प्याब्सन नुवाकोट अध्यक्षमा कार्की

विदुर/ निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नुवाकोटको शनिबार सम्पन्न सातौँ जिल्ला अधिवेशनले सुभेनियर बोर्डिङ स्कुल बट्टारका प्रिन्सिपल ताराबहादुर कार्कीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

विदुरको होटेल सनसाइनमा भर्चुअल माध्यमबाट सम्पन्न अधिवेशनको उद्घाटन प्याब्सनका केन्द्रीय अध्यक्ष टीकाराम पुरीले गरेका थिए । उनले सो अवसरमा विभेदपुर्ण ४५ प्रतिशत आरक्षण छात्रवृत्तिको पूर्ण खारेजी तथा प्राविधिक तथा व्यावसायिक शिक्षमा निजी क्षेत्रको पहुँचको सुनिश्चितताको माग गरे । सो कार्यक्रमलाई नुवाकोट प्याब्सनको पूर्वजिल्ला अध्यक्ष ठाकुर पुडासैनी, रामहरि रिमाल, विजय श्रेष्ठ निवर्तमान अध्यक्ष प्रकाश कुइँकेल प्याब्सन विदुर नगर समितिका अध्यक्ष गगनकल्याण प्रधान र सल्लाहकार सुरेन्द्रराज अधिकारीलगायतले सम्बोधन गरेका थिए । सम्पन्न सातौँ जिल्ला अधिवेशनले रजनी कार्कीलाई उपाध्यक्षमा, पुरुषोत्तम अधिकारीलाई सचिवमा, रामजी भट्टलाई कोषाध्यक्षमा निर्वाचित गरेको छ । जिल्ला कार्यसमितिको पदाधिकारीसहित नौजना सदस्य निर्वाचित गरेको छ । प्याब्सनको ७३ वटै जिल्लाको अधिवेशन पुस ३ गते शनिबार एकैदिन सम्पन्न भएको छ ।