वृद्धाश्रमको तरकारीको छाक दाताको भरमा

  • त्रिशूली प्रवाह
  • ५ मंसिर २०७८, आईतवार १२:१५

देवीघाट, नुवाकोट जिल्लाको विदुर नगरपालिका-५ देवीघाटमा रहेको ज्येष्ठ नागरिक सेवा आश्रम दाताकै तरकारी सहयोगमा बिहान-बेलुकाको छाक टारिरहेको छ ।

देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानले ०७४ देखि सञ्चालन गरेका आश्रममा आश्रित वृद्धवृद्धालाई दाताबाट सहयोग प्राप्त तरकारीले छाक टार्ने गरेको भान्छा व्यवस्थापन समितिका रामप्रसाद दाहालले बताए । ०७४ देखि वृद्धाश्रम सञ्चालन गरेको हाल ३० जनामध्ये १९ पुरुष र ११ महिला रहेका छन् । प्रतिष्ठान सञ्चालन गरेको आश्रममा विगत तीन वर्षदेखि हालसम्म राजु कँडेलले सिजनअनुसारको ताजा तरकारी उपलब्ध गराउँदै आएको आश्रम व्यवस्थापन समितिका दाहालले जानकारी दिए । उनले भने, कँडेलले गरेको सहयोग हामी कहिल्यै भुल्न सक्दैनौँ । कँडेलले सहयोग गरेको देखेर अहिले आश्रममा अरू ११ जना व्यक्तिबाट आलोपालोमा सिजनअनुसारका तरकारी उपलब्ध भइरहेको प्रतिष्ठानले जानकारी दिएको छ । आश्रमका लागि तरकारी उपलब्ध गराइरहनेमा राजु कँडेल, रामशरण रिजाल, तारा बुढाथोकी, नवराज ढुङ्गाना, विकास वाइवा, अमर कुँवर, विनोद भण्डारी, उत्तरकुमार श्रेष्ठ, प्रह्लाद पाण्डे, प्रह्लाद न्यौपाने, उद्धव श्रेष्ठ, श्यामबहादुर तितुङ रहेका छन् । आश्रम सञ्चालन प्रतिष्ठानको नाममा देवीघाटमा रहेको पाँच रोपनी आठ आना एक पैसा एक दाम जग्गामा बनेको लिफ्टसहित चारतले ६४ कोठा भएको पक्की भवन देवीघाटमा रहेको छ ।

भौतिक संरचना निर्माणकार्यभन्दा पनि सञ्चालनको कार्य चुनौतीपूर्ण रहेको हुँदा प्रतिष्ठानलाई आत्मनिर्भर बनाउन आजीवन सदस्यता विस्तार, मुठ्ठीदान, एक दाता एक दिन भोजनलगायतका अन्य उपाय खोजी गरिरहेको प्रतिष्ठानका सहसचिव रामहरि गजुरेलले बताए । प्रतिष्ठानमा स्थानीय निकायको सिफारिसमा असहाय, ज्येष्ठ नागरिकलाई निःशुल्क आवासीय सेवा, भोजन, औषधि उपचारलगायतको आवश्यक सेवा प्रदान गर्दै आएको प्रतिष्ठानका सचिव हेमप्रसाद अधिकारीले बताए । आश्रममा आश्रितका लागि साप्ताहिक रूपमा स्वास्थ्य चेकजाँच गरिदिन जिल्लामा रहेका निजी तथा सरकारी स्वास्थ्य सङ्घ-संस्था र अस्पताललाई अनुरोध गरिएको भए पनि नियमित सेवा पाउन नसकेको प्रतिष्ठानका पदाधिकारीले गुनासो गरेका छन् ।