पश्चिमी गोलार्धबाट: एमाले जिल्ला कमिटीका नाममा

  • रामचन्द्र भट्ट

यतिखेर म जन्मिएको र हुर्किएको भूगोलको ठीक विपरीत छु । अर्थात् म जहाँ छु त्यहाँ मध्यदिन हुँदा म जन्मिएको र हुर्किएको नुवाकोटको भूगोलमा मध्यरात भइराखेको हुन्छ । कर्मक्षेत्र बनाएको भूगोलमा जन्मभूमिभन्दा कैयौँ संस्कार पनि अलग छन् ।

अलग संस्कार, अलग भूगोल भए पनि यो मन त नेपाली नै हो । दिनभरि कार्यस्थलमा जति नै अङ्ग्रेजीमा हाँसे पनि, गफिए पनि आखिर मैले निदाएपछि हररात देख्ने सपनाको भाषा नेपाली नै हो । त्यसो हुँदा म किन–किन नुवाकोटसँग टाढा हुनै सक्दिनँ । ठीक २० वर्ष भयो मैले जिल्ला छाडेको । मैले जिल्ला छाड्दा जन्मिएको बच्चाले यतिखेर स्नातक उत्तीर्ण गरिसक्यो । जिल्लाका पछिल्लो समयमा उदाएका नेता त उसै पनि चिन्दैनन्, पत्रकारले पनि बिर्सिसकेका छन् । स्वाभाविकै हो । भर्खरै नेकपा एमालेको सातौँ जिल्ला अधिवेशन सकिएको छ । यो अधिवेशनलाई अर्को गोलाद्र्धबाट पनि मैले नजिकबाट नियालिरहेको थिएँ । ०५१ देखि ०५८ सालसम्म जिल्लामा पत्रकारिता गर्दा एमालेका त्यसबीचका तीनवटा अधिवेशनलाई निकै नजिकबाट हेर्ने अवसर पाएको थिएँ । त्यही ह्याङओभरले यसपालि पनि छाडेन ।

नुवाकोटमा उद्घाटन सत्र सकिँदा यहाँ बिहानको ५ बजिसकेको थियो । बिहान ७ बजे व्युँझिएर सामाजिक सञ्जालमा चियाएँ । अनलाइनका समाचार चहारेँ । कतै कुनै चालचुल थिएन । अध्यक्ष केपी ओलीले एकमुष्ट ढङ्गले भर्चुअल रूपमा उद्घाटन गरेका कारण उसै पनि जिल्लाका अधिवेशन छायामा परेका थिए । त्यसमाथि नुवाकोटमा प्रमुख अतिथि बनेर पुगेकी अष्टलक्ष्मी शाक्य न त पार्टीको आधिकारिक धारणा दिन सक्ने हैसियतमै छिन् न त उनी कार्यकर्तालाई उत्साहित पार्ने वाककला भएकी नै हुन् । ०५३ सालमा अनेम सङ्घको दुईदिने प्रशिक्षण भेलामा उनले बोलेको पट्यारलाग्दो भाषण अहिले पनि दिमागमा घुमिराखेकै छ । त्यसैले नुवाकोटको एमाले अधिवेशन उसै त्यसै छायामा पर्यो ।

अर्को दिनभर पनि कुनै नतिजा सुनिएन । सामाजिक सञ्जालमा कुनै चर्चा देखिएन । एमालेका नेता मौन देखिए, कार्यकर्ता चुपचाप देखिए । सामुद्रिक आँधी टाइफुन आउनुअघिको जस्तै शान्त थियो सामाजिक सञ्जालको माहोल । रातिसम्मै त्यो अवस्था जारी देखिए पनि मलाई खसखस लाग्यो । अनलाइनमा देखिएका एमालेका एक नेतालाई मेसेज गरेँ– के भइराखेको छ ? को अध्यक्ष हुने भयो ? उनी पनि शायद निदाइसकेका थिए । भोलिपल्ट बिहान मेसेजको रिप्लाई गरे– हामीलाई त केही स्वनामधन्य नेताले भेडाबाख्रा जसरी बन्धक बनाएका छन् । हिजो दिनभरि सहमतिका नाममा गुटको बैठक भयो । रातिसम्म पनि निरन्तर चल्यो । आज फेरि सहमति गर्ने र भएन भने चुनावमा जाने भनेका छन् । आफ्ना गुटका मान्छेलाई जसरी भए पनि ल्याउने । क्रेन लगाएर भए पनि तान्ने । तर, अर्को गुटको व्यक्तिलाई भने डोजर लगाएरै पन्छाउने नियत केन्द्रबाट अधिकार बोकेर आएका हौँ भन्ने एउटा समूहमा देखिएको खबर केही साथीले गरे । उसै पनि यसपटकको केन्द्रीय महाधिवेशन निको चालको छँदै थिएन । त्यसमाथि जिल्ला अधिवेशन कसरी सहज होस् ?

