महाधिवेशनको हलले गर्ने

नेपाल कन्युनिस्ट पार्टी (एमाले) को दशौँ महाधिवेशन सुरु हुन एक दिन मात्र बाँकी छ । महाधिवेशनको मिति जति नजिकिँदै छ, पार्टीका प्रभावशाली पद हत्याउन एमालेका नेता आन्तरिक गृहकार्यमा तल्लीन भएर जुटेका छन् । अधिवेशनको सरगर्मी बढेसँगै एमालेका नेता-कार्यकर्ता चितवन आउने क्रम बढिरहेको छ । एमालेका प्रतिनिधिबाहेक शुभेच्छुकले चितवनको अधिकांश होटेल, लज एक हप्ताअघिदेखि बुकिङ गरिसकेका छन् ।

एमालेको दशौँ महाधिवेशनमा नेताहरूको व्यवस्थापन कसरी होला भन्ने बहस पनि अहिले एमालेमा चुलिएको छ । मंगलबार एमालेले आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र स्थापित हुन चुनाव लडेर भोट ल्याउनुपर्ने बताएका छन् । ‘महाधिवेशनमा यो पक्षको व्यवस्थापन, त्यो पक्षको व्यवस्थापन भन्ने कुरा छैन, हुँदैन । हाम्रो काम नेताको व्यवस्थापनमा अल्झिने होइन । जनताको समस्यामा जोड दिने हो । अहिले व्यवस्थापन भनेको चुनाव लडेर भोट ल्याउनुपर्छ,’ उनले भने । यो पक्ष वा त्यो पक्षको व्यवस्थापन गर्न थाल्यो भने पार्टीभित्र फेरि समस्या सुरु हुने र कार्यकर्तासँगै जनताको चाहना पनि त्यस्तो नभएको ओलीको भनाइ छ । एमालेमा अहिले पूर्वमाओवादी र पार्टी फुट्नुअघि माधवकुमार नेपालको गुटमा रहेका १० नेताको व्यवस्थापन कसरी होला भन्ने अनुमान र बहस चलिरहेको बेला ओलीले नेताको व्यवस्थापनको जिम्मा हललाई दिन आग्रह गरेका छन् ।

एमालेका अध्यक्ष ओलीले आफ्नो मुख्य शक्ति नै आमकार्यकर्ता र प्रतिनिधि हुने भएकाले दशौँ महाधिवेशनमा उहाँहरूकै इच्छानुसार आफू अघि बढ्ने बताएका छन् । उनले महाधिवेशनमा आफू केमा उठ्ने भन्ने कुराको निक्र्योल आमकार्यकर्ता र प्रतिनिधिले गर्ने भन्दै त्यस सम्बन्धमा आफू अहिले मौन रहेको स्पष्ट पारे । एमाले प्रचार विभागले महाधिवेशनको पूर्वसन्ध्यामा मंगलबार राष्ट्रिय सञ्चारमाध्यमका सम्पादकसँग गरेको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महाधिवेशनमा हुने हरेक लोकतान्त्रिक अभ्यासलाई आफूले सम्मान गर्ने बताए । ओलीले कुनै पनि उम्मेदवारलाई उसको इच्छाविपरीत सहमतिका नाममा बस्न आफूले कुनै दबाब नदिने स्पष्ट पारे । आफूविरुद्ध कोही उम्मेदवार हुन्छ भने बस्नका लागि दबाब पनि नदिने भन्दै उनले भने, ‘मैले उठ्ने निधो गरेँ भने मलाई छोड्न नि पाउँछ, चुनौती दिन पनि पाइन्छ । कसैले चुनौती दिएमा स्वागत गर्छु । लोकतन्त्रमा चुनौती स्वाभाविक कुरा हो, स्वाभाविक रूपमा लिनुपर्छ ।’

अध्यक्ष ओलीले आफूले सहमतिका लागि आग्रह गर्दा दबाब दिएको सन्देश जान सक्ने भएकाले नेतृत्व चयनको जुनसुकै प्रक्रियालाई पनि स्वीकार गर्ने स्पष्ट पारे । कार्यकर्ता वा प्रतिनिधिको इच्छाबेगर आफूले कुनै कदम नचाल्ने उनले स्ष्ट पारे । उपाध्यक्ष डा. भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । ओलीनिकटका नेताले आगामी महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने बताउँदै पार्टीमा ओलीको विकल्प नभएको बताउँदै आएका छन् । तर, कार्यक्रममा ओलीले भने, ‘मैले उठ्ने, नउठ्ने अहिलेसम्म कुनै निर्णय गरेको छैन । जुनसुकै पदमा प्रतिस्पर्धा गर्न सबै प्रतिनिधि स्वतन्त्र छन् ।’ अध्यक्षमा रावलको उम्मेदवारीप्रति लक्षित गर्दै ओलीले भने, ‘रावलजीले मलाई चुनौती दिनुभएको छैन । मप्रति उहाँले आदर, सम्मान, माया र स्नेह देखाउनुभएको छ । बढी खट्नुहुन्छ थकाइलाग्ने हो कि भनेर त्यसो भए म उठ्छु भन्नुभएको हो । यसलाई सकारात्मक रूपमा लिएको छु ।’

