४० वर्षमा ५० प्रतिशत जनसंख्या बृद्धि


  • सरस्वती न्यौपाने

रसुवा, हिमाली जिल्ला रसुवाको जनसंख्या ४० वर्षमा ५० प्रतिशत थपिएको छ । जिल्लाको जनसंख्या २०३८ मा ३० हजार २ सय ४१ रहेकोमा २०७८ मा बृद्धि भएर ४५ हजार ५ सय ५४ पुगेको छ । २०३८ को भन्दा २०७८ मा १५ हजार ३ सय ९३ जनसंख्या बढेको छ ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्याङ्कअनुसार रसुवाको जनसंख्या ४५ हजार ५ सय ५४ जनसंख्या रहेको छ । जनगणनाको तथ्याङ्कअनुसार २२ हजार ८ सय ५९ पुरूष र २२ हजार ६ सय ९५ महिला रहेका छन् । २०६८ को औसत जनसंख्या बृद्धिमा माईनस् ० दशमलव ३ प्रतिशत थियोे भने त्यसको दश वर्षको अन्तरालमा जनसंख्या बृद्धिदर ० दशमलव ००४८ रहेको छ । जिल्ला जनगणना कार्यालय रसुवाका प्रमुख कपिल धितालका अनुसार गोसाइँकुण्ड गाउँपालिकामा ८ हजार ४३, नौकुण्ड गाउँपालिकामा १२ हजार ९५, उतरगया गाउँपालिकामा ८ हजार ५ सय ७१, आमाछोदिङ्मो गाउँपालिकामा ६ हजार ६ सय ७३ र कालिका गाउँपालिकामा १० हजार १ सय ७२ जनसंख्या रहेको छ भने छुटफुट भएमा तथ्याङ्क हेरफेर हुन सक्ने बताईएको छ । २०३८ सालमा ३० हजार २ सय ४१, २०४८ सालमा ३६ हजार ७ सय ४४, २०५८ सालमा ४४ हजार ७ सय ३१, २०६८ सालमा ४३ हजार ३ सय र २०७८ मा ४५ हजार ५ सय ५४ पुगेको छ । रसुवामा राष्ट्रिय जनगणना २०७८ कार्तिक २५ देखि मंसिर ९ गतेसम्म सञ्चालित थियो । तथ्याङ्कअनुसार अघिल्ला वर्षमा भन्दा यस वर्ष जनसंख्या वढेको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनु भयो ।