समाज बदल्ने मानिसको हाइन्ड र माइन्ड हो राजनीतिक प्रणाली होइन

  • रामलाल श्रेष्ठ

नेपाली समाजमा एउटा अनौठो वहस सधैंभरी चलिरहन्छ । नेपालको विकास विगत ३० वर्षमा हुदै भएन । नेपाली समाज र नेपालको राजनीतिमा असन्तुष्टिका चाङ मात्र देखिन्छ । नेपाली राजनितीमा युवा पुस्ताको प्रवेश ढिला भयो जसको कारण समाज बदल्ने काम हुँदै भएन भन्ने जस्ता आवाज प्रशस्त सुनिन्छन् । नेपालको राजनीतिमा बुढा पुस्ताले केही गर्न पनि सकेन र युवा पुस्तालाई गर्न पनि दिंदैन भन्ने बहश ब्यापक देखिन्छ । नेपाली समाज रुपान्तरण हुदै भएन भन्ने बहश सर्वत्र चर्चा हुने गर्दछ । तर समाज रुपान्तरण कसरी हुन्छ भन्ने बहश कहीँकतै भईरहेको छैन । जताततै समाज बदल्ने, समाज रुपान्तरण गर्ने बहश मात्र हुन्छ तर समाज रुपान्तरण वा समाज बदल्ने विधीको बहश कतै हँुदैन । समाज बदल्ने तरिका के हो यस्तो बहश कतै भईरहेको देखिंदैन ।

समाज बदल्ने विधीको बहश किन हुँदैन ?
नेपाली समाज आधुनिक समाज हो भन्ने धेरैको धारणा छ । नेपाली समाज एक्काईसौं शताब्दीको समाज हो भन्ने धेरैको धारणा छ । आधुनिक समाज भनेको नयाँ समाज हो । नयाँ भनेको पुरानो समाज होइन । नयाँ बन्नको लागि पुरानो हट्नुपर्दछ । नयाँ कपडा लगाउन पुरानो कपडा फाल्नु वा कहीँकतै थन्काउन पर्दछ । यसको मतलव पुरानो कपडा नफाली वा नथन्काई नयाँ कपडा लगाउन सकिंदैन । ठिक यसैगरी आधुनिक समाज बनाउन पुरानो समाजलाई फाल्नु वा कतै थन्काउन पर्दछ । नेपाली समाजले पुराना चिजबिज के–के फाले वा थन्काए र नयाँ के–के चिज प्रयोग गरे भन्ने सरसर्ती हेर्नुपर्ने हुन्छ । नेपाली समाजले विगत पच्चिस वर्षभित्र के–के चिज फाले र के–के नयाँ चिज प्रयोग गर्न थाले भनेर हेर्नुपर्ने हुन्छ । पच्चिस वर्ष भनेको समाजको लागि एउटा पुस्ता हो । एउटा पुस्ता तयार गर्न समाजलाई पच्चिस वर्ष लाग्दछ । पच्चिस वर्षपछि कुनै पुरानो साथीलाई पहिलो चोटी भेट भयो भने ऊ पुरै बदलिसकेको हुन्छ । त्यस्तै पच्चिस वर्षपछि पुरानो स्थानमा आउँदा पुरै बदलिएको ठाउँ जस्तो हुनुपर्दछ । काठमाडौं या काठमाडौं बाहिरका पोखरा वा बिराटनगर वा बुटवल जस्ता शहरमा पच्चिस वर्ष पहिले पुगेको ब्यक्ति आज पुनः पुगेको छ भने ति ठाउँ पुरै बदलिएको देख्छ । आज भन्दा पच्चिस वर्ष अगाडीको पोखरा, काठमाडौं, बुटवल, बिराटनगर र सुर्खेत जस्ता शहरका ठाउँ बदलिएको देखिन्छ । तर पच्चिस वर्ष अगाडीका गाउँघर आज चिन्नै नसकिने गरी उजाड भएका छन् । पच्चिस वर्ष अगाडी एउटा ब्यक्ती भर्खर जन्मंदा जस्तो देखिन्छ पच्चिस वर्ष पछाडी त्यहीँ ब्यक्ति बिलकुल बदलिईसकेको हुन्छ । पच्चिस वर्षमा ब्यक्तिले आफ्नो जिवन निर्वाहको लागि गर्नुपर्ने कामको लागि आवश्यक माइन्ड र हाइन्डको क्षमताको विकास गरिसकेको हुन्छ । एउटा ब्यक्तिले पच्चिस वर्षभित्र जे जति माइन्ड र हाइन्डको क्षमताको विकास गर्न सक्यो बाँकी जीवन उसको जीवन निर्वाहको आधार बन्दछ । एउटा सहर वा गाउँ एउटा ब्यक्ति जस्तै एउटा जिवन हो जसको बदलिने नियमानुसार बदलिरहेको हुन्छ । के हाम्रा माइन्ड र हाइन्ड ब्यक्तिको वा शहरको भौतिक स्वरूप बदलिएको जसरी बदलिएको छ त ?

