अस्पतालको प्रगति सार्वजनिक भएकै रात सुत्केरीको ज्यान गयो


त्रिशूली: नुवाकोटको सुविधासम्पन्न त्रिशूली अस्पतालले आफ्नो कार्यप्रगति, चुनौती र भावी योजनाका साथै गुणस्तरीय सेवाको प्रतिबद्धता जनाएर पत्रकारसँग भेटघाट गरेकै रात सोमबार एक सुत्केरीको ज्यान गएको छ । त्रिशूली अस्पतालको सेवा र गुणस्तरका विषयमा त्रिशूली अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति र चिकित्सकले प्रतिबद्धता जनाइरहेकै समयमा सुत्केरीको ज्यान जानुलाई भने सेवाग्राहीले आलोचना गरेका छन् ।

तीन दिनदेखि सुत्केरी हुनका लागि अस्पताल भर्ना भएका विदुर नगरपालिका– ७ तुप्चेका सावित्री कोइरालाको अधिक रक्तस्रावका कारण ज्यान गएको हो । शिशुको अवस्था सामान्य रहेको छ । उपचारमा संलग्न चिकित्सकको लापरबाहीको कारण सुत्केरीको ज्यान गएको भन्दै आफन्तले राती अस्पताल तोडफोड गर्नुका साथै प्रदर्शनसमेत गरेका छन् । मृतकका परिवारले शव बिहान बुझेर लगेका छन् । उनीहरूले उपचारमा संलग्न चिकित्सकका कारण सुत्केरीको ज्यान गएको भन्दै कारबाहीको माग गरेका छन् । सोमबार त्रिशूली अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिले पत्रकारसँग अन्तत्र्रिmया गरेर पछिल्लो समय अस्पतालको सेवामा सुधार भएको दाबी गरेका थिए ।

अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले आफ्नो कार्यकालमा भए–गरेका उपलब्धि र प्रयासलाई सार्वजनिक गरेका छन् । तीन वर्षको अवधिमा अस्पतालमा आएको सुधारको विषयमा उनले जानकारी दिएका हुन् । त्रिशूली अस्पतलाका मेडिकल सुपरिटेन्डेन्ट डा. दीपेन्द्र पाण्डेले अस्पतालको चुनौती र समस्यालाई प्रस्तुत गरेका थिए । दरबन्दीअनुसारको कर्मचारी नहुनु र कोभिड– १९ नियन्त्रणका लागि करारमा राखिएको कर्मचारीलाई सरकारले हटाउने तयारी हु्दा अस्पताल पुस मसान्त पछि सङ्कटमा पर्ने उनले बताए ।