सहर बस्ने गाउँ नफर्कने युवाको कब्जामा नुवाकोट एमाले

  • रामलाल श्रेष्ठ

नेकपा एमालेको सातौँ जिल्ला अधिवेशन पुस २३ र २४ गते सम्पन्न भई जिल्ला अधिवेशनको नतिजा आएको छ । नुवाकोट जिल्लाले पनि आफ्नो अधिवेशन केन्द्रको निर्देशनअनुसार पुस २३ गते नै सुरु गरेर यसपटक राम्रो सन्देश दिएको छ । नुवाकोट जिल्लाको सातौँ जिल्ला अधिवेशनमा भाग लिन आएका प्रतिनिधिको नजरमा यो जिल्ला अधिवेशन सम्पन्न हुँदै गर्दाको प्रक्रिया र नेतृत्व निर्माण गर्दा अपनाउनुपर्ने विधिबारे सामान्य चर्चा गर्न खोजिएको छ ।

सातौँ जिल्ला अधिवेशन पुस २३ गते उद्घाटन सत्र समापन भई दोस्रो दिन बन्दसत्र सुरु गर्दै गर्दा उपस्थित प्रतिनिधिको गणना गर्ने सामान्य प्रक्रियासमेत पूरा गर्ने काम भएन । जिल्ला अधिवेशनमा प्रत्येक वडाबाट प्रतिनिधि बनेर आएका प्रतिनिधि बन्दसत्रको हलमा उपस्थिति जनाउन उपस्थितिको हस्ताक्षर गर्ने सामान्य प्रक्रियासमेत पूरा नगरी बन्दसत्र सुरु गरियो । बन्दसत्रमा बहुमत प्रतिनिधिको उपस्थिति हुनुपर्ने अधिवेशनको औपचारिकतासमेत पूरा गर्ने काम भएन । अधिवेशन हलमा जोकोही भित्र बस्न सक्ने र बाहिर जान सक्ने सुविधा थियो । प्रतिनिधि हो–होइन भनेर चेकजाँच गर्ने कुनै संयन्त्र निर्माण गरिएको थिएन । बन्दसत्रको हलमा जोकोही सजिलै प्रवेश हुने स्थिति थियो । अधिवेशनमा उपस्थित प्रतिनिधिको प्रतिनिधि पास बन्नै सकेन । केही छिटफुट प्रतिनिधिले प्रतिनिधि पास भिरेको देखिन्थ्यो, तर अधिकांश प्रतिनिधि हुन् या अरू हुन् छुट्याउन सकिने स्थिति थिएन । बन्दसत्रमा अध्यक्ष र महासचिवको प्रतिवेदन पारित भइसकेपछि निर्वाचन कार्यतालिका प्रस्तुत गर्ने काम भयो । योसँगै नेतृत्वमा पुग्न चाहने सबैले आ–आफ्नो पहलकदमी सुरु गरे ।

एमाले नुवाकोट जिल्लाको सातौँ जिल्ला अधिवेशनको नेतृत्व सहरमा बस्ने गाउँ नफर्कने नयाँ युवाले कब्जा गरे । गाउँमा बस्ने युवा यसरी सम्पन्न गरिएको अधिवेशन हेरेर निराश र खिन्न देखिन्थे ।

सहमतिको नेतृत्व निर्माण गर्ने भन्दै निर्वाचन कार्यतालिका स्थगित गर्ने काम भयो । २५ गते बिहान ९ बजेसम्म सहमतिको नेतृत्व निर्माण गर्ने नाममा निर्वाचन कार्यक्रम स्थगित गरिएको घोषणा गर्ने काम भयो । रातभर दशबुँदे र संस्थापन समूहको माथापच्चीपछि तेस्रो दिन २५ गते जिल्ला नेतृत्वको सहमति लिस्ट पढ्ने काम भयो । यही लिस्ट नै निर्वाचित भएको घोषणा गर्ने काम निर्वाचन समितिले गर्दै सातौँ जिल्ला अधिवेशन सम्पन्न भयो । यसरी नुवाकोट जिल्लाको जिल्ला नेतृत्व सहरमा बस्ने गाउँ नफर्कने नयाँ युवाले कब्जा गर्ने काम सम्पन्न गरियो । गाउँमा बस्ने युवा यसरी सम्पन्न गरिएको अधिवेशन हेरेर निराश र खिन्न देखिन्थे ।