नेपाली समाजले विगत पच्चिस वर्षमा थुप्रै राजनीतिक परिवर्तन गरिसक्यो । आज भन्दा पच्चिस वर्ष अगाडी देशमा संबैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको प्रणाली थियो । त्यो समय काठमाडौंमा एक लाइन टेलिफोन लिन वर्ष दिन कुर्नुपर्ने स्थिति थियो । टेलिभिजनको दुनियाँमा नेपाली समाज भर्खर भर्खर प्रवेश गर्दै थियो । इन्टरनेट वा इमेल कुन चराको नाम हो नेपाली समाजलाई थाहा थिएन । मोवाइल फोनको आविष्कार भएकै थिएन । फेसबुक वा ट्युटर वा समाजिक सञ्जालको कुनै नाम निसान थिएन । आज पच्चिस वर्षभित्र नेपाली समाजभित्र यी सबै आधुनिक चिज नेपाली समाजले प्रयोग गरिरहेको छ । यस अर्थमा हामी आधुनिक हौं । यी चिजको प्रयोगले समाजलाई बदलिरहेको छ । आज सरकारीदेखी निजी अफिसमा कम्प्युटरको एउटा भाँडो नभएको कुनै अफिस हुदैन । नेपाली समाज बदलिरहेको छ । तर नेपाली समाज नपालीले बदल्यो वा नयाँ प्रविधिले बदल्यो ? नेपाली समाज बदलिरहेको छ तर यसको श्रेय नेपाली समाज र नेपालको राजनितीक प्रणालीलाई जाँदैन । अन्य देशले आविष्कार गरेको प्रविधीको कारण अरू देशको समाज जस्तै नेपाली समाज पनि बदलिएको छ । समाजलाई बदल्ने काम प्रविधीले मात्र सम्भव तुल्याईरहेको छ । यदी यो पच्चिस वर्षमा माथी उल्लेख गरिएका प्रविधीको आविष्कार नै नहँुदो हो त समाज पच्चिस वर्ष अगाडीकै स्थितिमा हुने थियो ।

आधुनिक समाज भनेको आधुनिक यन्त्रको सङ्ग्रह हो ?
समाज बदल्ने काम यन्त्रको प्रयोगले गर्दछ । समाजमा जति जति आधुनिक यन्त्रको प्रयोग बढ्दै गयो समाज त्यति–त्यती आधुनिकतातिर बदलिदै जान्छ । आज भन्दा पच्चिस वर्षअघि साथी भाई भेटघाट गर्न घरघर जाने चलन थियो । तर आजभोली घरमै बसी साथी भाईसँग सामाजिक सञ्जालमार्फत भेटघाट हुन्छ । मानिसको प्रत्यक्ष भेटघाट हुने क्रम घटदै गईरहेको छ । आधुनिक यन्त्रको प्रयोगले मानिसलाई मानिसबाट अलग्याईरहेको छ । घरभित्र पनि आजभोली सबै आ–आफ्नो मोवाईलमा ब्यस्त हुँदा एक आपसमा मानिस अलग्गीरहेको देखिन्छ । यो कुरा कार्लमाक्र्सले आज भन्दा १ सय ७५ वर्ष पहिले नै भनेका थिए । कसैले ध्यानै दिएन । आजपनि माक्र्सवादी दर्शन पुरानो दर्शन भनेर कम्युनिष्ट पार्टीलाई हेप्ने प्रचलन छ । बास्तवमा कार्लमाक्र्सले विज्ञानको विकासले प्रविधीको विकास हुन्छ । प्रविधीको विकासले यन्त्रको विकास गर्दछ । यन्त्रको निर्माण र प्रयोग बढ्दै जाँदा मानिसमा अलग्गीने प्रक्रियाको विकास हुन्छ । यो मानिसको सामाजिक स्वभावको उल्टो हुन्छ । आधुनिक यन्त्रको प्रयोगबाट मानिसलाई मानिसबाट अलग्गीने मोनोरोग लाग्दछ र जीवन निरस र उजाड हुन्छ ।

