ककनीमा शिक्षक बिमा कार्यक्रम

रानीपौवा, नुवाकोटको ककनी गाउँपालिकाले पालिकाभित्र कार्यरत सबै शिक्षकका लागि एक लाख रुपैयाँको बिमा गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाभित्र रहेका सबै विद्यालयका शिक्षकलाई प्रोत्साहनका लागि बिमा गर्ने नीति लिएको गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले बताए । वार्षिक एक लाख रुपैयाँबराबरको बिमा गाउँपालिकाले सबै शिक्षकको गरिदिने भएको हो । जोखिम मोलेर शैक्षिक क्षेत्रमा खटिएका शिक्षकलाई स्थानीय तहले स्थानीय सरकारको आभास गराउन बिमा कार्यक्रम लागू गरेको बताइएको छ । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन नुवाकोटको पहलमा ककनी गाउँपालिकाले शिक्षक बिमा कार्यक्रम सुरु गरेको हो । ककनीसँगै अरू स्थानीय तहमा समेत शिक्षक बिमाका लागि प्रयास भइरहेको एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन नुवाकोटका अध्यक्ष विनोद लामाले बताए ।