कोरोना बढे पनि लकडाउन नहुने

विदुर: कोभिड– १९ सङ्क्रमण बढे पनि लकडाउन नहुने भएको छ । अर्थतन्त्र जोगाउन लकडाउनको विकल्पमा जान नसकिने नीति सरकारले बनाएको छ । कोरोना सङ्क्रमण दिनहुँ फैलिरहेको छ । कोरोना जनस्तरमा फैलिसकेको भए पनि सरकारले खासै प्राथमिकता राखेको देखिँदैन । सरकार र राजनीतिक दल कोरोनाको महामारीबाट हुने धनजनको क्षतिप्रति भन्दा पनि आ–आफ्नै स्वार्थमा केन्द्रित भइरहेका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अब मुलुकले कुनै हालतमा पनि लकडाउनको बाटो रोज्न नहुने बताए । अहिलेको विकराल आर्थिक सङ्कटको मुख्य कारण नै कोरोना महामारीबाट सिर्जित लकडाउन भएको भन्दै उनले लकडाउनका कारण नै अहिले आर्थिक क्षेत्र प्रभावित भएको तर्क गरे । मन्त्री शर्माले अब फेरि लकडाउन भए अर्थतन्त्रले धान्न नसक्ने भन्दै लकडाउन नभएर उचित रूपमा सुरक्षाका उपाय अपनाएर अर्थतन्त्रलाई चलायमान बनाउने बताए । ‘अहिले कोरोना सङ्क्रमण बिस्तारै बढ्दै गएकाले अर्थतन्त्रको विषयमा सबैले चिन्ता व्यक्त गर्न थालेका छन्,’ उनले भने, ‘यो चिन्ता भनेको फेरि लकडाउन हुने हो कि भन्ने हो, तर हाम्रोबीचमा चुनौती धेरै भए पनि कोरोनाका कारण अब हामी लकडाउनको बाटो अपनाउँदैनौँ ।’

कोरोनाका कारण दुई वर्ष थालिएको अर्थतन्त्र चलायमान हुन लागेको अवस्था भएका कारण यस विषयमा सरकार संवेदनशील रहेको उनले बताए । अर्थमन्त्रीले यस्तो बताइरहँदा कोरोना सङ्क्रमण बढेर आममानिसको दैनिकीमा प्रभाव परेपछि यसको असर व्यक्तिको आर्थिक क्रियाकलापमा पर्न थालेको छ । कोभिड– १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) ले मानिसको भेटघाट र भेलालाई सीमित व्यक्तिमा केन्द्रित गर्न सरकारलाई सिफारिस गरेका कारण समूहमा हुने आर्थिक गतिविधिमा प्रभाव पर्ने देखिएको छ । सिसिएमसीले सार्वजनिक स्थान, कार्यालय, होटेल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, एयरपोर्ट, पार्क आदि प्रवेश गर्दा अनिवार्य रूपमा कोभिडविरुद्धको खोप लगाएको कार्ड हुनुपर्ने सिफारिस गरेको छ । हाल देशभरको कुल जनसङ्ख्याको ५० प्रतिशतले समेत पूर्णमात्राको खोप लगाउन नपाएका कारण यसको असर यस्ता व्यावसायिक क्षेत्रमा पर्ने देखिने भएको छ । यो व्यवस्था ३ माघदेखि लागू गर्ने व्यवस्थाका लागि सबै जिल्ला कोभिड व्यवस्थापन समन्वय केन्द्रलाई गृह मन्त्रालयमार्फत सिफारिस गरिने भएको छ । यसैगरी सरकारले १५ माघसम्मका लागि माध्यमिक तहसम्मको अध्ययन–अध्यापन बन्द गर्ने निर्णय गरेको छ ।

नेपालमा एक सातादेखि कोरोना सङ्क्रमणदर दैनिक दुई प्रतिशतभन्दा बढीले वृद्धि भइरहेको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले तत्कालै लकडाउन नगर्ने निर्णय गरेको छ । सङ्क्रमणको गति थेग्न नसक्ने अवस्था आएमा मात्र लकडाउनको कार्यविधिअनुसार कोरोना सङ्क्रमण नियन्त्रणका लागि स्मार्ट लकडाउन गर्ने अधिकार जिल्ला–जिल्लालाई दिने नीति अख्तियार गरेको छ । सङ्क्रमणदर बढेसँगै कोरोनाको तेस्रो लहरसमेत देखिएको स्वास्थ्यविज्ञले बताएका छन् । ओमिक्रोन छिट्टै फैलिने, तर कम घातक रहेको स्वास्थ्यविज्ञले बताएका कारण सरकारले खासै नयाँ तयारी गरेको देखिँदैन । लगातार तीन वर्षदेखि कोरोनाको नयाँ भेरियन्ट देखापरेर विश्वलाई आतङ्कित बनाइरहेको छ । यसबाट जोगिन सतर्कता अपनाउनु नै प्रमुख कार्य हो । नेपालमा अहिले कोरोना सङ्क्रमितको सङ्ख्या १० हजार नाघेको छ भने ७५ जिल्लामा कोरोनाको सङ्क्रमण विस्तार भइसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले पछिल्लो समय कोभिड सङ्क्रमणका विभिन्न भेरियन्ट फेला परिरहेको र यसको असर नेपालमा समेत देखिन थालेकाले अनावश्यक भिडभाड नगर्न अनुरोध गरेको बताइन् ।

सिसिएमसीले कोभिड– १९ सङ्क्रमणको स्थानीय अवस्था हेरी जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि र एकीकृत कोभिड– १९ रोकथाम, नियन्त्रण र उपचार कार्ययोजना, २०७८ कार्यान्वयनलाई थप प्रभावकारी बनाउन सरकारलाई सुझाव दिएको छ । कार्यविधिअनुसार पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा लकडाउनका कडाइ गरिने र अत्यावश्यकबाहेकका व्यवसाय तथा सेवा आंशिक वा पूर्ण रूपमा बन्द हुनेछन् । कोरोना सङ्क्रमणदर बढ्दै जाँदा सङ्क्रमितको सङ्ख्यासमेत वृद्धि भइरहेको छ । युनिफाइड कोभिड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकृत भूपेन्द्रकुमार बस्नेतले एक हप्ताअघिको तुलनामा सङ्क्रमितको सङ्ख्या दोब्बर बढेको जानकारी दिए । उनले देशभर सङ्क्रमणको अवस्था र सङ्क्रमितको सङ्ख्यालाई मूल्याङ्कन गरेर अत्यावश्यक स्वास्थ्य सामग्री तयारी अवस्थामा राखिएको बताए ।