ओलीले अगाडि भने, ‘उहाँले कुनै चुनौती भन्नुभएको छैन । सुझाव दिनुभएको छ । उहाँको स्नेहपूर्ण सुझावबाट म प्रभावित छु । यो एक खालका मान्छेले मन पराउने सुझाव पनि छ । यसमा मैले सोच्ने कुरा छुट्टै छ, समय आएपछि निर्णय गर्छु ।’ एमालेबाट नेपालसहितको नेता बाहिरिँदा पार्टीमा विवाद अन्त्य भएको दाबीसमेत उनले गरे । आफू प्रतिपक्षमा पुगेर पार्टीलाई शुद्धीकरण र सुदृढीकरणको अवसर मिलेको उनले बताए । ओलीले पार्टीको दशौँ महाधिवेशनमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई पार्टीगत रूपमा निम्ता गर्न नमिलेकाले निम्ता नगरिएकोसमेत स्पष्ट पारे । ओलीले भने, ‘माधवकुमार नेपाललाई पार्टीका रूपमा निम्ता गर्न मिलेन । किनभने, हामीले उहाँलाई २५ साउनमा अनुशासनहीन क्रियाकलाप, लोकतन्त्रमा नसुहाउने पार्टी फुटाउने काम गरेको र त्यो देशको अहितमा रहेकाले कारबाही गरेर निष्कासन गरेका थियौँ ।’

सो कुराको जानकारी निर्वाचन आयोग र संसद् सचिवालयमा गराइएको अवस्थामा २ भदौमा अवैध रूपमा पार्टी गठन गरेकाले नेपाललाई बोलाउन जरुरी नभएको उनले बताए । उनले माधव नेपालको कुनै पार्टी नभएको पनि जिकिर गरे । कोभिडको समय भएकाले धेरै ठूलो सङ्ख्यामा विदेशी प्रतिनिधि भने महाधिवेशनमा सहभागी नहुने उनले बताए । देश बनाउने योजना तथा कार्यक्रम विधान महाधिवेशनबाट पारित भइसकेका कारण ती नीतिको कार्यान्वयनका लागि कस्तो नेतृत्वको टिम निर्माण गर्न उपयुक्त हुन्छ भन्ने विषयमा बन्दसत्र केन्द्रित रहने उनले बताए । दशौँ महाधिवेशनले मुख्य रूपमा पार्टीको नेतृत्व निर्माण गर्ने उनको भनाइ थियो । एमालेमा विभिन्न पार्टी तथा समूहबाट आएकाले विभिन्न पदमा उम्मेदवारी दिने घोषणा भइरहेका बेला अध्यक्ष ओलीले सबैजना बुझ्ने हुनुहुन्छ, एकताको सन्देश दिन आवश्यकताअनुसार उम्मेदवारी फिर्ता लिएर भए पनि सर्वसम्मत पदाधिकारी निर्वाचित गर्न सबैजना तयार हुने विश्वास व्यक्त गरे ।

लोकतन्त्रमा सर्वसम्मत नेतृत्व चयन गर्नु पनि एक विधि भएको बताउँदै उनले सर्वसम्मत हुन नसकेको अवस्थामा आन्तरिक लोकतन्त्रअनुसार प्रतिस्पर्धाबाटै अगाडि बढ्ने बताए । अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र)को महाधिवेशन झापामा गरेर देखाउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चुनौती दिए । प्रचण्डले चितवनमा महाधिवेशन गरेर एमालेले आफूलाई घेराबन्दी गरेको गुनासो गरेका बेला ओलीले कोही चुनाव लडेको छ भन्दैमा महाधिवेशन गर्नै नहुने कुरा स्वीकार्य नभएको स्पष्ट पारे । ‘महाधिवेशन कहाँ गर्ने समस्या होइन । रोल्पातिर गरौँ चुनाव लड्नुभएको छ । सिराहा गरौँ उहाँ लडेको छ । काठमाडौंमै गरौँ उहाँ चुनाव लडेको छ । चितवनमा गर्दा पनि उहाँ लडेको छ,’ ओलीले भने, ‘हामीले त आफ्नो पार्टीको अधिवेशन गरिरहेका हौँ । बरु म उहाँलाई झापा आउन आह्वान गर्छु । झापा आएर माओवादी अधिवेशन गर्नुस् ।’

