२७ वटै वडा अधिवेशन सम्पन्न
धुन्चे, क्रियाशील सदस्यता विवादको कारण स्थगित भएको नेपाली काङ्ग्रेस रसुवाको क्रियाशील सदस्यता विवाद समाधान भएपछि वडा अधिवेशन सोमबार सम्पन्न भएको छ ।
जिल्लाको पाँचवटा गाउँपालिकाको २७ वटै वडामा काङ्ग्रेसको वडा अधिवेशन सम्पन्न भएको काङ्ग्रेसका जिल्ला कार्यसमितिका सभापति पेम्बाछिरिङ तामाङले बताए । काङ्ग्रेसको १४औँ महाधिवेशनको मिति नजिकिँदै जाँदा पछिल्लो संशोधित केन्द्रयी तालिकानुसार ७७ वटै जिल्लामा अधिवेशनको रन्कोले काङ्ग्रेसका नेता/कार्यकर्ताको व्यस्तता बढाइरहेको छ । क्रियाशील सदस्यता विवादका कारण लामो समयदेखि रोकिएको वडा अधिवेशन आइतबारदेखि सुरु भएर सोमबार सम्पन्न भएको छ । जिल्लाको २६ वटा वडामा सर्वसम्मतिबाट नेतृत्व चयन भएको छ । उत्तरगया गाउँपालिका-५ मा भने मतदान प्रक्रियाबाट नेतृत्व चयन भएको थियो । वडा अधिवेशन सम्पन्न भएसँगै अब पालिका अधिवेशन हुने सभापति तामाङले बताए । काङ्ग्रेसको वडा अधिवेशन सम्पन्न गराउन केन्द्रले पठाएको निर्वाचन अधिकृत सुमनकुमार केसी र सहायक निर्वाचन अधिकृत जनकसिंह साउद खटिएका छन् । उनीहरूले अधिवेशन सम्पन्न गराउन जिल्लाको २७ वटै वडामा शिक्षक सङ्घका शिक्षकलाई अधिकृतको रूपमा खटाएका छन् ।
३० कात्तिकमा काङ्ग्रेस रसुवाको पालिका अधिवेशन तोकिएको थियो । तर, सबै वडाको अधिवेशन सम्पन्नको डकुमेन्ट आइनपुगेको निर्वाचन अधिकृत सुमनकुमार केसीले बताए । सबै वडामा नेतृत्व चयनको डकुमेन्ट प्राप्त भएपछि पालिका अधिवेशनका लागि प्रक्रियामा जाने उनले बताए । मङ्सिर १ गते पालिका अधिवेशन, ३ गते प्रदेश क्षेत्र निर्वाचनको अधिवेशन र ६ गते जिल्ला अधिवेशन गर्ने तालिका रहेको उनले बताए । वडा कार्यसमितिबाट सिफारिस भई गएका विगतदेखि नै क्रियाशील सदस्यको नामावली काटेर फारम नै नभरेकालाई सदस्यता प्रदान गरेपछि विवाद भएको थियो । शुक्रबार जिल्ला कार्यसमितिको बैठक बसी काटिएका नामावली पुनः समावेश गराएसँगै विवाद समाधान भएको थियो । निर्वाचन अधिकृत केसीका अनुसार जिल्लामा काङ्ग्रेसका तीन हजार नौ सय ६४ क्रियाशील सदस्य छन् ।