आदर्श सहकारीको वनभोजसहित साधारणसभा सम्पन्न

कोलनी: नुवाकोट जिल्लाको विदुर नगरपालिका– ९ कोलनीमा ०६४ सालमा स्थापना भएको आदर्श बहुउद्देश्यीय सहकारी संस्था लि. को १४औँ वार्षिक साधारणसभा शनिबार वनभोज कार्यक्रमसहित सम्पन्न भएको छ ।

साधारणसभामा अध्यक्ष कृष्णप्रसाद रिमाल, कोषाध्यक्ष राजकुमार श्रेष्ठ, लेखा संयोजक रामशरण अर्यालले प्रस्तुत गरेको प्रतिवेदन पारित भएको छ । सहकारीले आ.व. ०७७/७८ मा ५४ लाख १० हजार लगानी गरेर भवन खरिद गरेको थियो । हाल उक्त भवनमा कार्यालय सञ्चालन भइरहेको छ । सहकारीले गत आ.व.को असार मसान्तसम्म सेयर सदस्य सात सय ६४ र सेयरपुँजी वृद्धि गरी एक करोड ३२ लाख २० हजार एक सय पुर्रयाउन सफल भएको जानकारी साधारणसभामा कोषाध्यक्ष राजकुमार श्रेष्ठले गराए । सहकारीको गत आ.व.को असार मसान्तसम्ममा चार करोड २२ लाख ५४ हजार आठ सय ६२ निक्षेप सङ्कलन गरी तीन करोड ९९ लाख ६५ हजार कर्जा लगानी गरी कोरोनाको महामारीको समयमा समेत एक लाख १८ हजार एक सय ५५ नाफा हासिल गर्न सफल भएको छ । चालू आ.व. ०७८/७९ मा सहकारीको ऋण लगानी पाँच करोड १० लाख ७३ हजार नौ सय ८५ रहेको व्यवस्थापक राजेशमान श्रेष्ठले साधारणसभामा जानकारी दिए ।