श्रीकृष्ण सहकारीको साधारणसभा सम्पन्न


बट्टार: नुवाकोट जिल्लाको बट्टारमा रहेको श्रीकृष्ण बचत तथा ऋण परिचालन सहकारीको २४औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । विदुर नगरपालिकाका टलकमान श्रेष्ठले साधारणसभाको उद्घाटन गर्दै सहकारीले जिल्लाको आर्थिक विकासमा देखाएको क्रियाशीलताले सेयर सदस्यको आर्थिक उपार्जन बढेको बताए ।

कार्यक्रममा विदुर नगरपालिकाका सहकारी शाखा प्रमुख पुष्कर शर्मा रिमालले सहकारी संस्थाले सहकारी ऐन–नियमको परिपालन गर्नुपर्नेमा जोड दिएका थिए । सभामा संस्थाका अध्यक्ष बच्चुमाया सुनारीमगरले गत आर्थिक वर्ष ०७७/७८ को प्रगति प्रतिवेदन र चालू आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । संस्थामा हालसम्म एक हजार तीन सय ९१ जनाको दुई करोड ३२ लाख ३२ हजार रुपैयाँ सेयरपुँजी रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ । उक्त साधारणसभामा संस्थाका कोषाध्यक्ष गजेन्द्र खड्का परमार्थीले आर्थिक प्रतिवेदन तथा प्रस्तावित बजेट प्रस्तुत गरेका थिए । संस्थाले गत आ.व. ०७७/७८ मा ११ करोड नौ लाख २३ हजार सात सय ७१ रुपैयाँ ऋण लगानी गरी १६ लाख २७ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । सो सभामा लेखासमिति संयोजक राजेन्द्र तिवारीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त सभामा संस्थाका संस्थापक दीपक अधिकारी, गोमा अधिकारी, डोमा तामाङ र गंगा शाही बोगटीलाई सम्मानित गरिएको थियो । सहकारीले उत्कृष्ट कारोबार गर्ने सदस्य दीपक मिजार र उत्कृष्ट बचत गर्ने ज्ञानुकुमारी अमात्य श्रेष्ठ र बाबुराम शर्मा अधिकारीलाई समेत सम्मान गरेको थियो । कार्यक्रममा संस्थापक अध्यक्ष विष्णुप्रसाद नेपाल, पूर्वअध्यक्ष हरिप्रसाद घिमिरे, नवराज अधिकारी, रामप्रसाद अधिकारी, केशवप्रसाद रिमाल, गतिशील बहुउद्देश्यीय सहकारीका प्रतिनिधि निर्मला खड्कालगायतले सहकारीबारे बोलेका थिए ।