सक्षम सहकारीको साधारणसभा सम्पन्न

ट्टार, विदुर नगरपालिकाभरि कार्यक्षेत्र रहेको सक्षम बहुउद्देश्यीय सहकारी संस्था लि. बट्टारको १४औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

साधारणसभामा अध्यक्ष ताराबहादुर कार्कीले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष मदनबहादुर गुरुवाचार्यले वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनअनुसार गत आर्थिक वर्ष ०७७/७८ मा सहकारीको सेयरपुँजी दुई करोड एक लाख ५२ हजार रुपैयाँ, निक्षेप सङ्कलन चार करोड १७ लाख ६५ हजार रुपैयाँ, ऋण लगानी चार करोड ६३ लाख तीन हजार रुपैयाँ, तरल सम्पत्ति एक करोड ५१ लाख ७० हजार रुपैयाँ रहेको सो अवसरमा जानकारी गराइएको थियो । सहकारीको स्थिर तथा अन्य सम्पत्ति दुई लाख २२ हजार रुपैयाँ र सेयर लगानी १० करोड ३१ लाख रुपैयाँ रहेको जानकारी सहकारीका कोषाध्यक्ष गुरुवाचार्यले दिए । सहकारीमा तीन सय ९६ जना पुरुष र चार सय ५० जना महिला सेयर सदस्य रहेका छन् । सहकारीको १४औँ वार्षिक साधारणसभामा सेयर सदस्य कृष्णसिंह प्रधानलाई ज्येष्ठ नागरिक सम्मान गरिएको थियो । सो सभामा उत्कृष्ट बचतकर्ता केशवप्रसाद पन्त, असल कारोबारतर्फ मिठु खड्कालाई सम्मान गरिएको थियो ।

सहकारीले युनाइटेड आधारभूत विद्यालयमा अध्ययनरत नर्सरीदेखि कक्षा आठसम्मका पहिलो नम्बरका विद्यार्थीलाई शैक्षिक सामग्रीसमेत सो कार्यक्रममा प्रदान गरेको थियो । सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत रहेर गत वर्षदेखि हावाघरमा निर्माण भइरहेको किरियापुत्री भवनलाई २५ हजार पाँच सय रुपैयाँ प्रदान गरेको सहकारीका व्यवस्थापक तकबहादुर गोदारले जानकारी दिए । सहकारीले वार्षिक रूपमा चाहना बालगृह स्वयम्भूलाई दुई हजार रुपैयाँ प्रदान गर्दै आइरहेको व्यवस्थापक गोदारले जानकारी दिए । उनका अनुसार सक्षम खुत्रुके बाल बचतअन्तर्गत रहेर एक सय ६५ बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिनेछ । शनिबार आयोजित साधारणसभामा विदुर नगरपालिका- ४ का वडाध्यक्ष टलकमान श्रेष्ठ, राष्ट्रिय सहकारी बैंकका प्रतिनिधि, प्राइम कमर्सियल बैंकका प्रमुख राजु ढकाललगायतले सहकारीको विविध पक्षबारे बोलेका थिए ।