बेलकोटगढीमा माघ ८ देखि छैटौँ झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगिता हुँदै

  • त्रिशूली प्रवाह
  • २२ पुष २०७८, बिहीबार ०८:२१


बेलकोट: छैटौँ झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगिता माघ ८ गतेदेखि सुरु हुने भएको छ । ‘जे गरौँ गज्जबले गरौँ’ भन्ने नाराका साथ छैटौँ झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगिता नुवाकोटमा हुने भएको हो । उक्त आयोजना बेलकोटगढी नगरपालिका– ५ र प्राविधिक सहयोग तथा संयोजन एथलेटिक्स परिवार नेपालले गर्ने भएको हो ।

झिल्टुङ क्रसकन्ट्री दौड नुवाकोटको बेलकोटगढी नगरपालिकाअन्तर्गत कोल्पुटारबाट सुरु भई बेलिनी, छाप, राजओडार, खड्गाछाप, सालचौर हुँदै फेरि कोल्पुटारमा आई समाप्त हुनेछ । दौडको दूरी १३.४ किलोमिटर कच्ची बाटो रहेको छ । जसमध्ये ४.५ किलोमिटर उकालो, दुई किलोमिटर समथर र बाँकी बाटो ओरालो रहेको आयोजकले जनाएको छ ।

त्यस्तै, छात्रछात्रालाई मध्यनजर गर्दै ४.५ किलोमिटरको दौड ‘रन फर फन रेस’का लागि खुला दौड प्रतियोगिता पनि आयोजना गर्ने भएको हो । उक्त दौडमा विशेष आकर्षण स्थानीय आमा समूहको रहनेछ ।

यसैगरी, तेस्रो भिल्द दौडमा पुरुषतर्फ किरण बोगटी साफ गेम २०१९ को म्याराथनमा स्वर्ण पदकविजेता दौड पूरा गरी विजेता भएका थिए भने महिलातर्फ पुष्पा भण्डारीले दौड पूरा गरी प्रथम भएकी थिइन् । पुष्पाले पनि साफ गेम २०१९ को महिला समूहको म्याराथनमा रजत पदक जितेकी थिइन् ।
उक्त प्रतियोगिताले क्रसकन्ट्री दौडलाई विकसित गर्ने रहेको दौड संयोजक मोहन नेपालले बताए । विभिन्न रोड रेस, म्याराथन, हाफ म्याराथनजस्ता थुप्रै दौड भइरहे पनि क्रसकन्ट्री दौड भनेर नेपालमा खासै नभएकाले लामो दूरीको दौडलाई सहयोग पुग्ने उनले बताए । नुवाकोट क्षेत्रको आन्तरिक पर्यटनको विकासलाई पनि प्रवद्र्धन गर्ने उनको भनाइ छ ।