बेत्रावतीमा ‘गोरु जुधाई’ को विशेष तयारी


  • शशिकुमार डङ्गोल

बेत्रावती: सधैँको वर्षझैँ यस वर्ष पनि माघ १ गते रसुवा र नुवाकोट जिल्लाको संगमस्थल एवम् ऐतिहासिक, धार्मिक क्षेत्र बेत्रावतीबजारमा गोरु जुधाइने तयारी विशेष रूपले भइरहेको छ । गोरु जुधाउने कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्न मूल समिति, प्रचार–प्रसार, व्यवस्थापन, आर्थिकलगायत उपसमिति निर्माण गरी परिचालन गरिएको छ ।

कार्यक्रमका लागि अतिथिहरूलाई निमन्त्रणा गर्ने काम भइसकेको छ भने बेत्रावतीबजार सरसफाइ र ध्वजापतकाले सिँगार्ने काम भइरहेको छ । गोरु दर्ता प्रक्रिया, मैदान सम्याउने काम पूरा भएको क्लबका अध्यक्ष दीपु डङ्गोलले जानकारी दिएका छन् । क्लब स्थापनाको २५औँ वर्ष दिवसको शुभअवसर पनि भएकाले यसपटकको माघेसङ्क्रान्ति मेला अझ विशेष हुने उनले बताए । गोरु जुधाउने मेलाका साथै दर्शकका लागि थप मनोरञ्जनका लागि अहिलेका चर्चित हास्य अभिनेता हिमेश पन्त, गायक खुमन अधिकारी, गायिका राधिका हमालको साथमा डिभाइन साउल ब्यान्डको बेजोड साङ्गीतिक कार्यक्रमसमेत रहेको क्लबका सचिव ईश्वर थापा आइटमले बताए । अहिलेसम्म १० हल गोरु दर्ता भइसकेको गोरु छनोट उपसमितिका संयोजक सोमलाल लवटले जानकारी दिए । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य माननीय इन्जिनियर मोहन आचार्य प्रमुख अतिथि रहने उक्त कार्यक्रममा जित हुने गोरुधनी किसानलाई जनही दश हजार रुपैयाँ र हार्नेलाई आठ हजार रुपैयाँको पुरस्कार प्रदान गरिने कोषाध्यक्ष विवश डङ्गोलले बताए ।

माघेसङ्क्रान्तिका दिन विशेष झाँकीसमेत प्रदर्शन गरिनेछ । लाखेनाच, पञ्चेबाजा, बाला भजन खैचडी नाच, सोरठी नाचसमेतको प्रस्तुति रहने क्लबका पूर्वअध्यक्ष एवम् मेला व्यवस्थापन उपसमितिका संयोजक सुरज लवटले बताए । रसुवा–नुवाकोटको सीमा क्षेत्र ऐतिहासिक एवम् धार्मिक तीर्थस्थल बेत्रावतीमा सदिऔँ वर्षदेखि गोरु जुधाउने परम्परा रहेको छ । माघेसङ्क्रान्तिका दिन बेत्रावतीका जुडिफाँट, सम्राटाफाँट, ढाडेबगरफाँट, दहफाँट, सिम्लेफाँटमा घ्यू, चाकुको भोज खाई दिउँसो गोरु चराउन खेतका फाँटमा लाँदा बेत्रावतीका किसानले आ–आफ्नो गोरु जुधाएर मनोरञ्जन लिने गर्दथे । इतिहासविद्का अनुसार नेपाल र तिब्बत (भोट) चीनबीच वि.सं. १८४९ मा युद्ध हुँदा नेपालतर्फको क्षति जोगाउन एउटा ठूलो ऐतिहासिक सन्धि बेत्रावतीमा भएको थियो । यही बेत्रावती सन्धिको सम्झनालाई जीवन्त राख्न गोरु जुधाउने परम्पराको चलन थालनी गरिएको बेत्रावतीका बुढापाकाले बताउँदै आएका छन् ।

गोसाइँकुण्ड युवा क्लब ०५३ मा स्थापना भएपछि यो परम्परालाई व्यवस्थापन गरी व्यवस्थित तरिकाले कार्यक्रम आयोजना हुँदै आइरहेको छ । गोरु पाल्ने किसानको हकहित र नेपालको कृषि तथा पशु पर्यटन तथा बेत्रावतीको आन्तरिक व्यवसायलाई समेत आर्थिकउपार्जनमा टेवा पु¥याउने मूल उद्देश्यका साथ हरेक वर्ष माघेसङ्क्रान्तिका दिन बेत्रावतीबजारमा गोरु जुधाउने कार्यक्रम हुँदै आइरहेको छ । यो मेला तथा कार्यक्रम हेर्न बेत्रावतीसम्म आइपुग्न कुनै कठिनाइ छैन । काठमाडौंबाट त्रिशूली हँुदै रसुवागढी जाने कुनै पनि बस, माइक्रोबसमा माछापोखरी बसपार्कबाट बस आउने गर्दछ । आफ्नो प्राइभेट दुईपाङ्ग्रे या चारपाङ्ग्रे सवारीबाट पनि सहजै बेत्रावती आउन सकिन्छ । काठमाडांैबाट कलंकी हुँदै गल्छी, त्रिशूली भई बेत्रावती ८२ किलोमिटर पिच सडक हुँदै र काठमाडांैबाट टोखा, शिवपुरी, छहरे, थान्सिङफाँट, ढिकुरे, शेरा, गँगटे, बट्टारबजार, ढुङ्गे हुँदै बेत्रावती ६० किलोमिटर पिच सडकबाट पुग्न सकिन्छ । त्यसैगरी, काठमाडौंबाट बालाजु, ककनी, रानीपांवा, पिपलटार, बट्टार, ढुङ्गे हुँदै ८० किलोमिटर पुरानो बाटोबाट पनि पुग्न सकिनेछ । तर, यो बाटो मर्मत हुँदै गरेकोले जोखिम छ । अहिले बन्दजस्तै छ । यो मेला हेर्न आउने व्यक्तिहरू बट्टार, त्रिशूली, विदुरमा सुविधायुक्त होटल, रेस्टुरेन्ट रहेकोले बस्न र खानाका लागि पर्याप्त सुविधा रहेको छ भने बेत्रावतीबजारमा खानबस्नका लागि पनि कठिनाइ छैन । बेत्रावतीमा होेटल, रेस्टुराँ, लज, खाजाघर, होमस्टे रहेको छ । तर, कोभिडको महामारी बढ्दो अवस्थामा रहेकाले स्वास्थ्य मापदण्डको ख्याल राखी सावधानीपूर्वक मेलामा सहभागी हुन आयोजकले आग्रह गरेको छ ।