समाजलाई प्रविधीले बदल्छ राजनीतिक प्रणालीले बदल्दैन?
आजभोली हामीले प्रयोग गरिरहेका साराका सारा यन्त्र समाजबाट हटाई दिऊ त समाज कस्तो देखिएला ? हातमा घडी र मोबाइल छैन । घरमा पानी तान्ने पम्प छैन । साईकलदेखि मोटरसाईकल, मोटर गाडी र हवाईजहाज, पानी जहाज अनी रेल यातायातका सबै यन्त्र हटाउँदै भान्सामा प्रयोग हुने फ्रिजदेखि सबै यान्त्रिक उपकरण बिना मानिस मात्रको समाजमा पुग्ने हो भने सबै समाज यन्त्रबिहिन अवस्थामा पुग्ने छ । मानिसलाई आफ्नो जीवन निर्वाह गर्न अर्को मानिसको आवश्यकता पर्दछ । एउटा मानिसलाई बल्ल अर्को मानिसको आवश्यकता महशुस हुन्छ । एउटा मानिसलाई आवश्यक पर्ने चिज या त आफै निर्माण गर नभए अर्को ब्यक्तिको सहयोगबाट त्यो चिज प्राप्त गर । आधुनिक समाज यान्त्रिक समाज हो भने पुरानो समाज यन्त्रबिहिन समाज हो ।

यन्त्र निर्माणको इतिहास कस्तो छ त?
प्रत्येक २५/२५ वर्षको इतिहास केलाउने हो र समाजलाई आज भन्दा पहिलेको समयमा पुगेर हेर्दा बल्ल समाज बदलिरहेको देखिन्छ । आज भन्दा पच्चिस वर्ष पहिलेको नेपाली समाज हेर्दा अर्कै देखिन्छ । कहिले काँही समाजिक सञ्जालमा पचास वा सय वर्ष पहिलेको काठमाडौं वा पोखरा वा विराटनगरका विभिन्न स्थानका फोटो हेर्दा समाज बदलिएको स्पष्ट नै देखिन्छ । जति–जति समय पछाडी हेर्दै जाँदा यन्त्रको सङ्ग्रह कम हुदै गएको देखिन्छ । वि.सं.१९७८ सालमा पुग्ने हो भने नेपाली समाज पुरै यन्त्रबिहिन समाज थियो । जम्मा–जम्मी यन्त्रको नाममा साईकल, घडी र रेडियो बाहेक नेपाली समाजमा कुनै यन्त्रको प्रयोग थिएन । मानव समाजलाई बदल्ने काम यन्त्रको निर्माणले गर्दछ भन्ने चिन्तन नै माक्र्सवादी दर्शन हो । मानव समाजको इतिहास भनेको यन्त्र निर्माणको इतिहास हो भन्ने कार्लमाक्र्स नै हुन् । आज भन्दा तिन शताब्दी अगाडी पृथ्वीको कुनै पनि मानव समाजमा यन्त्रको उपस्थिती नै थिएन । सन् १७२२ तिर समाज यन्त्रबिहिन थियो । यो भनेको वि.सं.१७७९ हो । यो समय नेपालमा पृथ्वीनारायण शाहको जन्म भएको वर्ष हो । उता लन्डनमा आडम स्मिथ र जर्मनीमा इम्यायुल कान्टको जन्म भएको वर्ष हो । विगत तिनसय वर्षमा पृथ्वीका मानवले पृथ्वीलाई यान्त्रिक पृथ्वीमा बदलिसके । आजको मानवको इतिहास सत्तरी हजार वर्षको इतिहासमा यो तिनसय वर्ष यान्त्रिक पृथ्वी निर्माणको समय भन्दा हुन्छ ।

