा नयाँ भवन निर्माण सुरु भएको बताए ।

उद्घाटन कार्यक्रममा बागमती प्रदेश भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री बद्री मैनालीले आयुर्वेदिक सेवाको गुणस्तर वृद्धि गर्दै नागरिकमैत्री औषधालयको विकासमा प्रदेश सरकार रहेको बताए । दोहोरो फाइदा रहेको आयुर्वेदिक औषधालयको प्रचारप्रसारमा कमी रहेकाले सबै नागरिक माझ पुग्न नसकेको बताए । सो कार्यक्रममा विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले उपचारको सेवा लिँदा छिटो–छरितोभन्दा पनि औषधिको दोहोरो फाइदा हुने विषयलाई छनोट गर्नुपर्ने बताए । आयुर्वेदिक औषधिको प्रयोग जनस्तरमा पु¥याउन सके नेपालमा भएका जडीबुटीको सदुपयोग हुने र वैदेशिक व्यापार घट्ने उल्लेख गरे । ०७९ साल पुसभित्र निर्माण सम्पन्न हुने गरी निर्माण पक्षले भवनको निर्माण थालेको जिल्ला आयुर्वेदिक औषधालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण खड्काले बताए ।