बट्टार सहकारीको खुद नाफा साढे सात लाख

  • त्रिशूली प्रवाह
  • २२ पुष २०७८, बिहीबार ०८:४७


बट्टार: नुवाकोटको उत्कृष्ट सहकारी संस्थामध्येको बट्टार सहकारी संस्था लि.ले आ.व. ०७७/७८ मा खुद नाफा सात लाख ५९ हजार एक सय ९२ आर्जन गरेको छ । ०५३ सालमा स्थापना भएको सहकारीले शुक्रबार रजत महोत्सव मनाउँदै २६औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

सहकारीको रजत महोत्सव कार्यक्रम तथा साधारणसभाको उद्घाटन विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले गरेका थिए । जिल्लाकै उत्कृष्ट सहकारी बन्न सफल बट्टार सहकारीलाई उनले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सुझाव दिए । सो कार्यक्रममा विदुर नगरपालिकाकी उपमेयर गीताकुमारी दाहाल, जिल्ला सहकारी सङ्घका अध्यक्ष गोकर्णनाथ न्यौपानेको उपस्थिति रहेको थियो । सो कार्यक्रममा सहकारीका अध्यक्ष ओमप्रकाश श्रेष्ठले सञ्चालक समितिको तर्फबाट वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सेयरपुँजी पाँच करोड १३ लाख २५ हजार चार सय रहेको जानकारी दिए । उनले सहकारीमा महिला ६ सय २५, पुरुष आठ सय ७५ र संस्थागत १५ गरी एक हजार पाँच सय १५ सेयर सदस्य रहेकोसमेत सो कार्यक्रममा जानकारी गराए । सहकारीको निक्षेप सङ्कलन आ.व. ०७६/७७ को तुलनामा आ.व. ०७७/७८ मा ३८ प्रतिशतले वृद्धि भई ७० करोड २१ हजार ६० पुगेको छ । ऋण लगानी पनि सहकारीले आ.व. ०७६/७७ को तुलनामा आ.व. ०७७/७८ मा २९ प्रतिशतले वृद्धि भई ४६ करोड ५२ हजार ३१ पुगेको लेखा संयोजक नवराज न्यौपानेले जानकारी दिए । सहकारीले आ.व. ०७७/७८ मा ४६ करोड ५२ हजार ऋण लगानी गरी ४३ करोड ७१ लाख ९८ हजार एक सय ८७ रुपैयाँ ऋण असुली गरेको ऋण संयोजक मोहनबहादुर अर्यालले जानकारी दिए । सहकारीको जम्मा तीन सय ९९ ऋणीको सङ्ख्यामध्ये तीन सय ६० असल ऋणी, १४ कमसल ऋणी र २५ खराब ऋणीको सङ्ख्या रहेकोसमेत उनले बताए ।