जनकपुरको विवाह पञ्चमी मार्गशुक्लमा


  • आचार्य बासुदेव नेपाल

मार्गशुक्ल पञ्चमीलाई विवाहपञ्चमी भनिन्छ । अघि त्रेता युगमा अयोध्या नगरीमा राजा दशरथ राज्य गर्दथें । उनका राम, भरत, लक्ष्मण र शत्रुधन समेत चारभाई छोरा थिए । त्यसबेला विश्वामित्र ऋषि वनमा तपस्या गर्दथें । उनका आश्रममा सुबाहु, मारीच आदि धेरै–धेरै दुष्ट राक्षसले ऋषीको तपस्यामा विघ्न पार्दथें । राक्षसबाट आजित भएका विश्वामित्र ऋषिले राजा दशरथका दरबारमा गएर मेरो आश्रमको सुरक्षार्थ राम र लक्ष्मणलाई खटाई दिन आग्रह गरे । ऋषिको आग्रहलाई स्वीकार गरेर राजा दशरथले राम र लक्ष्मणलाई ऋषिका साथ पठाई दिए । ऋषि प्रसन्न भएर राम र लक्ष्मणलाई लिएर गए । बाटामा राम र लक्ष्मणलाई ‘‘बला’’ र ‘‘अतिबला’’ नामका दुई विद्याको उपदेश गरे । जुन विद्याका प्रभावले भोक तिर्खाबाट पिडित हुनुपर्दैनथ्याें । त्यस विद्याका प्रभावले राम र लक्ष्मणले पनि विश्वामित्रका तपोवनमा गएर धेरैधेरै राक्षस मारेर आश्रमलाई सुरक्षित बनाई दिए । यस कामबाट विश्वामित्र ऋषि प्रसन्न भएर भने, बाबु हो ! अब तिमीहरूलाई म अयोध्या पु¥याईदिन्छु, तर जनकपुरको बाटो गरेर लैजान्छु, किन भने अहिले जनकपुरमा जनकवंशी राजा शिरध्वजले राज्य गर्दैछन् । उनका राज्यमा शिवजीको बडोमाको धनु राखिएको छ । क्षत्रियले त्यस धनुको दर्शन गर्नु राम्रो हुन्छ भनेर विश्वामित्र राम र लक्ष्मणसहित जनकपुरतिर लागे ।

