समाजवादीको सङ्गठन विस्तार तीव्र सूर्यगढी र पञ्चकन्यामा एमालेलाई धक्का

विदुर: नेकपा एकीकृत समाजवादीले पछिल्लो समय नुवाकोटमा सङ्गठन विस्तारलाई आक्रामक ढङ्गले अगाडि बढाइरहेको छ । नेकपा एमाले विभाजपछि बनेको समाजवादीले अस्तित्व नुवाकोटमा स्थापित गर्न ८८ वटै वडा र १२ वटै पालिकामा सङ्गठन निर्माणकार्यलाई तीव्रता दिइरहेको छ ।


समाजवादीले सङ्गठन विस्तारको क्रममा यो हप्ता सूर्यगढी गाउँपालिका– ३ र पञ्चकन्या गाउँपालिका– ३ मा बृहत् कार्यकर्ता भेला गरी सङ्गठन कमिटी निर्माण गरेको छ । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् नुवाकोट जिल्ला इन्चार्ज बिन्दा ढुङ्गानको गृहवडामा नेकपा एकीकृत समाजवादीले ३७ सदस्यीय सङ्गठन कमिटी सयौँ जनाको उपस्थितिमा चयन गरेको छ । समाजवादी नुवाकोटका जिल्ला सचिवालय सदस्य तथा वडा इन्चार्ज राममणि अधिकारीको सभापतित्वमा भएको भेलाले मनोज न्यौपानेको संयोजकत्वमा सूर्यगढी– ३ सङ्गठन कमिटी निर्माण गरेको छ । कार्यक्रममा समाजवादी नुवाकोटका जिल्ला कमिटी, सचिवालय सदस्य र बागमती प्रदेश कमिटीका सदस्यलगायत जनवर्गीय सङ्गठनका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी, भेलाले विज्ञान खनाललाई सूर्यगढी गाउँपालिका– ३ को युवा इन्चार्ज चयन गरेको छ । कमजोर मानिएको वडामा समेत ठूलो सङ्ख्यामा भेला गरी कमिटी बनेपछि समाजवादीका जिल्ला नेताहरू उत्साहित भएका छन् । एमालेका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्जकै वडामा एमालेको भन्दा सशक्त कमिटी बनाएको समाजवादीका जिल्ला उपाध्यक्ष शान्ता अधिकारीले बताइन् । पुरानो एमालेका इमानदार नेता–कार्यकर्ता र युवाशक्तिको आकर्षण समाजवादीमा बढिरहेकाले एमालेको सङ्गठन भत्काउन सहज भएकोसमेत उनले बताइन् ।

एकीकृत समाजवादीले पञ्चकन्या गाउँपालिका– ३ मा ठूलै भेला गरेर कमिटी गठन गरेको छ । वडा कमिटी गठन कार्यक्रमका प्रमुख अथिति समाजवादीका पोलिटब्युरो सदस्य राजेन्द्रप्रकाश लोहनीले केपी ओलीले कम्युनिस्ट आन्दोलनको बाटो छोडेकाले समाजवादी पार्टी गठन भएको बताए । कार्यक्रममा बागमती प्रदेश कमिटी सदस्य राजेश थापा, राम थापा, सूर्य कँडेल, जिल्ला कमिटी सचिव पदम उप्रेती, जिल्ला कमिटी सदस्य अर्जुन कार्की, श्रीकृष्ण खतिवडा, गणेश थापा, युवा नेता दिपेश चित्रकार, उत्तम श्रेष्ठलगायतले एमाले नेताको घमण्डको कारण आगामी स्थानीय, प्रदेश र सङ्घीय चुनावमा नुवाकोटको कुनै पनि पालिका, वडा, क्षेत्र र प्रदेश जित्न नसक्ने ठोकुवा गरेका थिए ।

भेलाले वडा कमिटी अध्यक्षमा सीताराम थापा, उपाध्यक्षमा चित्रलेखा थापा र मैयाकुमारी थापा, सचिवमा सुरेश अधिकारी (रवीन्द्र) र उपसचिवमा कान्छीमाया तामाङलाई चयन गरेको छ । वडा कमिटी २१ सदस्यीय बनेको छ । युवा सङ्घको वडा कमिटी अध्यक्षमा विनोद थापा, उपाध्यक्षमा प्रसन तामाङ र विसन थापा, सचिवमा पुजन प्याकुरेल र उपसचिवमा प्रदीप थापा चुनिएका छन् । अखिल नेपाल महिला सङ्घ वडा कमिटी अध्यक्षमा सरिता थापा, उपाध्यक्षमा मैया थापा र सचिवमा तुलसा थापा चुनिए ।