क्षेत्र नम्बर १ को सभापतिमा श्रेष्ठ विजयी क्षेत्र नम्बर २ को मतगणना जारी

विदुर, नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर ६ गते सम्पन्न नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ मा धु्रव श्रेष्ठ विजयी भएका छन् । क्षेत्र नम्बर २ को मतगणना जारी छ ।

क्षेत्र नम्बर १ को मतगणना सकिएको छ । क्षेत्रीय सभापतिमा धु्रव श्रेष्ठले पाँच सय ११ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी विषम रिमालले तीन सय ८७ मत पाए । कुल नौ सय २१ मत खसेको थियो । श्रेष्ठलाई काङ्ग्रेस केन्द्रीय सदस्य डाक्टर रामशरण महत, बहादुरसिङ लामा र केन्द्रीय सहमहामन्त्री डाक्टर प्रकाशशरण महतको समर्थन रहेको थियो । यता, रिमाललाई काङ्ग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र जिल्ला सभापति जगदीश्वरनरसिंह केसीको समर्थन रहेको थियो । केन्द्रमा एउटै समूहमा रहेर राजनीति गर्दै आएका नुवाकोटका महत र केसी जिल्लामा भने दुई पक्षमा रहेका छन् । स्थानीय तहदेखिको काङ्ग्रेस अधिवेशनमा नुवाकोटमा केसी र महत पक्षले आ–आफ्नो प्यानल बनाएर प्रतिस्पर्धा गर्दै आएका छन् ।

क्षेत्र नम्बर १ मा क्षेत्रीय सचिव एकजना भने केसी समूहका उम्मेदवार विजयी भएका छन् । क्षेत्रीय सचिवमा निर्वाचित भएका जगदीश कुइँकेललाई केसी समूहको समर्थन रहेको थियो । उनी चार सय ४१ मतसहित विजयी भए । यस्तै, अर्का सचिव शिव गुणीले चार सय ७६ मत प्राप्त गरे । गुणीलाई महत समूहको समर्थन रहेको थियो । यस्तै, सहसचिवमा ठाकुरनाथ लामिछाने र वीरबहादुर तामाङ निर्वाचित भए । लामिछानेले चार सय ९१ मत र तामाङले चार सय ९९ मत प्राप्त गरे । क्षेत्र नम्बर १ को प्रदेश ‘क’ बाट महिला सदस्यमा ओमजन श्रेष्ठले दुई सय नौ मतसहित विजय हासिल गरिन् । खुला सदस्यमा नवराज भण्डारी र हरिराज कार्की विजयी भए । भण्डारीले दुई सय १७ र कार्कीले एक सय ८९ मत प्राप्त गरे ।

क्षेत्र नम्बर १ को प्रदेश सभा ‘ख’बाट महिला सदस्यमा मेनुका भट्टराईले दुई सय ५९ मत ल्याएर विजयी भइन् । प्रदेश सभा ‘ख’को खुला सदस्यमा रामेश्वर ढकाल र सुवर्ण श्रेष्ठ निर्वाचित भए । रामेश्वर ढकालले दुई सय ७३ र सुवर्ण श्रेष्ठले दुई सय ७४ मत प्राप्त गरे । यस्तै, प्रत्यक्षतर्फ खुला सदस्यमा गोकर्णराज पण्डितले पाँच सय ३०, दिनेश तामाङले पाँच सय १८ र वरदान थपलियाले चार सय ९० मत ल्याएर विजयी बने । खस, आर्य महिला सदस्यमा इन्दिरा थापा खड्का पाँच सय १९ मतसहित विजयी भइन् । यता, खस, आर्य खुलातर्फ ईश्वरप्रसाद लामिछानेले चार सय ८१ मत ल्याएर विजयी भए ।

नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ को आदिवासी जनजाति सदस्यमा प्रमिसा लामा र सुनिता घले विजयी बने । उनीहरूले चार सय ७९ र चार सय ६२ मत प्राप्त गरे । आदिवासी जनजाति खुलातर्फ धनबहादुर तामाङले पाँच सय २० मत र सुकमान तामाङले पाँच सय ७५ मतसहित विजयी बने । यस्तै, क्षेत्रीय कार्यसमितिको अपांग सदस्यमा कैलास उप्रेतीले पाँच सय ११ मत ल्याएर विजयी बने । यता, कार्यसमितिको दलित सदस्य पदमा अर्जुन बागदास निर्विरोध निर्वाचित भए भने कार्यसमिति प्रत्यक्ष महिला सदस्यमा शुभद्रा प्याकुरेल निर्विरोध निर्वाचित भइन् ।

नेपाली काङ्ग्रेस नुवाकोट क्षेत्र नम्बर १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि प्रत्यक्ष खुल्लामा पाँच सय १२ मत ल्याएर डाक्टर केदारनरसिंह केसी निर्वाचित भए । उनीसँगै अच्युतप्रसाद गुरागाईं चार सय ६ मत, अर्जुनप्रसाद न्यौपाने चार सय ६९ मत, कृष्ण कुइँकेल चार सय तीन मत, कृष्णबहादुर लामा चार सय १७ मत ल्याएर विजयी बने । यस्तै, निरञ्जन थापा तीन सय ८४ मत, विजय केसी तीन सय ९० मत, महेन्द्र थिङ चार सय ७२ मत र रमेशकुमार महत चार सय ९७ मत, शिवप्रसाद अधिकारी तीन सय ८३ ल्याएर केन्द्रीय महाधिवेशन प्रतिनिधि प्रत्यक्ष खुलातर्फबाट निर्वाचित भएका छन् ।

केन्द्रीय महाधिवेशन प्रतिनिधि प्रत्यक्ष महिलातर्फ रोशना थापा महत चार सय ६४ मत, विना बुढाथोकी महत चार सय ९१ मत, सरिता आचार्य चार सय दुई मत र सीता मिजार चार सय ३३ मत ल्याएर विजयी भए । केन्द्रीय महाधिवेशन प्रतिनिधिमा खस आर्य महिलामा भवानी देवकोटा चार सय १२ मत, खस आर्य खुलामा वैकुण्ठ खनाल चार सय ७० र रामेश्वरप्रसाद भण्डारी चार सय ८२ मत ल्याएर विजयी बने । यस्तै, आदिवासी जनजाति महिलातर्फबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा अमृता नेपाल डङ्गोलले चार सय ८० मत, मैया गोपिनीले चार सय ५७ मत र सरस्वती मल्ल श्रेष्ठले चार सय ७० मत प्राप्त गरी विजयी भए ।

यस्तै, आदिवासी जनजाति खुलातर्फबाट कुमार गुरुङ चार सय ३० मत, टीकाबहादुर पुलामीमगर रामले चार सय ७३ र सूर्यबहादुर तामाङले चार सय २६ मत प्राप्त गरी विजयी भएको निर्वाचन समितिले जनाएको छ । दलित प्रतिनिधिमा कल्पना नेपालीले पाँच सय १६ मत ल्याएर विजयी भएको नेपाली काङ्ग्रेस नुवाकोट क्षेत्र नम्बर १ निर्वाचन समितिले जनाएको छ ।