पश्चिमी गोलाद्र्धबाट: हराएको अध्यक्षमण्डलका नाममा

  • त्रिशूली प्रवाह
  • २२ पुष २०७८, बिहीबार ०८:५८

  • रामचन्द्र भट्ट

०४८ र ०५४ सालका स्थानीय निर्वाचनमा त्यतिखेरको विदुर नगरपालिका– ४ का वडाध्यक्षमा विजयी भएका थिए– गोपालमान श्रेष्ठ । बट्टारबजारका सम्पन्न र प्रतिष्ठित परिवारका गोपालमान अविवाहित नै थिए त्यतिखेर । हरेक कुरालाई रेकर्ड (बुक किपिङ) राख्ने र सप्रमाण बोल्ने उनको स्वभाव त्यतिखेरै नगरका पदाधिकारीलाई तनावको विषय हुन्थ्यो ।

नेकपा एमालेबाट निर्वाचित उनी त्यतिखेरै कार्यकर्ता संरक्षण कोष बनाउनुपर्छ भन्ने अडानमा थिए । उनी नै यस्ता जनप्रतिनिधि थिए जो दलको तर्फबाट निर्वाचित भएबापत नियमित लेबी चुक्ता गर्थे । तिर्नुपर्ने रकम पार्टीको बैंकखातामा जम्मा गरेर भौचर लगेर बुझाउँथे । सदाचार र पारदर्शितामा अडिग थिए । आफ्नो अडानमा एकोहोरो लागिरहने उनको स्वभाव थियो । बरु अरू वडाध्यक्ष अडानबाट पछि हट्छन्, तर गोपालमान नोट अफ डिसेन्ट लेख्छ । अडानबाट पछि हट्दैन भन्ने चर्चा नै हुन्थ्यो । नगरका मेयरदेखि लिएर बहुमत वडाध्यक्ष नेकपा मालेतिर लागे । तर, गोपालमान एमालेमै अडिए । अहिले राजनीतिक रूपमा कुनै पदमा पनि छैनन् उनी । प्रत्यक्ष भेट नभएको पनि दुई दशक हुन लागिसक्यो ।

‘एउटा सूचना हालिदिनुप¥यो त्रिशूली प्रवाहको आउँदो अङ्कमा’ उनले केही दिनअघि ठट्टा गर्दै भने । ‘के सूचना ? त्यतै प्रकाशक शरणलाई दिए हुन्छ नि कता मलाई यता भनिराख्या ?’ मैले जवाफ दिएँ । उनले सबिस्तार लगाए ।

गत कात्तिक १४ र १५ गते नेकपा एमालेको नगर अधिवेशन भएको रहेछ । उद्घाटन भएर बन्दसत्रसमेत भइसकेपछि नेतृत्वका लागि चुनाव हुन रोकिएछ । नेतृत्वका आकाङ्क्षी धेरै देखिएपछि स्वाभाविक रूपमा चुनावी प्रक्रियाबाट नेतृत्व चयनका लागि प्रक्रिया अघि बढाउनुपथ्र्यो । तर, अध्यक्षमण्डलमा बसेकाको पनि आफ्नै रोटी सेक्ने दाउ । आफ्नै मान्छे ल्याउने रणनीति रहेछ । जसका कारण न त चुनाव हुन दिइयो न त नेतृत्व नै सार्वजनिक भयो । ‘अध्यक्षमण्डलले गर्ने नेतृत्वको घोषणा कुर्दा दुई महिना बितिसक्यो । केन्द्रीय महाधिवेशन भइसक्यो । तर, नगरको नेतृत्वकर्ता को हो भन्नेबारेमा अहिलेसम्म टुङ्गो लागेन । हामी त बिजोगमा भयौँ–भयौँ, एमाले भन्न पनि लाज लाग्ने अवस्था आइसक्यो विदुरमा,’ एमालेका अर्का एक नेताले फोनमा सुनाए ।

