रसुवा भन्सारको राजस्व लक्ष्यभन्दा बढी

  • त्रिशूली प्रवाह
  • १८ पुष २०७८, आईतवार ०८:३७

रसुवागढी: चीनबाट आयात गरिएका सामान नेपाल भित्रिने क्रम बढेसँगै रसुवा भन्सार कार्यालय टिमुरेले मङ्सिरमा लक्ष्यभन्दा ८८ प्रतिशत बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । प्रमुख रामप्रसाद मैनालीका अनुसार मङ्सिरमा कार्यालयले ५४ करोड ७१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । तर, कार्यालयले एक अर्ब तीन करोड राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले गत वर्षको मङ्सिरमा ३६ करोड ९८ लाख राजस्व सङ्कलन गरेको थियो । गत वर्षको तुलनामा यो वर्ष ६६ करोड आठ लाख ८९ हजार बढी हो । रसुवा भन्सार कार्यालयले निकासी, पैठारी, महसुल, सेवाशुल्क, कृषि सुधार, अन्तःशुल्क, भ्याटलगायतका शुल्कबापत भन्सार असुली गरिरहेको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण चीनसँगको अन्तर्राष्ट्रिय व्यापार प्रभावित भएको दुई वर्ष पुगेको छ । यसको असर भन्सार राजस्व सङ्कलनमा पनि देखिएको छ । रसुवा भन्सार कार्यालयको गत वर्ष वार्षिक लक्ष्यको आधा पनि राजस्व सङ्कलन गर्न सकेको थिएन । चीनको केरुङबाट रसुवागढी नाका हुँदै अहिले नेपालमा भित्रिने रेडिमेड कपडा, इलेक्ट्रोनिकलगायतका सामग्री भित्रिने गरेको छ भने नेपालबाट केरुङतर्फ हस्तकलाका सामग्री जाने भए पनि कोरोना सङ्क्रमण सुरु भएयता चीनले एकतर्फी मात्र नाका खुला गरेसँगै नेपालबाट हुने निर्यात दुई वर्षदेखि ठप्प छ । कोरोनाको कारण ०७६ माघ १५ देखि ०७७ जेठ २२ गतेसम्म भएको यो नाका चीनले एकतर्फी सञ्चालन गरेको छ ।