जनगणना अन्तिम चरणमा

विदुर, नुवाकोट जिल्लामा राष्ट्रिय जनगणनाको काम अन्तिम चरणमा पुगेको छ ।

अहिलेसम्म ८५ देखि ९० प्रतिशत गणनाको काम सम्पन्न भएको तथ्याङ्क कार्यालय नुवाकोटका प्रमुख नरेन्द्र शर्मा भट्टले जानकारी दिऐ । ‘मेरो गणना मेरो सहभागिता’ नाराका साथ १२औँ राष्ट्रिय जनगणना भइरहेको छ । विवरण सङ्कलन गर्न तथ्याङ्क कार्यालयबाट खटिएका गणकसहितको टोली नागरिकको घरघरमा पुगेका छन् । प्रत्येक १० वर्षमा गरिने जनगणना यसपटक सूचना प्रविधिअनुकूल रहेको छ । जिल्ला जनगणना कार्यालय नुवाकोटका प्रमुख नरेन्द्र शर्मा भट्टका अनुसार नुवाकोटमा तीन सय ८१ जना गणक खटिएका छन् । ९५ जना सुपरिवेक्षक र तीन सय ८१ जना गणकले प्रत्यक घर–घरमा पुगेर तथ्याङ्क सङ्कलन गरिरहेका छन् । १५ दिनसम्म अर्थात् मङ्सिर ९ गतेसम्म हुने जारी जनगणनामा सबैलाई सहभागिता जनाउन आग्रह गर्दै जुनसुकै भूगोल र क्षेत्रमा रहेका जुनसुकै समुदायका जनतालाई जनगणनामा सहभागी हुन कार्यालयले आग्रह गरेको छ ।

जनगणनामा गणकले हरेक घरपरिवारसम्म पुगेर कुल ८० वटाको हाराहारीमा प्रश्न सोध्नेछन् । परिवारमा एकजना गणकले औसत २० मिनेट लगाउनेछ भने १५ दिनमा एक सय ७५ परिवारको गणना गर्नुपर्नेछ । जनगणनामा समुदायमा आधारित प्रश्नपत्र तयार गरी सामुदायिक गणना सुरु गरेको थियो । गणकले सबै गणना पूरा गरेपछि वडा कार्यालयमा पुगेर सामुदायिक गणना गर्नेछ । समुदायबाट सङ्कलन गरिएको तथ्याङ्क प्रशोधन गरेर नतिजा प्रकाशन गर्न ६ देखि ८ महिना लाग्नेछ । तर, प्रारम्भिक नतिजा तीन महिनाभित्र दिने तयारी भइरहेको छ । जनगणना सफल बनाउन सबैको सहयोग अपरिहार्य रहेको उल्लेख गर्दै उनले त्यसलाई सहजीकरण गर्न केन्द्रदेखि वडासम्म सहजीकरण समिति गठन गरिएको बताए । सुपरिवेक्षकले नियमित रूपमा गणकसँग समन्वय गरिरहेको र सुपरिवेक्षकले जिल्ला जनगणना कार्यालयमा जनगणनाको प्रगतिबारे विवरण दिने गरेका कार्यालयले जनाएको छ ।

अब जनगणना सम्पन्न हुन दुई दिन मात्र बाँकी भएकाले कोही व्यक्ति छुटेको भए गणक, सुपरिवेक्षक, वडा कार्यालय, पालिका र जिल्ला जनगणना कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । मङ्सिर ९ गतेसम्ममा गणनाको मुख्य काम सकिसक्नुपर्ने भएकाले कोही छुटेको भए सम्पर्क गर्न जिल्ला जनगणना कार्यालयले आग्रह गरेको छ । यसअघि वि.सं. ०६८ मा ११औँ जनगणना भएको थियो । त्यस बेला पशुपक्षीको पूर्ण गणनासमेत समेटिएको थियो । वि.सं. १९६८ पछि नेपालमा प्रत्येक एक दशकमा जनगणना हुँदै आएको छ ।