फिर्केप सहकारीका सेयर सदस्यलाई व्यवसायी बनाउँदै

खड्गभञ्ज्याङ: सेयर सदस्यलाई कृषि, पशुपालन व्यवसाय बनाउन ०५६ सालमा नुवाकोटको विदुर नगरपालिका– ३ खड्गभञ्ज्याङमा स्थापना भएको फिर्केप सामुदायिक विकास सहकारी संस्थाले २१औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न गरेको छ ।

विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले उद्घाटन गरेको साधारणसभामा लेखा समितिको तर्फबाट लेखा संयोजक खोपबहादुर खड्काले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । व्यवस्थापक खड्गप्रसाद धितालले सहकारीको आय–व्यय र भावी नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । ०५६ सालमा ७४ जना सेयर सदस्यबाट सेयरपुँजी ८१ हजार सात सय ६५ सङ्कलन गरी सुरु भएको सहकारीमा ०७८ असार मसान्तसम्ममा एक करोड ४३ लाख ८६ हजार तीन सय ६४ सेयरपुँजी पुगेको छ । सहकारीले सेयर सदस्यलाई व्यावसायिक बनाउने उद्देश्यले ४१ वटा पशुपालन फर्म र १७ वटा कुखुरापालन फर्म दर्ता गराई लगानी गरेको छ । सहकारीको सहयोगले अहिले सिर्खालीदेखि खड्गभञ्ज्याङसम्म दैनिक १४ सय लिटर दूध अफ सिजनमा समेत सङ्कलन गरी बिक्री भइरहेको छ । सहकारीको सहयोगले कुखुरापालनबाट ५० जनाभन्दा बढीले लाभ लिइरहेका छन् भने बाख्रा, पाडा, तरकारी खेती गर्नेलगायत व्यवसाय गर्ने सेयर सदस्यलाई सहयोग र प्रोत्साहन गरिरहेको व्यवस्थापक धितालले बताए । सहकारीले लगानी गरेकामध्ये ११ जना ऋणीको भाखा नाघेको १२ लाख ४५ हजार रुपैयाँ उठ्न बाँकी रहेकोसमेत उनले जानकारी दिए ।