बागमती प्रदेश तेक्वान्दोको अधिवेशनमा नुवाकोटका धननारायण सम्मानित

धुलिखेल, नेपाल तेक्वान्दो सङ्घ बागमती प्रदेशको पहिलो अधिवेशन शनिबार काभ्रेको धुलिखेलमा सम्पन्न भयो । उक्त अधिवेशनमा नुवाकोट तेक्वान्दो सङ्घका संस्थापक अध्यक्ष एवम् कभर्डहल निर्माणका लागि जग्गादाता धननारायण चिरकारसहित विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

पूर्व मन्त्री एवम् नेपाली काङ्ग्रेसका खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेतले उद्घाटन गरेको उक्त अधिवेशनले केशवपुरीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको थियो । अधिवेशनबाट उपाध्यक्षमा प्रकाश खड्गी र पर्यटन व्यवसायी सुमन पाण्डे, महासचिवमा हरिहर ढुङ्गाना, सचिवमा उमेश नकर्मी र कोषाध्यक्षमा किरण थापामगर निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी, सदस्यमा फिरोज श्रेष्ठ, कवि राजमाली, भाष्कर श्रेष्ठ, केशव थापा, दिनेशकुमार वाँडा, राजेन्द्र खड्गी, रामचन्द्र व्यञ्जनकार, नरेन्द्र थापा, रामकृष्ण श्रेष्ठ र वीरमान स्याङ्तान निर्विरोध निर्वाचित भएका छन् । प्रदेश सङ्घको पहिलो बैठकले विराजभक्त श्रेष्ठ र व्यवसायी दीपक मल्होत्रालाई उपाध्यक्षमा मनोनीत गरेको थियो । उद्घाटन कार्यक्रममा नुवाकोट तेक्वान्दो सङ्घका अध्यक्ष शरण उत्सुक सापकोटासहित १३ जिल्लाका अध्यक्षलाई समेत सम्मान गरिएको थियो ।