कोही चुनाव कहीँबाट लडेको छ भन्दैमा महाधिवेशन गर्नै नहुने भन्ने मान्न नसकिने जिकिर ओलीले गरे । कार्यक्रममा एमाले सचिव योगेश भट्टराईले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको भन्दै उद्घाटन समारोहमा पाँच लाखभन्दा बढीको जनप्रदर्शन हुने बताए । एमालेको १०औँ महाधिवेशन मङ्सिर १०, ११ र १२ गते चितवनमा हुँदै छ । एमालेको प्रथम विधान महाधिवेशनले पारित गरेको नयाँ विधानको व्यवस्थाअनुसार दशौँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँचजना उपाध्यक्ष, महासचिव, उपमहासचिव र सातजना सचिव गरी १५ जना पदाधिकारीसहितको दुई सय २५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।

वरिष्ठ उपाध्यक्ष र महासचिवमा एक दर्जन नेता आकाङ्क्षी

महाधिवेशन नजिकिएसँगै पार्टीको प्रभावशाली पद वरिष्ठ उपाध्यक्ष र महासचिव पदका लागि नेता रणनीतिमा जुटका छन् । १०औँ महाधिवेशनमा महासचिवका पाँचजना दाबेदार देखिएका छन् । वर्तमान उपाध्यक्ष भीम रावलले अध्यक्षका लागि उम्मेदवारी घोषणा गरे पनि केपी शर्मा ओली नै अध्यक्ष बन्नेमा दुईमत छैन । तर, रावलको उम्मेदवारीले ओलीलाई सर्वसम्मत हुनबाट भने धक्का लागेको छ । उता अध्यक्षपछिको प्रभावशाली पद महासचिव को बन्छ भन्ने कार्यकर्तामा कुतूहल बढेको छ । दशौँ महाधिवेशनमा महासचिव बन्ने दौडमा विष्णु पौडेल, शंकर पोखरेल, घनश्याम भुसाल, पृथ्वी सुब्बा गुरुङ, सुरेन्द्र पाण्डेलगायत नाम चर्चामा छन् । अध्यक्ष ओली समूहबाटै पौडेल र पोखरेल महासचिवका बलियो दाबेदार हुन् । नवौँ महाधिवेशनमा उपमहासचिव हारेका पोखरेल अध्यक्ष ओलीका विश्वास पात्र मानिन्छन् ।
एमालेमा महासचिवका मुख्य दाबेदार मानिएका पौडेल तत्कालीन नेकपाको महासचिवको जिम्मेवारी पूरा गरिसकेका छन् ।

साथै, उपमहासचिव पौडेल सङ्गठन विभाग प्रमुख तथा दुईपटक अर्थमन्त्री र उपप्रधानमन्त्री भइसकेका नेता हुन् । ओलीनिकट मानिने नेता जसरी पनि एमाले महासचिव हुनुपर्ने रणनीतिमा लागेका छन् । ओलीनिकट पौडेल र पोखरेल दुवैलाई लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री पोखरेललाई ओलीको मात्रै नभई राष्ट्रपति विद्यादेवी भण्डारीको समेत समर्थन रहेको छ । जबजको व्याख्याता पोखरेललाई भण्डारीले भित्रभित्रै सहयोग गरिरहेको स्रोतको दाबी छ । आठौं महाधिवेशनसम्म पौडेल माधव नेपाल पक्षमा थिए । तर, नवौँ महाधिवेशनमा आइपुग्दा उनी ओली समूहबाट उपमहासचिव बनेका थिए । नेकपाको आन्तरिक विवादका समयमा ओली र पुष्पकमल दाहालसँग बराबरीजस्तै छलफलमा उनी जुटेका थिए ।

