वडा कार्यालय भवन बनाउन जग्गा दान

बेलकोटगढी: नुवाकोटको बेलकोटगढी नगरपालिका– १ को कार्यालय निर्माणका लागि एक स्थानीयले निःशुल्क जग्गा प्रदान गरेका छन् ।

चार वर्षअघि नै निर्वाचित जनप्रतिनिधि चुनिएर काम सुरु भए पनि वडा कार्यालयको आफ्नै भवन निर्माण हुन सकेको थिएन । जग्गा अभावका कारण भवनबिनै सेवा दिइरहेको वडालाई स्थानीय सावित्रीकुमारी ढुङ्गानाले जग्गा दान दिएकी हुन् । अब आफ्नै जग्गा भएपछि भवन निर्माण गर्न र काम अघि बढाउन वडा कार्यालयलाई सहज भएको छ । राज्यको सम्पत्ति दोहन गरेर आफ्नो पोल्टा भर्नेको कमी नभएको देशमा सावित्रीले निजी जग्गा वडा कार्यालयलाई भवन बनाउन दान गरेकी हुन् । सावित्रीले बेलकोटगढी– १ आरुखर्कमा रहेको दुई रोपनी जग्गा वडा कार्यालयलाई उपलब्ध गराएकी छिन् । हाल जग्गाको नौ लाखभन्दा बढी मूल्याङ्कन गरिएको छ ।

स्थानीय समाजसेवी तथा नेकपा माओवादी (केन्द्र)का अध्यक्ष कृष्ण ढुङ्गानाको पहलमा सावित्रीले पुस १९ गते जग्गा नामसारी गरिदिएकी थिइन् । अहिले वडा कार्यालयको नाममा पुर्जा जारी भएको छ । सधैँ नगर र वडा कार्यालयले काम गरेन, केही गरेन भनेर गुनासो मात्रै गर्ने नागरिकका सामु नगर र वडाप्रति नागरिकको पनि जिम्मेवारी हुन्छ भन्ने उदाहरण सावित्रीले प्रस्तुत गरेकी छिन् । मुलुक सङ्घीय संरचनामा गएसँगै निर्वाचनमार्फत केन्द्रमा रहेका सिंहदरबार गाउँगाउँमा पुगेको चार वर्ष पूरा भइसकेको छ । चार वर्षअघि गाउँगाउँमा पुगेका धेरैजसो पालिकाले आफ्नो कार्यालय र वडा कार्यालय स्थापना गर्न सकेका छैनन् । अझै जिल्लाका केही वडा कहिले वडाध्यक्षको झोलाबाट र कहिले भाडाको कोठाबाट सञ्चालन हुँदै आएका छन् ।