उत्प्रेरणा सहकारीको साधारणसभा सम्पन्न

विदुर: नुवाकोटको विदुरमा रहेको उत्प्रेरणा बहुउद्देश्यीय सहकारी संस्था लि.को १४औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । विदुरमा आयोजित साधारणसभाले गत आर्थिक वर्षका प्रतिवेदन र चालू आर्थिक वर्षका नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ ।

साधारणसभाको विदुर नगरपालिका– ४ का वडासदस्य वसन्त रिजालले उद्घाटन गरेका थिए । कार्यक्रममा सहकारीका अध्यक्ष परशुराम श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदनअनुसार सहकारीले लगानीमा विविधता खोजी रहेकाले व्यावसायिक योजनासहित परियोजना बनाएर पेस गरेमा उक्त योजनामा सहकारीले लगानी गर्ने बताए । उक्त सहकारीले व्यावसायिक कृषिमा संलग्नका लागि सामूहिक जमानीमा बिनाधितो लगानी गर्ने योजनासमेत बनाएको छ ।

साधारणसभामा कोषाध्यक्ष कृष्णमान तामाङले आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक रामबहादुर सुर्खेतीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीमा सात सय ५७ जना सेयर सदस्य रहेका छन् । सहकारीको ४० लाख ९० हजार दुई सय सेयरपुँजी रहेको छ । गत आ.व. मा सहकारीले दुई करोड ६५ लाख ९९ हजार निक्षेप सङ्कलन गरेर दुई करोड ९८ लाख रुपैयाँ ऋण लगानी गरेको थियो । सहकारीका व्यवस्थापक नारायणकुमार घलेका अनुसार सहकारीले दुई करोड व्यावसायिक क्षेत्रमा लगानी गरेको छ । सहकारीले व्यावसायिक कर्जा र अल्पकालीन कर्जा शीर्षकमा लगानी गरिरहेको छ ।