केही वर्षअघि राजा जनकले यज्ञभूमी निर्माण गर्ने सिलसिलामा हलाले भूमि जोध्दा हलोका सियोबाट यौटी दिब्य कन्या उत्पत्ति भएकी थिइन् । हलोका सियोबाट उत्पत्ति भएकी हुँदा तिनको नाम सीता राखिएको थियो । किन कि ! हलोका सियोलाई सीता भनिन्छ, त्यसैले ती कन्याको नाम पनि सीता राखिएको हो । राजा जनकले तिनलाई छोरी बनाएर राम्रोसँग पालन पोषण गरेर राखेका थिए । त्यसैले शुक्लपक्षका चन्द्रमाको कला बढेझैं सीताजी बढेर ६ वर्षका उमेरमा नै यौवना जस्तै हुनुभएको थियो । त्यसबेला सीता त्यो धनुलाई उठाउन सक्नुहुन्थ्यों । त्यसैले राजा जनकले यौटा शर्त राखेका थिए, त्यो के हो भने ‘‘जसले यो शिव धनुलाई उठाएर यसमा ताँदो चढाउँछ, त्यसैका साथमा सीताले स्वयम्वर गर्नेछन्’’ भनेर स्वयम्वर सभाको आयोजना गरेका थिए । अनि त्यस स्वयम्वर सभामा विभिन्न देशबाट राजा महाराजा र राजकुमार उपस्थित भएका थिए । राजा दशरथ पनि भरत र शत्रुधनलाई समेत लिएर उपस्थित भएका थिए । जब राम र लक्ष्मणलाई लिएर विश्वामित्र ऋषि जनकपुर पुगे, त्यसबेला रामलाई देखेर सबै नरनारी आकर्षित र अत्यन्त आनन्दित भए । सीताजी पनि रामलाई देखेर उहाँप्रति ज्यादै आकर्षित हुनुभयो । तर भएर के गर्नु र ? बाबाले राखेको शर्तप्रति चित्त दुखाएर खेद ब्यक्त गर्दै सखीका साथमा सीताजीले यस्तो भन्नुभयो, ‘‘कर्मठपृष्ठ कठोरमिदं धनुर्मधुर मूर्तिरसौ रघुनन्दनः। कथमधिज्यमनेन विधीयतामहह !! तातपणस्तव दारुणः।।’’
अर्थात् कर्म अर्थात् कछुवाको पिठ्युँ जस्तो कठोर यो धनु छ, रघुवंशी राजकुमार राम भने ज्यादै मधुर र ज्यादै कोमल शरीर भएका हुनुहुन्छ । त्यस्तो कोमल शरीर भएका रामले यस्तो कठोर एवं कडा धनुलाई उठाएर ताँदो चढाउन कसरी सक्नु होला र ? हे पिताजी तपाईले ज्यादै कठोर शर्त राख्नुभयो । भनेर रामसँग विवाह गर्न नपाइने हो कि ! भनेर ज्यादै पिर गर्नुभएको थियो । सीताको स्वयम्वरको आयोजना भएको थियो । विभिन्न राजा महाराजा र राजकुमार धनु उठाउन प्रयत्नमा लागे । कसैले सकेनन् । लङ्काधिपति रावणले बल्लतल्ल धनु उठाए, तर धनुलाई थाम्न नसकेर त्यसै धनुद्वारा आफैं किचिएर निस्कन सकेनन् । किचिएका रावणलाई उद्धार गर्न सक्ने कोही पुरुष नदेखी रावणको त्यस्तो दुर्दशा देखेर राजा जनकले भने, यस सभामा त्यस्तो विर क्षत्रिय कोही छैन ? जसले मरणासन्न रावणको रक्षा गर्न सक्छ ? राजा जनकका यस्ता कुरा सुनेर रामले विश्वामित्र गुरुको आज्ञा लिई त्यस धनुलाई उचालेर रावणको बचाऊ गर्नुभयो । अनि सबै राजा राजकुमारले धनु उठाउन प्रयत्न गर्न थाले, कसैले पनि नसकेपछि फेरी गुरुको आज्ञा लिएर रामचन्द्रले शिव धनुलाई प्रदक्षिणा गरी ‘‘ॐ नमः शिवाय’’ भन्दै धनुलाई जुरुक्क उठाउनुभयो र त्यसमा ताँदो चढाउन खोज्दा धनु आकाश – पृथिवी थर्काउँदै बड्याङ्ग भाँचियो । यो शब्द सुन्दा सबैको सातो गयो । स्वयम्वर गर्न लुगाफाटो गहनागुरिया लगाएर सजिसजाउ भएकी सीताजीले पनि यो शब्द सुन्नुभयो । अनि कसले धनु उठाएछ त ! जसले उठाएको भएपनि बाबाको शर्तअनुसार मैले त्यसैलाई नै स्वयंवर गर्नैपर्छ, कोमल र सुन्दर शरीर भएका रामले त्यो धनु उठाउन सक्ने कुरै भएन । त्यस्ता लोकोत्तर रूपलावण्य भएका रामसँग विवाह गर्न पाइने भएन, भन्दै चित्त खिन्न पार्दै स्वयम्वरको माला हातमा लिएर स्वयम्वर सभामा सीताजी प्रवेश गर्दा त रामचन्द्रले नै पो त्यो धनु भाँच्नुभएको रहेछ भन्ने थाहा भयो । अनि ता सीताजीको खुशीयालीको सीमा नै रहेन । अनि ज्यादै प्रशन्न भएर श्रीरामचन्द्रका गलामा स्वयम्वरको वरमाला पहिराउनु भयो । अनि राजा जनकले रामचन्द्रका साथमा सीताको विवाह गरिदिनुभयो भने राजा जनकका भाईका छोरी श्रुतकिर्ती, उर्मिला र माण्डवीसँग भरत, लक्ष्मण र शत्रुधनको समेत विवाह भयो । त्यो विवाह गरेको दिन मार्गशुक्ल पञ्चमीको दिन भएको हुँदा मार्गशुक्ल पञ्चमीलाई सीता विवाहपञ्चमी भनिएको हो । यस दिन सीता र रामको पुजा आराधना गरेमा ठूलो पुण्य लाभ हुन्छ । यसदिन जनकपुरमा रहेको रामजानकी मन्दिरमा ठूलो उत्सव गरी सीता र रामको आराधना गरिन्छ । सीता र रामको आराधना गरौँ, हाम्रो कल्याण हुन्छ ।

श्रोत : तोयराज नेपाल
ॐ श्री सीताराम चन्द्राभ्यां नमः।।
द्वारपाल देवीघाट, नुवाकोट