नेपाली समाजको यन्त्र निर्माणको इतिहास कस्तो छ त ?
नेपाली समाज यन्त्र निर्माणको इतिहासमा प्रवेश गरेकै छैन । नेपाली समाजलाई धर्ती स्वयम् यान्त्रिक हो भन्ने नै थाहा छैन । समाज यान्त्रिक समाजमा प्रवेश गर्न यो जीवन र जगत स्वयम् यान्त्रिक हो भन्ने जान्नु जरुरी हुन्छ । पश्चिमा समाजले पन्ध्रौ सताब्दीतिर नै धर्ती आफै यन्त्र हो भन्ने कुरा समाजलाई गणित र विज्ञानको भाषामा बुझाउँदै लगे । यसमा सबैभन्दा पहिलो काम ज्ञालिलियोले गरे । त्यो भन्दा अगाडी धर्ती यन्त्र हो भन्ने कोपरनिकस थिए । १६८७ मा न्युटनले धर्ती यन्त्र हो भन्ने प्रमाणित गरिदिए । नेपाली समाजमा धर्ती यन्त्र हो भन्ने कोही छैन । जब धर्ती यन्त्र हो भन्ने मानिसले जान्दछ, तब मात्र मानिसले मानव शरीर पनि यन्त्र हो भन्ने बुझ्दछ । मानव शरीर यन्त्र हो भन्ने बुझाई त धर्ती यन्त्र हो भन्ने बुझाईपछि मात्र विकसित भएको हो । नेपाली समाजमा धर्ती यान्त्रिक रुपले नियमभित्र बसेर सञ्चालन भईरहेको छ भन्ने ज्ञान नै छैन । नेपाली समाजमा यान्त्रिक आविष्कार र निर्माण नहुनुमा यान्त्रिक जगतको अनुभूति नहँुदा नै हो ।

यन्त्र आविष्कारमा माइन्ड र हाइन्डको अन्तरसम्बन्ध
जब न्यूटनले पृथ्वी यान्त्रिक बस्तु हो भन्ने प्रमाणित गरे त्यसपछि मानव शरीर पनि यान्त्रिक नै हो भन्ने बारेमा खोजतलास शुरु भयो । इङ्ल्याण्डका थोमस हब्स ज्ञालिलियोका समकक्षी नै थिए । न्यूटन भन्दा अघिल्लो पुस्ताका थिए । मानव शरीर यन्त्र हो र यसले स्वचालित यन्त्रझैं काम गर्दछ भन्ने मान्यता स्थापित गरीदिए । सन् १६५१ ताका जतिखेर अग्रेज १० वर्षे गृहयुद्ध समाप्त गर्दै थिए ठिक त्यहीँ समय थोमस हब्स यान्त्रिक मानवको मान्यता अगाडी सार्दै थिए । यसको १ सय ७० वर्षपछि सन् १८१८ ताका जर्मनीमा कार्लमाक्र्स जन्मदै गर्दा ब्रह्माण्ड पुरै र धर्ती यान्त्रिक हो भन्ने मान्यता हेगेलले अगाडी सारे । धर्तीको पहिलो बस्तु म्याटरले बिस्तारै–बिस्तारै स्वचालित यन्त्रको जस्तो विभिन्न भौतिक बस्तुको निर्माण गर्दै वनस्पती र जिवको निर्माण गर्दै अन्तमा मानिसको निर्माण गर्ने दर्शन डाइलेक्टिकल गतिको आविष्कार गरे । मानिस यो धर्तीको पछिल्लो निर्माण हो । यो नै यसको अन्तिम तह हो । यसपछि यो धर्तीको निर्माणको जिम्मा मानिसको हात र माइन्डले गर्दछ । जसरी धर्तीले मानिसको निर्माण डाइलेक्टिकल गतिमा गरेको थियो ठिक त्यहीँ नियमभित्र बसेर मानिसले बाँकी निर्माणको काम गर्दै जानेछ । हेगेलको यही नियमभित्र टेक्दै कार्लमाक्र्सले सन् १८४६ तिर यो धर्तीको निर्माण मानिसको हातले गर्दै आएको र आगामी दिनमा पनि यो धर्तीको निर्माणमा मानवको हातले र मानवको माइन्डले गर्दै जाने मान्यता अगाडी सारे । कार्लमाक्र्सले अबको मानव समाज यन्त्रको सङ्ग्रह हुने र यन्त्रको निर्माण सँगसँगै समाजलाई यहीँ यन्त्रले बदल्ने छ भन्ने दर्शन अगाडी सारे । यसरी समाज यन्त्रले बदल्छ । यन्त्रको बदल्ने काम मानिसको हाइन्ड र माइन्डले गर्दछ । यहीँ दर्शनको नाम हो डाइलेक्टिकल मेटेरिलिज्म ।