आठ सय ७६ ले सैन्य आधार तालिम सम्पन्न गरे

विदुर: नेपाली सेनाको श्री नं. १ सैन्य तालिम केन्द्र मैथली शिविर त्रिशूलीमा गत ०७७ चैत १ गतेबाट सञ्चालन भएको सि.सं. ७६ सैन्य आधार तालिम सम्पन्न भएको छ । तालिमरत आठ सय ७६ जना सैन्य जवानको तालिम सैनिक तालिम महानिर्देशनालयका महानिर्देशक उपरथी निरञ्जनकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा अन्तिम दलेल कवाज सम्पन्न भएको छ ।

करिब दुई सय ५० वर्षभन्दा बढी गौरवमय इतिहास बोकेको नेपाली सेनामा प्रवेश गरेपश्चात् दिइने आधारभूत तालिमको दौरान सैन्य जवानले नौ महिना लामो कठोर तालिमपश्चात् अन्तिम दलेल कवाज प्रदर्शन गरेका थिए । उक्त दलेल कवाजमा सैनिक तालिम महानिर्देशकले सलामी ग्रहण गर्नुका साथै कवाज निरीक्षण गरी नवनियुक्त तालिमे सिपाहीलाई सम्बोधन गरेका थिए । सम्बोधनको क्रममा उनले सिपाहीको कर्तव्य, जिम्मेवारी दायित्वबारे स्मरण गराउँदै जस्तोसुकै विषम परिस्थितिमा पनि हरहमेसा तयार रही देश र जनताको सेवामा कटिबद्ध हुनुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा नुवाकोटका जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेल, नेपाली सेनाको नं. ६ बाहिनी अड्डा बैरेनी धादिङमा कार्यरत बाहिनीपति रवीन्द्र क्षत्री, प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलाल, जिल्लाका सुरक्षा निकायका प्रमुख प्रतिनिधि, सरकारी कार्यालय तथा स्थानीय निकायका प्रमुुख प्रतिनिधि साथै आमन्त्रित उद्योगी, व्यवसायी र नेपाली सेनाका पूर्वसैनिक अधिकृत, पदिकलगायतको उपस्थिति रहेको थियो ।