साथी सहकारीको साधारणसभा सम्पन्न


बट्टार: विदुर नगरपालिकाभित्र रहेका सहकारीमध्ये अब्बल साथी उपभोक्ता सहकारी विनपा– ४ बट्टारको शनिबार साधारणसभा सम्पन्न भएको छ ।

आर्थिक वर्ष ०७७/७८ मा सहकारीले चार करोड ६ लाख ४० हजार आठ सय ४८ रुपैयाँ ऋण लगानी गर्नुका साथै ६ करोड ४७ लाख ८६ हजार आठ सय १४ रुपैयाँ निक्षेप सङ्कलन गरेको छ । सहकारी अघिल्लो आर्थिक वर्षको भन्दा ७५ दशमलव ७३ प्रतिशत बढी नाफा गर्नसमेत सफल भएको छ । सहकारीले आर्थिक वर्ष ०७७/७८ मा १० लाख ८० हजार ६ सय ४७ रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । सहकारीको १२औँ वार्षिक साधारणसभामा दिइएको जानकारीअनुसार चालू आर्थिक वर्षको अन्त्यसम्ममा सहकारीले सेयरपुँजी एक करोड, कर्जा लगानी ६ करोड ५० लाख, निक्षेप सङ्कलन आठ करोड १६ हजार चार सयसहित गत आर्थिक वर्षको तुलनामा वासलात २५ दशमलव ४६ प्रतिशतले वृद्धि गरी नौ करोड ६० लाख पु¥याउने लक्ष्य लिएको छ । साधारणसभाको उद्घाटन जिल्ला सहकारी सङ्घ नुवाकोटका अध्यक्ष गोकर्णनाथ न्यौपानेले गरेका थिए । उनले सहकारी संस्थाको व्यवस्थापकीय क्षमतासमेत अभिवृद्धि गर्दै समग्र आर्थिक रूपान्तरणका लागि सहकारीहरू सक्षम रहेको सन्देश प्रवाहित गर्नु जरुरी रहेको बताएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका बागमती प्रदेश अध्यक्ष शिव देवकोटा, सनराइज बैंकका नुवाकोट शाखा प्रबन्धक दीपेन्द्र श्रेष्ठले उत्कृष्ट कर्मचारी, उत्कृष्ट बचतकर्ता र बाल बचतकर्ता तथा एसइई परीक्षामा सेयर सदस्यका छोराछोरीमध्ये उत्कृष्ट हुनेलाई सम्मानित गरेका थिए ।

साधारणसभामा सहकारीको कार्यालय सञ्चालनलाई प्रभावकारी रूपमा सञ्चालन गराउने व्यवस्थापक सुस्मिता श्रेष्ठलाई समेत सम्मानित गरिएको थियो । सो कार्यक्रममा उत्कृष्ट दैनिक बचततर्फ लक्ष्मीदेवी श्रेष्ठ र उत्कृष्ट मुद्दती बचततर्फ विष्णुलाल प्रधानलाई सम्मान गरिएको थियो । सेयर सदस्यका छोराछोरीमध्ये कृष श्रेष्ठ, अंकिता बज्राचार्य र आयुष बज्राचार्य गत एसइई परीक्षामा उत्कृष्ट अंक ल्याई उत्तीर्ण भएका थिए । सो अवसरमा पूर्वकर्मचारी मीना श्रेष्ठ र बचत सङ्कलनकर्ता अपिल प्रधानसमेत सम्मानित भएका थिए । साधारणसभाले अध्यक्ष राजनमान श्रेष्ठद्वारा प्रस्तुत सञ्चालक समितिको प्रतिवेदन, कोषाध्यक्ष गोकुलबहादुर श्रेष्ठद्वारा प्रस्तुत बजेट, कार्यक्रम तथा प्रगति विवरण, लेखा सुपरिवेक्षण समितिका संयोजक रोमनाथ आचार्यद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको संस्थाका सचिव जितेन्द्रराज भण्डारीले बताए ।