शिलान्यासको दुई वर्षमा १८ प्रतिशत भौतिक प्रगति सुक्खा बन्दरगाह निर्माण सुस्त

  • सज्जन उत्सुक सापकोटा

स्याफ्रुबेंसी, चीनसँगको व्यापार-व्यवसाय सहज बनाउने उद्देश्यले सिमानामा निर्माणाधीन सुक्खा बन्दरगाहको भौतिक प्रगति शिलान्यासको दुई वर्ष बितिसक्दा पनि सन्तोषजनक भएको छैन ।

मित्रराष्ट्र चीनको आर्थिक तथा प्राविधिक सहयोगमा रसुवागढी नाकामा निर्माण हुने सुक्खा बन्दरगाहको भौतिक प्रगति सन्तोषजनक नभएपछि बन्दरगाहको निर्माण सकिने मिति अनिश्चित बनेको छ । अन्तर्राष्ट्रिय नाका रसुवागढीमा निर्माण भइरहेको सुक्खा बन्दरगाह निर्माणको काम दुई वर्ष बितिसक्दा पनि १८ प्रतिशत मात्र रहेको इन्जिनियर शोभाकान्त राउतले जानकारी दिए । उनका अनुसार अहिलेसम्म बन्दरगाह निर्माणमा संलग्न चिनियाँ कामदार नआएको कारण निर्माणकार्य सुचारू हुन सकेको छैन ।

चीनको आर्थिक तथा प्राविधिक सहयोगमा टिमुरेमा निर्माण भइरहेको सुक्खा बन्दरगाहले नेपाल-चीनबीचको व्यापारलाई थप सहज बनाउने अपेक्षा रसुवा चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जीव अमात्यले गरेका छन् । भौतिक संरचनाको अभावमा सञ्चालन हुँदै आएको व्यापारलाई सहज बनाउन चीन सरकारले आर्थिक तथा प्राविधिक सहयोगमा बन्दरगाह निर्माण गरिदिन लागेको हो । बन्दरगाहका लागि १२ करोड ४० लाख चिनियाँ युआन लाग्ने अनुमान गरिएको छ । सीमानाकाबाट करिब साढे दुई किलोमिटरमा पर्ने बन्दरगाह झन्डै पाँच हेक्टर क्षेत्रफलमा फैलिएको छ । बन्दरगाहमा तीन सय ५०वटा ठूला ट्रक तथा साना गाडी अट्ने पार्किङस्थल निर्माण हुनेछ । छिमेकी चीनले प्राथमिकतामा राखेको केरुङनजिकै निर्माण हुन लागेको सुक्खा बन्दरगाहको जग्गा अधिग्रहणको तथा मुआब्जाका काम भएपछि बन्दरगाह निर्माणको काम थालनी भएको हो । बन्दरगाह निर्माणका लागि त्यहाँ चार वर्षअघि नै जग्गा अधिग्रहण सुरु भएको थियो ।

चीनले सन् २०१४ मा बन्दरगाह बनाउन प्रारम्भिक सहमति जनाएको भए पनि विनाशकारी भूकम्पलगत्तै सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि चीनले केरुङको विकासलाई बढी प्राथमिकता दिँदै आएको छ । संरचना निर्माणका लागि लाङटाङ राष्ट्रिय निकुञ्जबाट पाँच र सर्वसाधारणको तीन हेक्टर जग्गा अधिग्रहण भएको थियो । बन्दरगाहमा एक मुख्य भवन बन्नेछ । त्यसमा प्रशासनिक कार्यकक्ष, क्वारेन्टाइन, बैंक, ल्याब, सुरक्षालगायतका कार्यालय रहनेछन् । त्यस्तै, सात सय ५० वर्गमिटरको क्षेत्रफलमा गोदाम घर निर्माण हुनेछ । चीनले आफ्नो भूभाग रसुवागढी नाकाबाट करिव ३० किलोमिटर टाढा केरुङभन्दा पाङसिङमा आधुनिक बन्दरगाह निर्माण थालेको छ । चीनको सिगात्सेदेखि केरुङसम्मको दूरी चार सय ५० किलोमिटर रहेको छ ।

नेपालबाट चीन प्रवेश गर्ने एक मात्र रसुवागढी नाकाको भोटेकोसी किनारमा बन्दरगाह निर्माणको काम अघि बढाइएको हो । सुक्खा बन्दरगाह निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर भएपछि निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनीका तर्फबाट आयोजना प्रबन्धक याङ र नेपाल इन्टरमोडल यातायात विकास समितिका उपनिर्देशक हरेकृष्ण मिश्रले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

बाह्य मुलुकबाट आयात र नेपालबाट निर्यात हुने सामानलाई एकीकृत सेवा दिनका लागि रसुवा-टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहको काम निर्धारित समयमा सम्पन्न नहुने भएको छ । शिलान्यास भएको दुई वर्ष बितिसक्दा पनि सो बन्दरगाहको अहिलेसम्म भौतिक प्रगति १८ प्रतिशत मात्र रहेको छ । ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी ०७६ मङ्सिर ४ गते बन्दरगाहको शिलान्यास गरिएको थियो । ०७९ जेठभित्र बन्दरगाह निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले कोभिड-१९ को महामारीका कारण नेपाल र चीनबीचको द्विदेशीय व्यापारमा थप सहज बनाउने उद्देश्यसहित निर्माण भइरहेको रसुवा-टिमुरे सुक्खा बन्दरगाहको निर्माण निर्धारित समयमा सम्पन्न नहुने स्पष्ट पारे ।

समितिका कार्यकारी निर्देशक गजुरेलले कोभिड-१९ को महामारीका कारण चिनियाँ प्राविधिक कामदार स्वदेश फर्केपछि लामो समयसम्म निर्माणकार्य हुन नसक्दा निर्धारित समयमा बन्दरगाहको काम सम्पन्न हुन नसक्ने देखिएको स्पष्ट पारे । यस परियोजनामा सबै कामदार र प्राविधिक चीनका नै रहेका छन् । उनले भने, ‘अहिले दु्रतगतिमा आयोजनाको काम भइरहेको छ । आयोजनाको भौतिक प्रगति १८ प्रतिशत छ । अबको डेढ वर्षभित्र सम्पन्न भई सञ्चालनमा आइसक्नेछ ।’ समितिका इन्जिनियर शोभाकान्त राउतले ५० हजार नौ सय वर्गमिटर क्षेत्रफलमा निर्माण भइरहेको यस बन्दरगाहमा पाँचतले कम्प्लेक्स निर्माण भइरहेको जानकारी दिए ।