पृथ्वीजयन्तीको अवसरमा विनपामा बिदा

  • त्रिशूली प्रवाह
  • २९ पुष २०७८, बिहीबार ०८:४७


विदुर: पृथ्वीजयन्तीको अवसरमा मंगलबार विदुर नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । पृथ्वीजयन्तीका अवसरमा पुस २७ गते नुवाकोटको विदुर नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

विदुर नगरपालिकाले यसअघिका दुई वर्ष पनि पुस २७ गते सार्वजनिक बिदा दिएको थियो । विदुर नगरपालिकाले नगरपालिकामातहतका सबै कार्यालय तथा संरचना मंगलबार बन्द रहेका थिए । आधुनिक नेपालका राष्ट्रनिर्माता तत्कालीन राजा पृथ्वीनारायण शाहको योगदानलाई उच्च सम्मान र कदरस्वरूप स्थानीय सरकारको तर्फबाट राष्ट्रिय एकता दिवस र पृथ्वीजयन्तीलाई भव्यता साथ मनाउन सार्वजनिक बिदाको घोषणा गरिएको विदुर नगरपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेपाल एकीकरण थालनी भएको गौरवपूर्ण इतिहासलाई भुल्न नहुने भन्दै नगरपालिकाले बिदा दिने निर्णय गरिएको विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले बताएका छन् । पृथ्वीनारायण शाहले १८०१ सालमा नुवाकोटबाटै नेपाल एकीकरणको सुरुवात गरेका थिए । पृथ्वीजयन्तीको अवसरमा नुवाकोटमा रहेको पृथ्वी स्मारक देवीघाट र नुवाकोट दरबारमा अलग–अलग कार्यक्रम भएको थियो ।