सारथी सहकारीको सम्पत्ति १० करोड

  • सुनील श्रेष्ठ

कोलनी: विदुर नगरपालिका– ८ मा कार्यालय रहेको सारथी बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ति १० करोड नाघेको छ । आर्थिक वर्ष ०७७/७८ को असार मसान्तसम्ममा १० करोड ९६ लाख ७९ हजार पाँच सय ११ रुपैयाँ पुगेको लेखापरीक्षणमा उल्लेख छ ।

सोमबार भएको सहकारीको नवौँ वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनअनुसार आ.व. ०७७/७८ को असार मसान्तसम्म ६ सय ५८ सेयर सदस्य रहेको सहकारीको सेयरपुँजी एक करोड ५५ लाख ३० हजार एक सय रुपैयाँ रहेको छ । सहकारीको ऋण लगानी १० करोड ५० लाख रुपैयाँ पुगेको छ ।

सहकारीले गत वर्षभन्दा ३९ दशमलव १० प्रतिशत वृद्धि भई आठ करोड ५० लाख ४१ हजार नौ सय ६२ रुपैयाँ निक्षेप सङ्कलन गरेको थियो । जगेडा कोष तथा कोषमा १६ लाख ८८ हजार पाँच सय ७४ रुपैयाँ रहेको छ । सहकारीले खुदनाफा तीन लाख ३८ हजार ६ सय ८२ रुपैयाँ मुनाफा गर्न सफल भएको छ । साधारणसभाको उद्घाटन विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले गरेका थिए ।

कार्यक्रममा सहकारीका अध्यक्ष गोकर्ण रोक्का, कोषाध्यक्ष राजकुमार नगरकोटी र लेखा सुपरिवेक्षण समितिका संयोजक रवीन्द्र नेपालीले प्रस्तुत गरेको प्रतिवेदन बृहत् छलफलपछि परिमार्जनसहित पारित भएको छ । सहकारीले चालू आर्थिक वर्षमै स्थगित भएको रेमिट्यान्स सेवालाई पुनः सञ्चालनमा ल्याउने साधारणसभामा निर्णय गरेको छ । सेयर तथा बचत रकमको आधारमा इलेक्ट्रोनिक उपकरण खरिदका लागि इएमआईको व्यवस्था गरी घरायसी तथा व्यावसायिक व्यवस्थापनमा आफ्ना सदस्यलाई सहजता प्रदान गर्ने सहकारीले नीति पारित गरेको छ ।