निर्माणधीन किरियापुत्री भवनलाई सहयोग जुट्दै

विदुर: नुवाकोटको सदरमुकाम विदुरमा स्थानीयवासीको सक्रियतामा निर्माणाधीन पितृमोक्ष धाम (किरियापुत्री) भवनलाई आर्थिक सहयोग गर्नेका सङ्ख्या बढ्दो छ । सहयोगीकै भरमा किरियापुत्री भवन निर्माण गर्न विदुर पितृमोक्ष धाम (किरियापुत्री) कल्याणकारी संस्था सक्रिय रहेको छ ।

विदुरको राहुलधारा (सिडिओ कार्यालयसँगै)सँगै आठ कोठाका दुई ढलान गरिने भवनका लागि विदुर नगरपालिकाले दुई चरणमा गरेर २० लाख, शिवपुरी गाउँपालिकाले एक लाख र स्थानीय सहयोगीबाट पाँच लाख दुई हजार चार सय ७९ नगद सङ्कलन भएको विदुर पितृमोक्ष धाम (किरियापुत्री) कल्याणकारी संस्थाका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए । स्थानीय चन्दादातामध्ये सबैभन्दा बढी विदुर नगरपालिका– २ विदुरकी लुकीमाया तिमिल्सिनाले २५ हजार पाँच सय र राजेन्द्र प्याकुरेल बट्टारले २५ हजार रुपैयाँ दिएकोसमेत उनले बताए । संस्थाले भवन निर्माणमा पाँच हजार रुपैयाँभन्दा बढी सहयोग गर्नेको नाम शिलालेखमा राख्नेसमेत जानकारी दिए ।

संस्थाले निर्माणाधीन भवनलाई पूरा गर्न ६० लाखभन्दा माथि लाग्ने भएकाले सहयोग गर्न चाहनुहुनेले सङ्घ–संस्था, व्यक्तिले संस्थाको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक विदुर शाखाको खाता नं. १७७०१००००१४५४००१ मा जम्मा गरीदिनुहुनसमेत संस्थाका उपाध्यक्ष राजेन्द्र पाण्डेले अनुरोध गरेका छन् । भवन निर्माण गर्न संस्थाले सामुदायिक वन उपभोक्ता समितिसँग सहकार्य गरेको महासचिव वसन्त रिजालले बताए । किरियापुत्री भवन राहुलधारासँगै सामुदायिक वन क्षेत्रमा निर्माण भइरहेको छ । संस्था जिल्ला प्रशासन कार्यालयमा ०७८ सालमा दर्ता भएको छ । संस्थाको कार्यसमिति १५ जनाको रहेको छ ।