अध्यक्षमण्डलमा को–को थिए भन्नेबारेमा यही आलेखमा सार्वजनिक गर्न जरुरी छैन । धेरैले उहाँहरूलाई चिन्छन् । तर, अधिवेशन गरेर चुनावी प्रक्रियामा जान उहाँहरूलाई कसले छेक्यो ? लौ चुनाव हुन रोकियो, सर्वसम्मत बनाउन सक्नुपथ्र्यो । त्यति गर्न नसकेदेखि फलानो–फलानोलाई हामीले टीका लगाइदियौँ । तिमीहरू माने मान, नमाने जहाँ जानुपर्छ जाओ भनेर भन्न सक्नुपथ्र्यो । न कुनै विधि, न कुनै विधान । जसलाई जे मन लाग्छ त्यही गरेका भरमा एमालेका सङ्गठन भगवान् भरोसे तालमा चलेको तथ्यलाई बुझ्न नगर अधिवेशनलाई बुझ्दा मैलेचाहिँ पर्याप्त मात्र होइन चाहिनेभन्दा धेरै नै बुझेँ । गोपालमान त्यही भएर हिजोआज सामाजिक सञ्जालमा घरी अध्यक्षमण्डल हराएको सूचना भनेर लेख्छन्, घरी शपथ खान पाइएन भन्दै लेख्छन् ।
नगर अधिवेशनबाट चुनिएको नेतृत्व को हो भन्ने अहिलेसम्म टुङ्गो छैन । तर, भोलि शुक्रबार जिल्ला अधिवेशन हुने भनेर सूचना गरिएको छ । सामाजिक सञ्जालमा जिल्ला अधिवेशनकाबारे केही व्यक्तिले प्रचार गरिरहेका छन् । आउँदो केही महिनालगत्तै स्थानीय चुनाव हुने निश्चितजस्तै छ । स्थानीय चुनावका कारणले पनि नेतृत्वमा आउनका लागि यतिखेर धेरै लालायित छन् । विगतमा पार्टीभित्र योगदान गरेका, सङ्गठनका लागि त्याग गरेका, लगानी गरेका ठूलो पङ्क्ति, आज बाहिर पुगेको छ । हिजोका दिनमा एमालेको पार्टी अफिस रुँगेर बस्ने व्यक्ति बाहिरिएका छन् । ठूलो सङ्ख्या बाहिरिए पनि एमालेमै बस्नेलाई भाग पुगेको छैन । विभाजनले सङ्गठन कमजोर भएको छ, चुनावमा परिणाम आफ्नो पक्षमा ल्याउन कठिन छ भन्ने तथ्यलाई यो वर्गले बुझेको छैन । पिठे जोगीका कथाजस्ता केपी ओलीका सपना बाँडेर चुनाव जित्ने स्वैरकल्पना भन्ने कि दिवास्वप्नामा नेतृत्वपङ्क्ति लाम लागेको छ । नीति होइन ओली, भिजन होइन ओली, नेता भनेकै ओली भन्ने शैलीमा सङ्गठन र नेता लागेका छन् । एमाले भनेर लाग्ने आमकार्यकर्ता निराश छन् । राजनीतिक भविष्य अँध्यारो देखेर तिनीहरूको शरीर नातागत भएको छ । न बोल्न सक्छन्, न केही गर्नै सक्छन् ।

राजनीतिमा जब जनताको मत लिएर उनीहरूको प्रतिनिधित्व गर्छु भन्नेकै मुखमा ताल्चा लाग्छ । तिनले विवेक प्रयोग गर्ने, प्रश्न गर्ने हैसियत गुमाउँछन् । तिनले असल नेतृत्व दिन्छन् भनेर विश्वास गर्न सकिँदैन । आफैँ कमजोर र निरीहले अरूको अधिकारका लागि, न्यायका लागि बोल्न सक्ने अवस्था नै रहँदैन । एमालेका नेताले नेतृत्वका आकाङ्क्षीलाई व्यवस्थापन गर्न नसकेर जुन हिसाबले खल्तीमा सूची बोकेर हिँडेका छन्, त्यसको परिणाम आत्मघाती गोलभन्दा अर्थोक मिल्नै सक्दैन । गोपालमान बोले, लेखे, सामाजिक सञ्जालमा आवाज उठाए । अरू खोइ त बोलेको ? बाँकी अरूलाई पदको लोभ, टिकटको मोहले थिचेको हो ? आफ्नो दलभित्रको तानाशाही प्रवृत्तिविरुद्ध बोल्न आँट नगर्नेले न देशको तानाशाह, न अन्तर्राष्ट्रिय विषयमा बोल्ने नैतिकता राख्दछ ।

त्रिशूली प्रवाह साप्ताहिकका संस्थापक सम्पादक भट्ट विगत १० वर्षदेखि अमेरिकामा बसोवास गर्छन् । हामी रहेकोभन्दा विपरीत गोलाद्र्ध अर्थात् पश्चिमी गोलाद्र्धमा रहेका भट्टले यही अङ्कदेखि नियमित रूपमा आफ्ना विचार प्रस्तुत गर्दै छन् । ‘पश्चिमी गोलाद्र्धबाट’ नामको कोलमबाट उनी अबदेखि एक हप्ता बिराएर बिहीबार त्रिशूली प्रवाहमा आउनेछन् । – सम्पादक