कालोपत्रे गर्ने सर्तमा आन्दोलन टुङ्गियो

  • त्रिशूली प्रवाह
  • १८ पुष २०७८, आईतवार १६:१८

चारघरे: विदुर नगरपालिका– १२ का युवा सङ्घ समितिको आन्दोलनले सार्थकता पाएको छ ।

नेपाल विद्युत् प्राधिकरणले नुवाकोटको विदुर नगरपालिकाको विभिन्न भूगोलमा २५ मेगावाट सौर्य ऊर्जा उत्पादनका लागि प्लान्ट निर्माण गरिरहेको छ । नेपालमै ठूलो सोलार ग्रिड आयोजनाले स्थानीय नागरिकको मागलाई बेवास्ता गरेको भन्दै युवाले आयोजनाको कार्यालयमा ताला लगाएपछि आयोजनाले सङ्घर्ष समितिको माग पूरा गरेको हो । सङ्घर्ष समितिले आयोजना प्रभावित क्षेत्रको सडक कालोपत्रे गर्नुपर्ने माग राखेको थियो । नेपाल विद्युत् प्राधिकरणले मागलाई सम्बोधन गर्दै बजेट सुनिश्चितता भएपछि आयोजनाको काम अगाडि बढेको छ । आयोजनामा ताला लागेपछि नेकपा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नै आयोजनाबारे चासो राखेका थिए । सङ्घर्ष समिति र प्राधिकरण कार्यकारी निर्देशक घिसिङबीचमा छलफलपछि एक महिनाभित्र सडक कालोपत्रे गर्न सूचना निकाल्ने सहमति भएको छ । विदुर नगरपालिका– १२ चारघरेकी रोजिना ढुङ्गानाको संयोजकत्वमा सङ्घर्ष समिति बनेको थियो । सङ्घर्ष समितिले स्थानीयवासी, जनप्रतिनिधि र सरोकारवालासँग विगतमा आयोजनाले गरेको प्रतिबद्धता पूरा नगरेको भन्दै चरणबद्ध आन्दोलन गर्दै आएको थियो ।