नेपालकै ठूलो, दुई तिहाइ जनमतसहित सत्ता सञ्चालनमा रहेको नेकपाको महासचिव बनेर सफल भूमिका निर्वाह गरेका पौडेल एमाले महासचिवको प्रबल दाबेदार हुन् । तर, साङ्गठनिक रूपमा बलियो भए पनि सैद्धान्तिक रूपमा जबजको व्याख्या गर्न पूर्ण नभएको भन्ने उनको आलोचना गर्नेको तर्क छ । पोखरेल पार्टीको नवौँ महाधिवेशनमा उपमहासचिवमा पराजित भए पनि उनी पार्टी राजनीतिको केन्द्रमै रहँदै आए । नवौँ महाधिवेशनमा दुई उपमहासचिवका लागि भएको निर्वाचनमा भुसाल र पौडेल विजयी हुँदा पोखरेल पराजित भएका थिए । पोखरेल एमालेको स्कुल विभागको उपप्रमुखसमेत बने । उनको प्रशिक्षण सधैँ जबजकेन्द्रित हुने भएकाले पार्टीका कार्यकर्ताले उनको प्रशिक्षण रुचाउने गरेको विश्लेषक बताउँछन् । जबजप्रति प्रतिबद्ध नेता भएकाले एमालेको आन्तरिक राजनीतिमा निर्णायक हस्तक्षेप गर्दै आएकी राष्ट्रपति भण्डारीले पनि पोखरेललाई साथ दिनेछिन् । यसैले पोखरेल महासचिव बन्न सक्ने उनको पक्षमा बोल्ने नेताको भनाइ छ ।

तर, पोखरेलका आलोचक पनि छन् । उनका आलोचकले माधव नेपाल समूह बाहिरिँदा आफ्नो क्षेत्रमा पार्टीलाई बलियो बनाउन नसकेको बताउँदै आएका छन् । साथै, मुख्यमन्त्री बन्दा पनि पार्टीभित्रको विवाद मिलाउन नसकेकाले पोखरेलले महासचिव चलाउन नसक्ने उनका आलोचनको तर्क छ । यस्तै, नवौँ महाधिवेशनमा पोखरेलसँग ६ मतले पराजित सुरेन्द्र पाण्डे लामो समय माधवकुमार नेपालसँग नजिक थिए । तर, एमालेबाट विभाजन हुने, समयमा पाण्डे पार्टी विभाजनको विपक्षमा उभिएर नेपाललाई साथ दिएनन् । अहिले उनी महासचिवका लागि तेस्रोपटक प्रयास गर्दै छन् । पाण्डे तत्कालीन नेकपाको महासचिव हुने अन्तिम तयारीमा रहे पनि ओलीले पौडेललाई रोजेका थिए । एमाले दुई समूहमा बाँडिएको समयमा नेपाल-खनाल पक्षबाट उनले महासचिवकै हैसियतमा काम गरेका थिए । यसपटक उनी अध्यक्ष ओलीलाई रिझाएर महासचिव बन्ने लाइनमा छन् । पाण्डेकै गृहजिल्लामा दशौँ महाधिवेशन गर्न लागेको एमालेले मूल व्यवस्थापन समितिको सहसंयोजकको जिम्मेवारी दिइएकाले उनलाई ओलीले केही न केही सङ्केत गरेको हुन सक्ने अनुमान गरिएको छ ।

यसैगरी, घनश्याम भुसालले समेत महासचिवका लागि तयारी गरेका छन् । उपमहासचिवको जिम्मेवारी पूरा गर्दै गरेका भुसालले १० भाइ समूहको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिने सङ्केत गरेका थिए । तर, भुसालले अहिलेसम्म कुन पदमा उम्मेदवारी दिने भन्ने विषयमा अलमलमा छन् । १० भाइ समूहबाट उपाध्यक्ष डा. भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेपछि भुसाल अहिले अलमलमा परेका हुन् । एमालेभित्र वैचारिक नेताका रूपमा चिनिने भुसाल लामो समय नेपाल समूहमा रहेर काम गरेका थिए । यता, एमाले सचिव रहेका पृथ्वी सुब्बा गुरुङले समेत महासचिवमा उम्मेदवारी दिने उद्घोष गरेका छन् ।

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री रहेका गुरुङ सर्वसम्मत महासचिव हुने रणनीतिमा रहेका छन् । ओलीनिकटका गुरुङ ओली समूहबाटै महासचिवको उम्मेदवार भएका पौडेल र पोखरेलसँग समेत आन्तरिक रूपमा प्रतिस्पर्धा गरिरहेका छन् । ओली समूहबाटै तीन नेताले महासचिवमा दाबदारी पेस गरेपछि अध्यक्ष ओलीलाई नेता व्यवस्थापनमा सकस परिरहेको छ । वरिष्ठ उपाध्यक्षमा ओली समूहबाट महासचिव ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ, अहिलेका उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र पूर्वमाओवादीबाट एमालेमा आएका स्थायी कमिटीका सदस्य रामबहादुर थापा आकाङ्क्षी छन् ।