यसपटक एमालेले आफ्नो केन्द्रीय महाधिवेशन नयाँ ढङ्गले चितवनमा सम्पन्न गरेको सबैलाई थाहा छ । एमालेको दशौँ महाधिवेशनलाई ओलीवेशन भनेर नामाकरण गर्ने कामसमेत भयो । नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनमा सबै महाधिवेशन प्रतिनिधिलाई आफ्नो उम्मेदवारी घोषणा गर्ने अधिकार प्रदान गरिएको थियो । दिन–रात प्रतिनिधिसँग शेरबहादुरदेखि गगन थापासम्मले नेतृत्वका लागि नमस्कार गरेर भोटको भिख माग्दै गरेको रमाइलो दृश्यसमेत देख्न पाइयो । यसैलाई उच्चतम लोकतान्त्रिक अभ्यासको रूपमा व्याख्या गर्दै नेकपा एमालेको दशौँ महाधिवेशनलाई ओलीवेशन भनियो । काङ्ग्रेसको दोस्रो चरणको निर्वाचनमा पुग्दा प्रकाशमान र विमलेन्द्र निधिले आफ्नो पार्टी पुनर्संरचना गर्ने एजेन्डा लिलामी गरेको आरोप खेप्नुपर्यो । नेपाली काङ्ग्रेसको महाधिवेशन नमस्कार गर्दै भोटको भिख माग्ने मेलाजस्तो देखिन्थ्यो ।

एमालेले यसपटक केन्द्रीय नेतृत्वको निर्माणमा नयाँ खालको लोकतान्त्रिक अभ्यास सुरु गरेको हो । यसखाले नेतृत्व निर्माणको पद्धतिमा अध्यक्षमा निर्वाचित हुने बलियो सम्भावना बोकेको उम्मेदवारले आफूलाई काम गर्न सहयोग गर्ने पूरै पदाधिकारी र सदस्य आफैँले रोज्ने र महाधिवेशन प्रतिनिधिसमक्ष प्रस्ताव गर्नेछ । यो प्रस्तावमा चुनौती दिने इच्छा भएका महाधिवेशन प्रतिनिधिलाई प्रतिस्पर्धी उम्मेदवार हुने अधिकारसमेत प्रदान गर्दै पूरै टिमले निर्वाचन समितिसमक्ष उम्मेदवारी दिनुपर्छ । यसै प्रक्रियामा प्रवेश गर्दै अध्यक्षलगायत प्रस्तावित उम्मेदवारले निर्वाचन समितिको कार्यतालिकाबमोजिम आ–आफ्नो उम्मेदवारीको प्रस्तावक र समर्थकसहित उम्मेदवारी मनोनयन शुल्कसहित उम्मेदवारी दरखास्त हाल्ने काम सम्पन्न भयो । अध्यक्षले प्रस्ताव गर्नुभएको आफ्नो उम्मेदवारी र पूरै अध्यक्षको टिममध्ये कुनै प्रस्तावित उम्मेदवारलाई चुनौती दिन चाहने जोकोहीले आफ्नो उम्मेदवारी हाल्ने अधिकार प्रदान गरियो । अध्यक्ष आफैँले आफ्नो अध्यक्षको उम्मेदवारीलाई चुनौती दिने कमरेड भीम रावलले अध्यक्षको प्रतिस्पर्धी उम्मेदवारी दिनुभयो । त्यसैगरी, घनश्याम भुसालले उपाध्यक्षमा आफ्नो प्रतिस्पर्धी उम्मेदवारी दिनुभयो भने भीम आचार्य र टंक कार्कीबाट सचिव पदमा प्रतिस्पर्धी उम्मेदवारी दिनुभयो । सदस्य पदमा पनि केही सिटमा प्रतिस्पर्धी उम्मेदवारले प्रतिस्पर्धा गर्ने काम भयो । प्रतिस्पर्धी अध्यक्षका उम्मेदवार कमरेड भीम रावलले देउवा र गगन थापाकै शैलीमा नमस्कार गर्दै भोट माग्ने काम गर्नुभयो भने कमरेड केपी ओलीले नमस्कार गर्दै भोट माग्ने काम गर्नुभएन । अन्ततः सबै महाधिवेशन प्रतिनिधिले इलेक्ट्रोनिक भोटिङ मेसिनमार्फत भोट हाल्नुभयो र प्रतिस्पर्धी उम्मेदवार विजयी भएको र प्रतिस्पर्धी उम्मेदवार नपरेका पदमा निर्विरोध निर्वाचित भएको घोषणा भयो ।

