अवरुद्ध स्याफ्रुबेंसी–टिमुरे सडक पन्छाउन सुरु

  • त्रिशूली प्रवाह
  • २२ पुष २०७८, बिहीबार ०७:५९


  • सरस्वती न्यौपाने

स्याफ्रुबेंसी: रसुवा जिल्लामा मंगलबार बिहान गएको सुक्खा पहिरोका कारण अवरुद्ध स्याफ्रबेंसी–टिमुरे सडकको पहिरो पन्छाउने कार्य स्थानीय प्रशासनको सहयोगमा सुरु भएको छ ।

बुधबार बिहानैदेखि एक्स्काभेटर प्रयोग गरेर पहिरो पन्छाउन थालिएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिए । डिभिजन सडक कार्यालय र जलविद्युत् आयोजनाको एक्स्काभेटर प्रयोग गरी पहिरो पन्छाउन लगाइएको उनले बताए । एक सय मिटरमाथि ठाडो भिरबाट आएको सुक्खा पहिरो हटाउन कठिन भएको कारण पहिरो पन्छाउन करिब दुई दिन लाग्ने त्यहाँ खटिने प्राविधिकले जानकारी दिएका छन् । टिमुरेलगायत रसुवागढी कलाङ–कुलुङ खोला आसपास क्षेत्रमा पहिरोका कारण इन्टरनेट, टेलिफोन, विद्युत् लाइन पूर्ण रूपमा अवरुद्ध भएको छ । चीनको केरुङबाट आएका मालसामान भन्सार भएका कन्टेनर बाटोमा नै अलपत्र रहेका छन् । पैदलमार्गमा हिँड्ने आममानिसलाई सुरक्षाकर्मी परिचालन गरी सुरक्षित तरिकाले ओहोर–दोहोर गराइइरहेको प्रहरी निरीक्षक गणेश सापकोटाले बताए ।