कोटा प्रणाली कायमै नेपाल-चीन व्यापार असहज

धुन्चे, कोरोना भाइरसको महामारी सुरु भएपछि खुम्चिएको नेपाल-चीन व्यापार अझै सहज हुन सकेको छैन । कोरोना सङ्क्रमणको कारण ०७६ माघको अन्तिमदेखि ०७७ जेठको अन्तिमसम्म नाका पूर्ण रूपमा बन्द रह्यो ।

अहिलेसम्म चिनियाँ पक्षले कोटा प्रणाली कायम राख्दा व्यापार पर्याप्त नभएको गुनासो व्यवसायीले गरेका छन् । कोटा प्रणालीअनुसार दैनिक ९ चिनियाँ कन्टेनर सामग्री नेपाल आयात भइरहेको रसुवा चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जीव अमात्यले बताए । चिनियाँ नौ कन्टेनर सामान नेपाली दुईवटा कन्टेनरमा लोड हुने गरेको छ । ०७६ माघदेखि चीनमा निर्यात हुन सकेको छैन । चिनियाँ सरकारले नेपाली सामान प्रवेशमा रोक लगाएको छ । व्यवसायीको व्यापक गुनासो आएपछि चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीको नेपाल सरकारका उच्चस्तरीय अधिकारीले शुक्रबार अनुगमन गरेका छन् । कोरोना भाइरस महामारीका कारण लामो समयदेखि प्रभावित नाकाको नेपाल सरकारका उच्चस्तरीय अधिकारीले शुक्रबार स्थलगत अवलोकन गरेको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए ।

वाणिज्य मन्त्रालयका सहसचिव नारायणप्रसाद रेग्मीको नेतृत्वमा आएको टोलीले रसुवागढी नाकाको स्थलगत अवलोकन गरेको थियो । चिनियाँ पक्षले सामानको आयात किन बढाएनन्, नेपालतर्फको अवस्था के रहेछ, भौतिक संरचनाको अवस्था के रहेछ भनेर टोलीले स्थलगत अवलोकन गरेको थियो । टोलीले नाकाको स्थलगत अवलोकन गर्नुका साथै नाकामा देखिएका समस्याबारे स्थानीय सरोकारवाला र जिल्लाका सम्बन्धित अधिकारीसँग छलफल गरेको थियो । कोरोना भाइरसको सङ्क्रमणका कारण चीनसँगको अन्तर्राष्ट्रिय व्यापार प्रभावित भएको डेढ वर्षभन्दा बढी भएको छ । स्थलगत अवलोकनपछि वाणिज्य मन्त्रालयका सहसचिव रेग्मीले नाकामा देखिएको समस्या व्यवस्थापनमा लागिपर्ने बताए ।