यो निर्वाचन पद्धति पहिलोपटक प्रयोग गरिएको हुँदा धेरैले यसलाई पचाउन सकेनन् । यही निर्वाचन पद्धति जिल्ला अधिवेशनमा पनि लागू गर्ने हिसाबले सकेसम्म सर्वसम्मतिले जिल्ला नेतृत्व चयन गर्न निर्देशन दिइएको थियो । धेरैले यो निर्वाचन पद्धति नेताको गोजीबाट नेतृत्व छान्ने प्रद्धति हो भनेर बुझे । जिल्ला नेतृत्व चयनमा नेताले आफ्नो गोजीबाट नेताको नाम निकाले । दशबुँदे सहमति गरेर नेकपा एमालेमै रहेका हिजोका विद्रोही समूहका नेताले आफ्नो गोजीबाट र हिजोको संस्थापन समूहको नेताले आफ्नो गोजीबाट जिल्ला नेतृत्वको लिस्ट तयार गरेर एकमुस्ट नेतृत्व जिल्ला अधिवेशन प्रतिनिधिसमक्ष प्रस्ताव गर्ने काम भयो । यो नेतृत्वको लिस्टलाई जिल्ला निर्वाचन आयोगले प्रतिस्पर्धी नेतृत्वको चुनौती आउने सम्भावना बन्द गर्दै निरङ्कुश शैलीमा एकमुस्ट नेतृत्वको लिस्ट अनुमोदन भएको घोषणा भयो र जिल्ला अधिवेशन समापन भएको घोषणासभा र शपथग्रहण समारोहसमेत गर्न नसक्ने अवस्थामा पुगेर जिल्ला अधिवेशन समाप्त गरियो ।

एमालेले आफ्नो केन्द्रीय महाधिवेशनमा जुन नयाँ पद्धतिको लोकतान्त्रिक अभ्यास गरेको थियो त्यो अभ्यासले जिल्ला नेतृत्व निर्माणमा गर्न सकेन । अध्यक्षको पदमा निर्वाचित हुने प्रबल सम्भावना बोकेको व्यक्तिले आफ्नो उम्मेदवारी र सहयोगी टिमसहितको अध्यक्षात्मक प्रणालीको पदाधिकारीसहितको टिम प्रस्ताव गर्ने र त्यो प्रस्तावलाई निर्वाचन प्रक्रियामा राख्दै कुनै अधिवेशन प्रतिनिधिले प्रतिस्पर्धा गर्न चाहेमा निर्वाचन आयोगले पूरै निर्वाचन प्रक्रिया सुरुदेखि अन्तसम्म सञ्चालन गरी निर्वाचन परिणाम घोषणा हुनुपर्दथ्यो । प्रतिस्पर्धी उम्मेदवार नभएको पद निर्विरोध चयन भएको र प्रतिस्पर्धी उम्मेदवार भएमा मतदानमार्फत पहिलो हुने निर्वाचित भएको धोषणा गरिनुपर्दथ्यो ।

नेकपा एमालेको जिल्ला अधिवेशनमा सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने नाममा सर्वसत्तावादी नेतृत्व चयन भएको देखिन्छ । जिल्ला नेतृत्वले प्रतिस्पर्धा गर्ने अवसर प्रदान नै नगरेको देखिन्छ । सर्वसम्मत नेतृत्वलाई चुनौती दिने साहस गर्ने जोकसैलाई अवसर नदिनु नेतृत्वको निरङ्कुश चरित्र नै हो । जिल्ला नेतृत्वमा जोकसैलाई भीम रावल र घनश्याम भुसाल बन्ने अवसरबाट वञ्चित गर्न हँुदैन थियो । जिल्ला नेतृत्वमा निरङ्कुश शैलीले आफ्नो गोजीका सहरी नयाँ युवाले जिल्ला नेतृत्व कब्जा गरेर जिल्ला अधिवेशन समापन हँुदै छ । यसखाले नेतृत्व चयन पद्धतिले जिल्ला नेतृत्व हाँकिने स्थिति छैन । जोकसैलाई जित्ने अवसर मात्र होइन, हार्ने अवसर दिनु पनि लोकतान्त्रिक अभ्यास नै हो । निर्वाचन प्रक्रियामा पुग्दै नपुगेको जिल्ला अधिवेशनलाई कानुनी चुनौती दिने जोकसैले गरेमा यसलाई अन्यथा मान्न सकिँदैन ।