हाम्रा कुरा: चिसोले कसैको ज्यान नजाओस्

  • त्रिशूली प्रवाह
  • ९ पुष २०७८, शुक्रबार ०७:३०

पुसको ठण्डी सर्वसाधारण निमुखा जनताका लागि ज्यान जोगाउन मुस्किल परिरहेको छ । चिसोको कारण तराई, पहाड र हिमाली क्षेत्रका हुदाँखाने जनता पुस-माघ महिना कटाउन थरथरी कामिरहेका छन् । चिसो बढेसँगै नयाँ भेरियन्ट भनिएको ओमिक्रोन कोरोना सङ्क्रमणले महामारी निम्त्याउने हो कि भन्ने चिन्ता थपिएको छ । चिसोमा कोरोना सङ्क्रमण फैलिने भएकोले थप सतर्कता अपनाउन जरुरी छ । त्यसै पनि चिसो मौसम भएकाले हिमाली जिल्लामा हिमपात, तराईमा शीतलहर र हुस्सु लागेर बढी जाडो हुन्छ । चिसोको कारण कठ्याङ्ग्रिएर बर्सेनि मानिसको मृत्युसमेत हुने गरेको छ । जाडोमा जनता काप्दै मृत्यु कुर्नुपर्ने अवस्था लोकतान्त्रिक सरकारका लागि शोभनीय हुन सक्दैन ।

बढी जनघनत्व रहेको तराई क्षेत्र जहाँ प्रतिव्यक्ति आय कम भएका मानिस बढी छन् । त्यहाँको वासस्थान, लुगाफाटा र चालचलन गर्मीसँग जुध्ने खालको छ । चिसो महिना लागेसँगै हुुँदा खाने र हुनेखानेबीचको फरक देखिन थाल्छ । चिसोले मर्ने, दुःख पाउने भनेकै हुँदा खाने नै हुन् । गर्मी र तातोसँग मानिस जति अनुकूल बन्न सक्छ चिसोसँग सक्दैन । चिसोले शरीरको अवस्था कमजोरी भएका, सडक बालबालिका, घरबारविहीन, विस्थापित र मजदुरलगायतलाई निमोनिया, रुघाखोकी र श्वासप्रश्वास बढ्ने सम्भावना अधिक हुन्छ । चिसोले मुटु र मस्तिष्कमा समेत असर पु¥याउने भएकाले त्यसबाट हृदयाघातको सम्भावना पनि बढी हुन्छ । अकालमा कसैको ज्यान जान दिनुहुँदैन, त्यसैले हिमाली जिल्ला र तराईका जिल्लालाई सरकारले स्थानीय निकाय र स्थानीय प्रशासनसँग समन्वय गरेर सहयोग र राहत वितरणका साथसाथै रोकथाम र सतर्कता अपनाउनु आवश्यक छ । चिसो बढेसँगै कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनको मानिसमा त्रास बढ्दो छ । ओमिक्रोनमा चिसो थप कारक हुन सक्ने विज्ञहरूले चेतावनी दिइरहेका छन् । त्यसैले चिसोबाट बच्नुको साथै स्वास्थ्य मापदण्ड पालनामा सबै सजग हुनुपर्छ, चुक्नुहुन्न । मङ्सिर महिनाभरि राजनीतिक दलको अधिवेशनको गतिविधि र भोज, व्यावसायिक एवम् धार्मिक मेला, विवाहलगायतका उत्सवमा सामाजिक दूरी र जनस्वास्थ्यको मापदण्ड पालना गरेको पाइएन । यसले कोरोनाको सङ्क्रमण बढ्न सक्नेतर्फ विज्ञहरूले इङ्गित गर्दा पनि जिम्मेवार निकायको ध्यान गएन । अब त्यस्तो नहोस् । हामी जनता पनि सजग र सतर्क भएर दैनिक कामकाज गरौँ । जनस्वास्थ्यका मापदण्ड उल्लङ्घन गर्दा कोरोनाको तेु्रो लहर ननिम्तियोस् । सरकारको निर्देशनभन्दा पनि तपाईं–हामी सबै सचेत हुँदै समय–समयमा हातधुने, कुनै सामान छुँदा स्यानिटाइजरको प्रयोग र निरन्तर माक्सको उचित प्रयोग गरौँ । चिसो र कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको कारण कसैको ज्यान नजाओस् ।