हाम्रा कुरा: काङ्ग्रेस सभापति देउवाको परीक्षा सुरु

  • त्रिशूली प्रवाह
  • १८ पुष २०७८, आईतवार ०८:२६

नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशन नेतृत्व चयन गर्दै गत हप्ता सम्पन्न भएको छ । नेपालको प्रजातान्त्रिक इतिहासमा लामो एवम् अग्रणी भूमिका निर्वाह गरेको पुरानो पार्टी नेपाली काङ्ग्रेस हो । यो पुरानो ऐतिहासिक पार्टीको सभापतिमा दुईपटक पराजित हुँदै दुईपटक विजय भएर दोस्रो कार्यकालको नेतृत्व समालेका छन् ।

काङ्ग्रेसले आफ्नो स्थापनाको सात दशक अवधिमा १४औँ पटक महाधिवेशन गरेको छ । बहुदलीय प्रजातन्त्रको सौन्दर्य आवधिक निर्वाचन, स्वच्छ प्रतिस्पर्धाको आधारमा आन्तरिक प्रजातान्त्रिक अभ्यास नै हो । प्रत्येक चार वर्षमा सम्पन्न हुनुपर्ने अधिवेशन कोरोना महामारीलगायत परिस्थितिजन्य कारणले डेढ वर्षपछि सम्पन्न भएको छ । यसपटकको निर्वाचनबाट शेरबहादुर देउवा शक्तिशाली र झन् बलिया देखिएका छन् । महाधिवेशनमार्फत एक सय ३४ पदका लागि भएको निर्वाचनमा देउवा पक्षका दुईतिहाइभन्दा बढी पदाधिकारी र सदस्य निर्वाचित भएका छन् । निर्वाचनमा जितहार हुनु स्वाभाविक हो । नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधिले अनुभव, परिपक्वता तथा समन्वयकारी भूमिका निर्वाह गर्न सक्षम देउवालाई नै यसपटक फेरि पार्टीको भविष्य सुम्पेका छन् । आठ लाखभन्दा बढी क्रियाशील सदस्य रहेका र मुलुकभर झाँगिएको पार्टी सञ्चालन गर्न विगतमा कमी–कमजोरी भएका हुन सक्छन्, यसमा कसैले पनि तुष पालेर बस्नु उपयुक्त हुँदैन । विगतका कमी–कमजोरीलाई हटाउँदै अब नेपाली काङ्ग्रेसलाई महाधिवेशनको नारा एवम् भावनाअनुरूप रूपान्तरणको जिम्मा देउवाको काँधमा आएको छ । अब केही समयपछि मुलुकमा तिनै तहका निर्वाचन हुँदै छ । निर्वाचनलाई निष्पक्ष तथा शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्ने एवम् पार्टीगत दृष्टिकोणबाट नेपाली काङ्ग्रेसको प्रमुखका हैसियतमा आफ्नो पार्टीलाई विजयी गराउने दायित्व देउवामा छ । यसका लागि पार्टीमा देखिएका वा देखिन सक्ने मतभेदलाई हटाएर नयाँ ऊर्जा एवम् सोचका साथ एक ढिक्का बनाएर सुदृढ पार्टी बनाउने जिम्मा पनि सभापति देउवाको काँधमा छ । महान् राजनीतिज्ञ बिपी कोइरालाको छत्रछायामा राजनीतिक शिक्षादीक्षाको अवसर प्राप्त गर्नुभएका देउवाले आफ्नो उपयुक्त टिमसहित यो अभिभारा सम्पन्न गर्न सक्छन् । यसमा कुनै द्विविधा राख्नु उपयुक्त हुँदैन । नेपाली काङ्ग्रेसको विधानअनुरूप देउवाका लागि सभापतिको कार्यभार सम्हाल्ने यो अन्तिम मौका मात्र नभएर नयाँ पुस्तालाई सुदृढ एवम् सङ्गठित पार्टी सुम्पने एउटा महत्वपूर्ण अवसर पनि हो ।

सुदूरपश्चिमबाट उच्च शिक्षा अध्ययनका लागि राजधानी छिरेर राष्ट्रिय राजनीतिक अनेक उतार–चढाव झेल्दै आदर्शमा दृढ भई अगाडि बढ्दा पाँचपटक प्रधानमन्त्री भएर महत्वपूर्ण भूमिका खेलिरहनुभएका देउवा आफ्ना पार्टी र प्रतिस्पर्धी पार्टी नेता÷कार्यकर्तामाझ स्पष्टवादी, मिलनसार, समन्वयकारी, सहयोगी एवम् पूर्ण रूपमा प्रजातान्त्रिक संस्कारले निपुण राजनीतिज्ञको कोटीमा पर्नुहुन्छ । उहाँले पाँचौँपटक मुलुकको प्रमुख कार्यकारीको समेत भूमिका निर्वाह गरिरहनुभएका यस्ता अनुभवी एवम् परिपक्व नेताको नेतृत्वमा मुलुकमा विकास तथा स्थायित्वले गति पाउनु मुलुक र लोकतन्त्रको हितमा हुनेछ । काङ्ग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो प्यानलबाट हारेका विजय गच्छदार, प्रकाशशरण महतको सल्लाह लिएर पार्टी र सरकार हाँक्छन् कि महाधिवेशनबाट अधिकांश प्रतिनिधिले जिताएका धनबहादुर गुरुङ, गगन थापा र विश्वप्रकाशसँग सल्लाह लिएर ? के महाधिवेशनको म्यान्डेटअनुसार देउवाले आफूलाई रूपान्तरण गर्न सक्लान् वा पुरानै तरिकाले आफूलाई बढाउलान् ? सर्वत्र चासोको विषय बनेको छ । महाधिवेशनले अधिकांश पदमा नयाँ नेतृत्व चुनेर पठाएको छ । यसैले अबको काङ्ग्रेस हिजोको जस्तो अकर्मण्य हुनु भएन । काम देखाउने बेला आएको छ । नयाँ मतदातालाई आकर्षित गर्ने बेला आएको छ । नयाँ जोस–जाँगरका साथ नयाँ सोच र कार्यक्रम पनि चाहिन्छ । त्यसका लागि पहिलो सर्त हो, गुट–उपगुटको अन्त र एकीकृत काङ्ग्रेस बनाउने सङ्कल्प । महाधिवेशन प्रतिनिधिले दिएको जनादेशअनुसार काङ्ग्रेस अगाडि बढ्न सके मात्र सफलता पाउन सक्छ । होइन भने उही गुट–उपगुटको राजनीतिले काङ्ग्रेसलाई सखाप पार्छ । देउवाले अब लिने हरेक निर्णय नवनिर्वाचित पदाधिकारीको सल्लाहबाट हुनुपर्छ । विभाग कसरी बनाउने ? केन्द्रीय सदस्यमा कुन आधारमा बाँकी सदस्य मनोनयन गर्ने भन्नेबारे छलफल सुरु गर्नुपर्छ । अब देउवाले पदाधिकारी र पूर्वपदाधिकारी भन्दै केवल ३२ जनाबाट सल्लाह लिने परम्परा बन्द गर्नुपर्छ । विगत पाँच महिनामा देउवा सरकारले उल्लेखनीय विकासका काम देखाउन सकेको छैन । यस्तै तालले अघि बढे आगामी आमचुनाव काङ्ग्रेसका लागि प्रत्युत्पादक बन्नेछ । भोटबैंक बढाउने हो भने जनताले देखिने र महसुस गर्ने विकासका काम धमाधम सुरु गरिहाल्नुपर्छ ।