अलपत्र रित्ता सरकारी भवन प्रयोगमा

धुन्चे: जिल्लामा रहेका सरकारी कार्यालयका सम्पत्ति र अलपत्र परेका भवन सदुपयोग गर्न रसुवा प्रशासन कार्यालयले विशेष चासो दिएको छ ।

स्थानीय तह गठनपछि जिल्लास्तरबाट स्थानान्तरण भई खाली भएका धुन्चेस्थित साबिकका पशुसेवा, खानेपानी, भूसंरक्षण र महिला विकास कार्यालय भवन संरक्षण एवम् उपयोग गराउन जिल्ला प्रशासन कार्यालयले गृहकार्य अगाडि बढाएको छ । खाली भवनमध्ये सशस्त्र प्रहरी बल २० नम्बर गुल्मलाई महिला विकासको भवन उपयोग गर्न दिइएको छ । अन्य तीन भवनमा भने भाडामा बसिरहेका नापी, निर्वाचन तथा जिल्ला आयुर्वेदिक स्वास्थ्य कार्यालयलाई दिइने प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए । त्यसैगरी, जिल्लास्थित अन्य सरकारी कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह र विकास निर्माणका कार्य छिटो सम्पन्न गर्न प्रशासन कार्यालयले सहजीकरणसमेत गरिरहेको छ । प्रशासनलाई चुस्त–दुरुस्त बनाई नागरिकलाई सुशासन दिलाउने काम आजको आजै गर्न प्रशासनले निर्देशन दिएपछि कार्यालयमा सेवाग्राहीले सहज महसुस गरेका छन् । प्रमुख जिल्ला अधिकारी जैसीले कार्यालय समय र साँझ नपरुञ्जेल अतिरिक्त समय जिल्ला प्रशासनले सबै प्रकारका सेवा प्रवाह गरिरहेको बताए । आजको आजै काम सम्पन्न हुँदा होटेल तथा लजको खर्च जोगिएको सेवाग्राहीले बताएका छन् ।