सहयोगी सहकारीको अध्यक्षमा पुनः बाबुराम

कोलनी: विदुर नगरपालिका– ९ डिहीबजारमा आफ्नै कार्यालय भवनबाट कारोबार सञ्चालन गरिरहेको सहयोगी बहुउद्देश्यीय सहकारी संस्थाको शनिबार सम्पन्न १४औँ वार्षिक साधारणसभा तथा चौथो निर्वाचनबाट पुनः बाबुराम अधिकारी अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।

सहकारीको साधारणसभाबाट अध्यक्षसहित सम्पूर्ण सञ्चालक समितिका पदाधिकारी सर्वसम्मत चयन भएको व्यवस्थापक राजु अधिकारीले जानकारी दिए । निर्वाचनबाट सञ्चालक समितिको उपाध्यक्षमा केदारप्रसाद रिजाल, सचिवमा उमेशमान शाक्य, कोषाध्यक्षमा यादव अधिकारी र सदस्यमा परशुराम अर्याल, नवीन प्रधान, माधवप्रसाद अधिकारी, रामकुमार रिजाल, सिर्जना गुरुङ चयन भएका छन् ।

जिल्ला सहकारी सङ्घका उपाध्यक्ष शिवप्रसाद अधिकारीले उद्घाटन गरेको साधारणसभामा १३ जना बाल बचतकर्तालाई विद्यालय झोला प्रदान गरिएको थियो । सो अवसरमा गत आ.व. ०७७/७८ मा उत्कृष्ट कारोबार गर्ने ऋणी, बचतकर्ता र कर्मचारीलाई सम्मान गरिएको थियो । सहकारीले आ.व. ०७७/७८ मा सेयरपुँजी आ.व. ०७६/७७ भन्दा २५ प्रतिशत वृद्धि गरी दुई करोड दुई लाख ३८ हजार तीन सय पु¥याएको छ । सहकारीको निक्षेप सङ्कलन ११ करोड एक लाख ९३ हजार दुई सय ८९ रुपैयाँ, सम्पत्ति १८ करोड ५५ लाख ७५ हजार पाँच सय २९ रुपैयाँ रहेको छ भने कुल ७३ लाख २० हजार दुई सय ९४ रुपैयाँ मुनाफा गरेको कोषाध्यक्ष यादव अधिकारीले साधारणसभामा जानकारी गराए ।