नुवाकोटमा कोरोना सङ्क्रमित बढ्दै


विदुर: १९ महिनापछि विश्व महामारी कोभिड– १९ नोबेल कोरोना भाइरसको सङ्क्रमणमुक्त भएको नुवाकोट जिल्लामा मंगलबारदेखि पुनः सङ्क्रमण फेला पर्न थालेको छ । गत मंगलबार एकजनामा देखापरेको सङ्क्रमण आइतबारसम्म पाँचजनामा भेटिएको छ भने हिजो बुधबार २९ जनाको स्वाब परीक्षण गर्दा पाँचजनामा सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटले पुस १४ गते नुवाकोट कोरोना सङ्क्रमणमुक्त रहेको जनाएको थियो । तर, स्वास्थ्य कार्यालय नुवाकोटले पुस २० गते सार्वजनिक गरेको प्रतिवेदनमा एकजना सङ्क्रमित रहेको उल्लेख गरेको छ । कार्यालयको दैनिक प्रतिवेदनअनुसार बुधबार पाँचजनामा सङ्क्रमित पुष्टि भएको छ । स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तमराज खनालका अनुसार बुधबार सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या विदुर नगरपालिकामा एक, शिवपुरी गाउँपालिकामा एक र पञ्चकन्यामा तीन रहेको छ । बुधबारको पाँचजनासहित गरेर १४ जना नुवाकोटमा सक्रिय सङ्क्रमित रहेका छन् । उनीहरू सबै हाल स्वास्थ्य मापदण्ड पालना गरी सुरक्षित रूपमा घरमै बसिरहेको बताइएको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटका खोप अधिकृत अमृत महर्जनका अनुसार पुस १४ गतेदेखि २० गतेसम्म नुवाकोटमा कुनै सङ्क्रमण फेला परेको थिएन । पहिलो, दोस्रो कोरोनाको वेभमा विदुर नगरपालिकाका नागरिक बढी सङ्क्रमित भएका छन् । ३३ सय ९१ जना विदुर नगरपालिकाका सङ्क्रमित भएको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तमराज खनालले जानकारी दिएका छन् । त्यस्तै, दोस्रोमा तारकेश्वर गाउँपालिकाका नौ सय ५९ जना सङ्क्रमित भएका छन् । सबैभन्दा कम पञ्चकन्या गाउँपालिकाका एक सय ९६ जना र म्यागङ गाउँपालिकाका एक सय ९४ जना रहेका छन् ।
जिल्ला अस्पताल त्रिशूलीको ३० वटा, खरानीटार अस्पतालको ३० वटा र एक सय ६९ वटा आइसोलेसन सेन्टरका बेड खाली छन् । कोरोनाका कारण नुवाकोटमा ५२ जनाको निधन भएको छ । काठमाडौं वा अन्य जिल्लामा निधन भएका नुवाकोटका नागरिकको सङ्ख्या भने यसमा समावेश छैन । जिल्लाबाहिर कति जना जिल्लावासीको कोरोनाका कारण निधन भयो भन्ने यकिन तथ्याङ्क पनि सरकारी पक्षसँगै छैन ।