टाटासुमो दुर्घटना हुँदा एकको मृत्यु ६ जना घाइते
धुन्चे, रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर-६ ठाँडेमा यात्रुबाहक टाटासुमो दुर्घटना हुँदा एकको मृत्यु र ६ जना घाइते भएका छन् ।
पासाङल्हामु राजमार्गअन्तर्गत ठाँडे क्षेत्रमा मंगलबार साँझ काठमाडौंबाट रसुवाको सदरमुकाम धुन्चेतर्फ आइरहेको ना.१ ज.६१७६ नम्बरको टाटासुमोले तीनजना पैदल यात्रुलाई ठक्कर दिँदा चार वर्षीया बालिका नैना घलेको मृत्यु भएको र सुमोभित्र रहेको चारजना र पैदल हिँडिरहेका दुईजना घाइते भएका हुन् । उक्त टाटासुमो सडकबाट करिब ५० मिटर तल झरेको र सुमोमा सवार ऊर्जा घले, आठ वर्षीय करण घले, चालक छिरिङदोर्जे तामाङ, निमादोर्जे तामाङ गम्भीर घाइते भई त्रिशूली अस्पताल र काठमाडौंको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । पैदल हिँडिरहेका रमेश लोप्चन र पाङसाङ घले जिल्ला अस्पतालमा उपचार गरी सामान्य उपचारपछि घर फर्के भने चार वर्षीया बालिका नैना घले गम्भीर अवस्थामा त्रिशूली अस्पताल लगिए तापनि डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।