आइतबार राति सयजनाभन्दा बढीको एउटा सूची सार्वजनिक भयो । यही सूचीमा परेका एमालेको जिल्ला नेता कहलिनेछन् । त्यो सूचीमा मैले विगतमा प्रजातन्त्रका लागि जेल परेकाको नाम खोजेँ, हिजो सङ्गीन घडीमा सरकारी जागिरको पर्वाह नगरी सङ्गठनमा जुटेकाको नाम किन परेन भनेर दुईपटकसम्म दोहो¥याएँ । हिजो पार्टी अफिसले भाडा तिर्न नसकेर ताला लाग्दा खल्तीबाट पैसा निकालेर तिरिदिने, सामाजिक संस्थाको रकम सापटी दिएर ताला खोलिदिनेको नाम पनि खोजेँ । हिजो भाडामा बसेको पार्टी अफिस कुरेर चिया पिउने पैसासमेत नभएर कैयौँपटक मैले नै चिया–खाजा ख्वाएका व्यक्तिको नाम खोजेँ । अँ हँ त्यहाँ उनीहरूको नाम अटेको थिएन । सयभन्दा बढीको नाम हेर्दा १० जनाभन्दा बढी परिचितको नाम देखिएन ।

मैले सबै चिन्नुपर्छ भन्ने त होइन । तर, मूल कुरा यो हो कि राजनीति भनेको लहडले मात्र पनि हुँदैन । यसमा व्यावहारिकता, अनुभव, परिपक्वता सबै चिजको मिश्रण हुन जरुरी छ । समाजमा चल्तीको एउटा उखानै छ, ‘बोकाले दाइँ हुने भए गोरु किन चाहिन्थ्यो ?’ अर्थात् राजनीतिमा युवा मात्र भनेर पनि हुँदैन । परिपक्वता, व्यावहारिकता, अनुभव त्यत्तिकै जरुरी हुन्छ । हामीले युवा भनिएका नेताका अपरिपक्व निर्णय, कार्यशैली नदेखेका होइनौँ । यसपटकको एमाले जिल्ला अधिवेशन हलमा वाचन गरेर सुनाइएका नाम पढ्दा त्यो परिपक्वता, त्यो अनुभव, त्यो शिष्टता हासिल गरेका व्यक्तिहरूको चर्को खडेरी देखिएको छ । एकातिर विगतमा नुवाकोटमा एमाले भनेर चिनिएका, सङ्गठनमा हिँडेकाको एउटा ठूलो पङ्क्ति समाजवादको यात्रा भन्दै निस्किएको छ । अर्कातिर बाँकी रहेकासमेत पाखा लगाएर युवा समेट्ने बहानामा हनुमानको भिड जम्मा गरेर यो भिडले आउँदो स्थानीय र संसदीय निर्वाचनमा सङ्गठनलाई गाउँस्तरसम्म पु¥याउन सक्छ भन्नेमा विश्वास गर्ने ठाउँ नै छैन ।

जिल्ला छाडेर वृद्ध बा–आमासहित राजधानीको स्थायी बासिन्दा भएकादेखि आफ्नै परिवारका सदस्यको भोटसमेत नपाउने व्यक्ति जिल्ला कमिटीमा परेका छन् । दलाली गरेर कुख्याति कमाएकादेखि आफ्नै कार्यकर्ता ठग्नेसमेत यो सूचीमा छन् । एकाघरका श्रीमान्, श्रीमतीसमेत छन् । मैले माथि नै सन्दर्भ उल्लेख गरिसकेँ । विगतका अधिवेशन संयमित हुन्थे, व्यवस्थित हुन्थे । सानो, चुस्त कमिटी बन्थ्यो । जिल्ला कमिटीमा आउनु भनेको धेरै वर्षदेखि खारिएको, इमानदारिताको कसीमा जाँचिएका हुन्थे । कुनै दाग नलागेका हुन्थे । जिल्ला कमिटीको सदस्य हुँ भन्दा सबैले सम्मान गर्न लायक हुन्थे । सिडिओले टेर्थे, जिल्ला प्रहरी प्रमुखले गन्थे । अड्डाका हाकिमले कुरा सुन्थे । तर, यो सयजनाभन्दा बढीको समूहलाई यी माथि उल्लेखित कुनै निकायले टेर्लान्, सुन्लान् भन्नेमा शङ्का छ ।

जिल्लामा चिनिएका, खटिएका, समस्या पर्दा सम्बन्धित ठाउँमा कुरा पु¥याउन सक्ने ल्याकत भएकालाई डोजर लगाएर पन्छाइएको देखिन्छ । सदरमुकाममै रहेर लामो समयदेखि सक्रिय रमेश श्रेष्ठले सोमबार एकाबिहानै अबदेखि स्वतन्त्र मतदाता रहने घोषणा गरे । अब यो क्रम घट्दैन । बढ्ने सङ्केत देखिएका छन् । कसैको राजनीति सिध्याउने अभीष्ट बोकेको समूहले बुझ्न जरुरी छ कि चुनाव लड्दा विपक्षी मतदातालाई त रिझाउन सक्नुपर्छ । तर, आफ्नै कार्यकर्तालाई रुष्ट बनाएर, डोजर लगाएर पन्छाउँदा तिनीहरू जनअनुमोदित हुने कल्पनाचाहिँ कसरी गर्न सकेका ?