निजी आवास निर्माणको किस्ता मङ्सिर मसान्तसम्म

काठमाडौं, भूकम्प प्रभावितलाई निजी आवास निर्माणका लागि किस्ता लिने समय मङ्सिर मसान्तसम्म तोकिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले किस्ता लिने समय मङ्सिर मसान्तसम्म रहेको जानकारी दिए । तोकिएको समयभित्रमा अब पनि किस्ता नलिनेलाई लाभग्राही सूचीबाट हटाइने प्राधिकरणको तयारी छ । प्राधिकरणका अनुसार लाभग्राही सूचीमा रहेको कुल सङ्ख्या आठ लाख ६६ हजार दुई सय सात छ । जसमध्ये आठ लाख २७ हजार तीन सय ४० जनाले मात्र अनुदान सम्झौता गरेका छन् । ३८ हजार आठ सय ६७ जनाले अझै अनुदान सम्झौता गरेका छैनन् । प्राधिकरणका अनुसार अहिलेसम्म ६ लाख एक हजार पाँच सय २४ घरको निर्माण सम्पन्न भएको छ । भूकम्पमा अति प्रभावित १४ र कम प्रभावित १८ जिल्ला छन् । साउनबाट निजी आवास निर्माणको काम कम भएकाले प्रगति पनि कम देखिएको सहप्रवक्ता घिमिरेले बताए । अहिले प्राधिकरणबाट काम हस्तान्तरण भएर सहरी विकास मन्त्रालयमा गएको छ ।