संगम रजत महोत्सवमा पत्रकार र संस्थापक सम्मानित

  • त्रिशूली प्रवाह
  • २२ पुष २०७८, बिहीबार ०९:०५

बट्टार: ०५३ पुस १५ गते दर्ता भई ०६४ को घटस्थापनादेखि कार्यालय सञ्चालन गरी कारोबार सुरु गरेको संगम बचत तथा ऋण सहकारी संस्थाले गत बिहीबार २५औँ वार्षिकोत्सव, संगम महोत्सव तथा १७औँ साधारणसभा सम्पन्न गरेर गत आ.व.को आय–व्ययलाई अनुमोदन गरेको छ ।

सहकारीको रजत महोत्सव कार्यक्रम र साधारणसभाको उद्घाटन राष्ट्रिय सहकारी महासङ्घ नेपालका अध्यक्ष मीनराज कँडेलले गरेका थिए । सहकारीले रजत महोत्सवको अवसरमा स्थापनाकालदेखि हालसम्म कायम रहेका सेयर सदस्य १४ जनालाई सम्मान गरेको थियो । २५ वर्ष पुगेको अवसरमा यस वर्षदेखि सहकारीले संगम सहकारी पत्रकारिता सम्मान पुरस्कारको थालनी गरेको छ । यस वर्ष संगम सहकारी पत्रकारिता सम्मान पुरस्कार नुवाकोट जिल्लामा व्यावसायिक पत्रकारिताको सुरुवात गर्ने त्रिशूली प्रवाह साप्ताहिकका प्रकाशक/सम्पादक शरण उत्सुक सापकोटालाई नगद पाँच हजारसहित दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो । हरेक वर्ष जिल्लाबाट पत्रकारितामा क्रियाशील एकजना पत्रकारलाई सम्मान गरिने अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए । साधारणसभामा उत्कृष्ट कारोबार गर्ने तीनजना सम्मानित भएका छन् । सम्मानित हुनेमा बचततर्फ सुमित्रा गिरी विनपा– २ विदुर, असली ऋण कारोबारतर्फ मीनाकुमारी कुमाल विनपा– ५ पिपलटार, बाबुनानी बचततर्फ आश्विनी जोशी विनपा– १ त्रिशूली रहेका छन् । सहकारीले कर्मचारीलाई समेत सम्मान गरेको छ । सम्मानित हुने कर्मचारीमा व्यवस्थापक अजयकुमार थापा रहेका छन् ।

सहकारीका अध्यक्ष नारायण श्रेष्ठ, कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठ, लेखा समितिका संयोजक सुदीप श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदन र भावी कार्ययोजना साधारणसभाले संशोधन र सुझाव समेटेर पारित गरेको छ । सहकारीले आ.व. ०७७/७८ मा विभिन्न बचत कार्यक्रमको कुल निक्षेप झन्डै ११ प्रतिशत वृद्धि गरी २२ करोड ५७ लाख ६८ हजार ३ रुपैयाँ पु¥याएको थियो । कोरोना महामारीको त्रासको बीचमा पनि सहकारीले आ.व. ०७७/७८ मा ऋण लगानी साढे २३ प्रतिशतले वृद्धि गरी २१ करोड ४६ लाख ५४ हजार ८६ रुपैयाँ गरेर खुद नाफा १६ लाख ९२ हजार आठ सय ९५ गर्न सफल भएको छ । यो नाफा आ.व. ०७६/७७ को भन्दा ७७ प्रतिशत बढी रहेको छ । सहकारीले सामाजिक उत्तरदायित्व बहन गर्दै पाँच लाख १६ हजार पर्ने दुई थान आइसियू बेड तथा मनिटर दुई थान त्रिशूली अस्पताललाई गत वर्ष सहयोग गरेको कोषाध्यक्ष दिनेश श्रेष्ठले सो कार्यक्रममा जानकारी दिए । सहकारीले प्रकाशन गरेको संगम रजत महोत्सव स्मारिकाको साधारणसभामा विमोचन गरिएको थियो ।