बस दुर्घटनामा एकको मृत्यु

फिकुरी, किस्पाङ गाउँपालिका-५ मनकामनाको भुमेस्थानमा गत सोमबार बस दुर्घटना हुँदा घाइते भएकामध्ये एकजनाको मृत्यु भएको छ ।

काठमाडौंको ग्रान्डी अस्पतालमा उपचाररत किस्पाङ गाउँपालिका-१ का रमेश तामाङको निधन भएको किस्पाङ गाउँपालिका अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिए । अध्यक्ष लामा बस दुर्घटना भएको जानकारी पाउनासाथ तत्कालै घटनास्थलमा पुगेर उद्धारमा जुटेका थिए । दुर्घटनामा घाइतेमध्ये नौजनाको काठमाडौं र २८ जनाको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ । बसमा ५० भन्दा बढी यात्रु रहेका थिए । किस्पाङ गाउँपालिका-१ भाल्चे हुँदै काठमाडौं जाँदै गरेको बा.४ ख ५७६२ नम्बरको केरुङ यातायात प्रालिको बस दुर्घटनामा परेको हो । किस्पाङ गाउँपालिका-५ मनकामनाको भुमेस्थानमा बस दुर्घटना हुँदा घाइते भएकामध्ये एकजनाको निधन भएको हो । बस दुर्घटना हुँदा ३७ जना घाइते भएका थिए । बसको क्षमताभन्दा अत्यधिक बढी यात्रु बोकेर काठमाडौंतर्फ जाँदै गर्दा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनाका सबै घाइतेलाई तत्कालै त्रिशूली अस्पताल नुवाकोटमा ल्याइएको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएका नौजनालाई हेलिकोप्टरमार्फत काठमाडौं थप उपचारका लागि पठाइएको थियो । क्षमताभन्दा बढी यात्रु बोकेको बस नियन्त्रणबाहिर पुग्दा सडकको भित्तामा ठोक्किन पुगेको थियो । बस अनियन्त्रित भई भित्तामा ठोक्किएकाले ठूलो दुर्घटनाबाट बचेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उक्त घटनाका घाइते र मृतकका आफन्तलाई राहत उपलब्ध गराउन किस्पाङ गाउँपालिकाले गृहमन्त्री बालकृष्ण खाणको ध्यानाकर्षण गराएको छ । गत बिहीबार गाउँपालिकाका अध्यक्ष छत्र लामा, सङ्घीय सांसद बहादुरसिंह लामालगायतको टोलीले गृहमन्त्री खाणलाई भेटेर चार दिनअघि किस्पाङ दुर्घटनामा मृत्यु भएका रमेश तामाङलाई राहत र घाइतेलाई उपचार सहज बनाउन माग गरेको हो । गाउँपालिकाको ध्यानाकर्षणपत्र बुझ्दै गृहमन्त्री खाणले दुर्घटनामा परी मृत्यु भएका परिवार र घाइतेलाई उचित राहत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्र लामाले त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिए ।