काफलगेडी सहकारीको १४औँ वार्षिक साधारणसभा

कोलनी: काफलगेडी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । वार्षिक साधारणसभाको अवसरमा नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य बहादुरसिंह लामा तामाङले नवनिर्मित कार्यालय भवनको उद्घाटन गरेका थिए ।


विदुर नगरपालिका– ९ त्रिशूली कोलनीमा सहकारीले यस वर्ष चार तलाको सुविधासम्पन्न र अत्याधुनिक भवन निर्माण गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तामाङले सहकारी संस्थाका कारण गाउँ–गाउँमा आएको आर्थिक जागरण उत्साहजनक र प्रशंसायोग्य रहेको बताए । साधारणसभाको अवसरमा सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष प्रदीपरत्न शाक्यले आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक अनुज जोशीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । ०६४ सालमा एक सय आठजना सेयरधनीले सुरु गरेको काफलगेडी बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा अहिले सयौँ सेयर सदस्य रहेका छन् । सहकारीको सेयरपुँजी एक करोड साढे ६१ लाख रुपैयाँ रहेको छ । सहकारीले चार करोड ४० लाख रुपैयाँ सेयर सदस्यलाई ऋण लगानी गरेको छ ।

शनिबार उद्घाटन भएको सहकारीको कार्यालय भवन एवम् ‘हाम्रो व्यावसायिक भवन’ सहकारीकै जग्गा (क्षेत्रफल ०–४–१–३) मा तयार भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनका अनुसार एक करोड २० लाख रुपैयाँको लागतमा भवन निर्माण सम्पन्न भएको छ । १४औँ वार्षिक साधारणसभाको अवसरमा सहकारीले असल कारोबार गर्ने सदस्यलाई सम्मान गरेको छ । दैनिक बचतमा विपिन श्रेष्ठ, असल ऋण कारोबारतर्फ पुष्पबहादुर घले र संस्थापक सेयर सदस्यबाट कारोबारतर्फ इन्दिरा केसीलाई सम्मान गरिएको थियो । सो कार्यक्रममा कर्मचारी सम्मानतर्फ यमनाथ भट्ट उत्कृष्ट व्यवस्थापकबाट सम्मानित भएका छन् । समयमा भवन निर्माण गरेर हस्तान्तरण गरेकोमा सिंहराज तामाङ र भवन निर्माणमा महत्वपूर्ण भूमिका खेलेका सुवर्ण केसीलाई कदरपत्र प्रदान गरिएको काफलगेडी सहकारी संस्थाका सचिव सुमन अधिकारीले बताए ।