दर्पण सहकारी निक्षेप सङ्कलनमा अब्बल


विदुर: दर्पण बचत तथा ऋण सहकारी संस्था लिमिटेड विदुरको १२औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनअनुसार विदुर नगरपालिकाभित्र रहेका सहकारीमध्येमा निक्षेप सङ्कलन तथा लगानीमा दर्पण अब्बल देखिएको छ ।

वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष राजकुमार तिमिल्सिनाले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष रामेश्वर अधिकारीले आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजक सुनील विष्टले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभाको अवसरमा सहकारीले ‘सहकारी स्वास्थ्य उपचार कोष’अन्तर्गतको सेयर सदस्यको उपचारमा सघाउ पु¥याउन आर्थिक अनुदानसमेत प्रदान गरेको छ । जटिल रोगको उपचारका क्रममा अप्रेसन गर्नुपरेका सेयर सदस्यलाई दर्पणले वार्षिक १० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । उक्त सहयोग कार्यक्रमअन्तर्गत यसपटक तीनजना सेयर सदस्यलाई जनही १०–१० हजार रुपैयाँ स्वास्थ्य उपचारका लागि सहयोग गरेको कोषाध्यक्ष रामेश्वर अधिकारीले जानकारी दिए ।

०६७ साल जेठ १८ गते स्थापना भएर १५ दिनपछि कारोकार थालेको उक्त सहकारीको सेयरपुँजी ८० लाख रहेको छ । दर्पण सहकारीले गएको आर्थिक वर्षमा झन्डै साढे दुई करोड रुपैयाँ ऋण लगानी गरेको छ । सेयर सदस्यको आर्थिक उन्नतिका साथै सामाजिक उत्तरदायित्वमा उत्तिकै सक्रिय सहकारीले विश्व महामारी कोभिड– १९ को समयमा स्वास्थ्यका विभिन्न क्षेत्रमा काम गरेको संस्थाका अध्यक्ष राजकुमार तिमिल्सिनाले जनाएका छन् । त्रिशूली अस्पताललाई आइसियू बेड उपलब्ध गराउन नुवाकोट जिल्ला बचत तथा ऋण सहकारी सङ्घसँग आर्थिक सहकार्य गरी सामाजिक उत्तरदायित्व पूरा गरेको उल्लेख छ । साधारणसभामा दिइएको जानकारीअनुसार सहकारीले विश्व महामारी कोभिड– १९ को कारण लकडाउनको अवधिमा कर्जा रकमको ब्याजमा लागेको हर्जनामा छुट दिएको छ ।

११ वर्षअघि एउटा समूहको रूपबाट स्थापित उक्त सहकारी संस्था अहिले सयौँ सदस्यको वित्तीय खाँचो टार्नका लागि महत्वपूर्ण खम्बाको रूपमा रहेको भन्दै सहकारीका सेयर सदस्यले दर्पणलाई सहकारीमध्येमा नुवाकोटमा अब्बल बनाउनेतर्फ केन्द्रित गराउने बताएका छन् । सहकारीका उपाध्यक्ष विष्णु प्याकुरेलका अनुसार युवालाई सङ्गठित गर्ने र उनीहरूको सामूहिक बचतमार्फत आवश्यकताको परिपूर्ति गर्ने सोचका साथ स्थापित उक्त सहकारीले सेयर सदस्यको आर्थिक क्षेत्रदेखि सामाजिक क्षेत्रमा समेत परिवर्तन गर्न मद्दत गरेको छ ।